‘नेपाललाई इन्टरनेशनल मेडिकल हब बनाएरै छाड्छु’

हामी सबै जना जनताको प्रतिनिधित्व गरेर बोल्छौं, तर जनताको विरोधमा बोल्छौं। मिठो बोल्छौं, तर कामचाहिँ उल्टो। म सबैलाई के भन्न चाहन्छु भने यदि ट्रस्टमा लिएर जाने हो भने सबैभन्दा पहिले मेडिसिटी म दिन्छु। मलाई कुनै नाफा चाहिँदैन। त्यसको मूल्यांकन तपाईंहरु गर्नुस्, आधा पैसा मलाई फिर्ता गरिदिनु्स्, म भोलि नै रसिया फर्केर जान्छु।

म कमाउन आएको होइन। म संसारको धेरै देशमा बसेको छु। काम गरेको छु। म त नेपाललाई धनी बनाउन आएको हुँ। आज कसैले भनिदेओस्, १० औं, १५ औं वर्ष भइसकेको अस्पतालले १ सय रुपैयाँको शेयर २ सय रुपैयाँमा बेच्न सक्छ? सक्दैन। ७ वर्ष भइसक्यो मैले मेडिसिटी चलाएको। रुसमा पैसा कमाएर ल्याएर यहाँ ब्याज तिरिरहेको छु। अनि प्रोजेक्सन के हुन्छ भने सबैभन्दा बढी कमाउने, सबैभन्दा बढी आम्दानी गर्ने। यस्ता सोच मानिसहरुबाट हट्नु पर्‍यो।

पैसा भएको व्यक्ति उपचार गर्न बाहिर जाने, नभएको व्यक्तिलाई गुणस्तरीय सेवा चाहिने। यो हुनै सक्दैन। निःशुल्क कहीँ पनि, केही पाइदैन। मुसा मार्ने चिम्टामा राख्ने चिजसमेत किनेरै राख्नुपर्छ। त्यसैले निःशुल्क भनेको कुरा कहीँ पनि केही हुँदैन।

सबैभन्दा मलाई लागेको कुरा योजना आयोगले गरोस्, स्वास्थ्य मन्त्रालयले गरोस्, यहाँका एकेडेमिसियाले गरुन्, नागरिक समाजले गरोस्, नेपाललाई बचाउने हो र समृद्धितिर लिएर जाने हो भने नेपाललाई इन्टरनेशनल मेडिकल हब बनाउनैपर्छ। किनभने संसारमा जोसँग जे छ, त्यही बिक्री गरेर देश धनी भएका छन्। खाडी मुुलुकसँग तेल छ, कुनैसँग ज्ञान छ।

नेपालीहरुसँग मुटु छ। कागजमा मात्र होइन, मुटुमै अतिथिदेवो लेखिएको छ। अनि हामी नेपाली जातमात्रै यस्ता हौं, जो अरुलाई सेवा गर्न पाउँदा आनन्दित हुन्छौं। त्यो सेवा बेच्नुपर्‍यो। त्यो सेवा भनेको हेल्थ सेक्टर हो।

मानिसहरु व्यापार भयो भन्छन्। तर हेल्थ सेक्टरको व्यापार गलत होइन। यदि यस्तो हो भने सबै नेपालीलाई खान लाउन आवश्यक छ, त्यसैले सबै होटललाई धर्मशाला बनाउदिऊँ। सबै बैंकले निःशुल्क ऋण दिउन्। सबै खेतमा साझा खेति गरिदिउँ। कसैको पनि केही नहुने? तपाईंको छोराचाहिँ डाक्टर पढ्ने, कसैको छोराचाहिँ स्कुल पनि पढ्न नपाउने? त्यो नहोस्। कसैलाई पनि पढ्नै नपाउने बनाइदिउँ न। सबैभन्दा राम्रो खर्च पनि हुँदैन। झन्झन्ट पनि हुँदैन।

या त त्योतिर जाउँ। हैन भने, नेपाललाई वास्तवमै धनी बनाउने हो भने व्यावसायिक गतिविधिलाई अनुगमन गर्ने भनेको उसको नाफालाई होइन, उसले नाफाबाट कमाउछ कि कमाउँदैन भनेर गर्ने हो। जहाँसम्म निजी अस्पतालको कृुरा छ। निजीले सरकारी अस्पतालको डाक्टरलाई धेरै पैसा दिएर किनेको छ भनिएको छ। व्यापार भनेकै किन्ने हो। बढीमा किन्ने, बढीमा बेच्ने, लगानी भनेकै त्यही हो। पढाई गर्दा पनि लगानी भइरहेकै छ।
मेडिसिटीको कल्चर के हो भने हामी कुनै पनि सरकारी अस्पतालबाट डाक्टर लैजाँदैनाै। जो मेडिसिटीमा काम गर्छ, त्यही काम गर्नुपर्छ भन्ने कल्चर ल्याएका छौं।

अब आउने बजेटमा नेपाल इन्टरनेशनल मेडिकल हब बनाउने, नेपालमा मेडिकल इयर मनाउने खालको कुरा आउला भनेरै म यो बहसमा आएको थिएँ। तर त्यसको साटो हामीले सुनेका छौं मेडिकल व्यवसाय व्यापार भयो भनेर।

जुन दिन नेपाल सरकारसँग र ज्योति बानियाँसँग (महतोभन्दा अघि बहसमा भाग लिने उपभोक्ता अधिकारकर्मी बानियाँले निजी क्षेत्रका स्वास्थ्य संस्थाहरु ट्रस्टमार्फत् सन्चालन गर्ने प्रस्ताव गरेका थिए) धेरै पैसा हुन्छ, त्यो दिन मेडिसिटी ट्रस्टमा दिन्छु। तर नेपाललाई धनी बनाउन स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो भूमिका हुन्छ। यसलाई सबैले दिल खोलेर सहयोग गरी नेपालाई इन्टरनेशनल मेडिकल हब बनाऔं।

म मेडिकल शिक्षामा पनि जाने विचार छ। तर नेपालका एमबिबिएस पढाउने कलेजस्तो होइन, दुई चार करोड फि तिरेर अमेरिकी, बेलायती पढ्न आउने कलेज म चाहन्छु।

म मेडिकल डाक्टर होइन। इन्जिनियरिङमा पीएचडी गरेको हँु। व्यवसाय धेरै देशमा गरेको छु। व्यावहारिक ज्ञान धेरै लिएर आएको छु। नेपाललाई इन्टरनेशनल मेडिकल हब बनाएरै छाड्छु। यसमा सबैको आशीर्वाद र सद्भाव चाहिन्छ, पैसा होइन।

त्यसका लागि सरकारले मेडिकल भिजा बनाएर स्टीकर बनाइदिने र स्वास्थ्य क्षेत्र नेपालको उत्पादनमुलक र प्राथमिकताको क्षेत्र हो भनेर राष्ट्र बैंकले भनिदिनुप¥यो। र, तपाईंहरुले जस्तो स्वास्थ्य क्षेत्रमा लगानी गर्नेलाई अलि इज्जतसाथ नाम लिइदिनुपर्‍यो।

नियम कानुन बनाएर निजीलाई नियन्त्रण नगरौं। सार्वजनिक क्षेत्रलाई यति राम्रो बनाऔं कि निजी क्षेत्र आफैं कम हुँदै जाओस्।

(राष्ट्रिय योजना आयोगले गरेको ‘नेपालको स्वास्थ्य क्षेत्रः वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक राष्ट्रिय बहसमा डा महतोले व्यक्त गरेको विचार)



Leave a Reply

Your email address will not be published.