टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि

हेल्थपोस्ट नेपाल

काठमाडौं–देशभर आज शुक्रबारदेखि टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियान सुरु हुँदैछ। यसअभियानअन्तर्गत देशभरका १५ महिनादेखि १५ वर्ष उमेरसम्मका ७५ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ।

टाइफाइड खोप स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र सञ्चालन गरिनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको जनाएका छन्। अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न पनि भनिएको उनले बताएका  छन्।

कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरिने बताइएको छ। खोप कार्यक्रम सञ्चालन गर्नका लागि शहरी स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी खटिनेछन्। १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने बताइएको छ ।

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ। यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ ।



Leave a Reply

Your email address will not be published.