भारतमा फेला पर्यो ओमिक्रोनको ‘एक्सई’ भेरियन्ट

काठमाडौं–भारतमा एक व्यक्तिमा ओमिक्रोनको ‘एक्सई’ भेरियन्ट फेला परेको छ। मुम्बईमा एक्सई भेरियन्ट फेला परेको पुष्टि एनसीडीसी दिल्लीले गरेको हो। संक्रमित व्यक्ति ६७ वर्षीय पुरुष हुन् । मुम्बईदेखि गुजरातको बडोदरा पुगेका उनको बडोदरास्थित एक होटलमा कोरोना परीक्षण गरिएकोमा नतिजा पोजिटिभ आएको थियो।
उनमा हल्का ज्वरोवाहेक कुनै लक्षण देखिएको थिएन। उनको नमुनाको जिनोम सिक्वेन्सिङका लागि पठाइएकोमा एक्सई भेरियन्ट पुष्टि भएको हो।
संक्रमित व्यक्तिले कोभिशिल्डको दुई डोज लगाएका थिए। उनको अवस्था स्थिर रहेको र उनीसँग सम्पर्कमा आएकाहरुबारे जानकारी लिने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्। गत साता दक्षिण अफ्रिकाबाट फर्किएकी एक महिलामा एक्सई भेरियन्ट फेला परेको मुम्बई महानगरले बताए पनि केन्द्रले अस्वीकार गरेको थियो।