माझीले धाेका दिँदा साहिँलीकाे भर !

हेल्थपोस्ट नेपाल

पछिल्ला केही महिना बडो अफ्ठ्यारोसँग बिताएँ । हुन त सजिलो के नै बाँकी थियो र जिन्दगीमा !

माझी औँला र साहिँली औँलाले माउसमा क्लिक गर्दै लेखनलाई निरन्तरता दिँदै आइरहेको थिएँ। लेख्ने मुख्य औँला माझी नै थियो। एकाएक माझी औँलामा समस्या आएर लेख्न गाह्रो हुँदै गयो। गएको एक/डेढ महिना त झन्डै लेख्नै नसक्ने अवस्था पनि उत्पन्न भयो।

सामान्यत: मलाई आएका म्यासेज, इमेल र कमेन्टहरूमा रिप्लाइ गर्ने मेरो बानी छ। छोराको सहयोगमा सामाजिक संजालमा मेरो सामान्य सक्रियता कायम रहे पनि यसबीचमा थुप्रै साथीहरूको म्यासेजादिलाई रिप्लाइ गर्न  असमर्थ भएँ । कतिपय म्यासेज त अझै पनि मैले हेर्न सकेको छैन। जुगाडमै चलाइरहेको जिन्दगी हुँदा माझी औँलाको सट्टा कम्प्युटरको क्लिक गर्ने सेटिंग उल्ट्याएर अब साहिँली औँलाले लेख्न अभ्यस्त हुँदैछु। केही अप्ठ्याराका बावजुद पनि कम्तीमा यो औँलाले साथ दिउन्जेल मैले ठप्प भएर बस्नुपर्ने भएन। क्रमिकरूपमा अब म्यासेज हेर्दै र रिप्लाइ गर्दै जानेछु, अन्यथा नलिनुहोला। विशेषत: हरि अधिकारी सरसँग माफी चाहन्छु, एउटा रचना उपलब्ध गराउने वाचा गरेर पनि पूरा गर्न नसकेकोमा।

आफू संलग्न अस्पतालहरूमा मेरो औँलाको उपचारका निम्ति पहल गर्ने भाइद्वय विनाेद अधिधकारी र Hr Da प्रति आभारी छु।

हुन त एलोप्याथिक उपचार मलाई खासै काम लागेन, सामान्य समस्याहरूमा बाहेक। डक्टरहरूमा पनि एउटा समस्या देख्छु, मेरो रोगको नाम सुन्नासाथ उहाँहरू एउटा निचोडमा पुगिहाल्नुहुन्छ र मेरा हरेक समस्यालाई त्यसैसँग जोडिदिनुहुन्छ। यो सजिलो उपाय पनि भयो।  बरू होमियोप्याथिक औषधिले केही भरथेग गरिरहेको छ मलाई अहिलेसम्म । झन्डै एक दशकदेखि मेरो उपचार गरिरहनुभएका होमियोप्याथिक डक्टर अम्बिकाप्रसाद ज्ञवालीलाई पनि यही मेसोमा धन्यवाद ज्ञापन गर्न चाहन्छु (डक्टर ज्ञवालीसँग मेरो भेट गराइदिने केदार शर्मा सर  र रविन्द्र पुरीजीप्रति पनि पुनः आभार प्रकट गर्दछु)। उहाँको औषधिले संसारकै सर्वाधिक जटिल स्वास्थ्य समस्यामध्यको एक मानिने एएलएस/एमएनडी नामक मेरो रोगलाई त बढ्न नदिएर रोकिराखेको र कतिपय कुरामा सुधार नै भन्न मिल्ने अवस्था पनि सृजना गरेको छ भने यो औँलाको समस्यालाई पनि उहाँकै ओखतीले ठीक पार्नेमा विश्वस्त छु।

ठीक भएनछ भने पनि साहिँलीले धोका नदिउन्जेल ऐजन-ऐजन मेरो जिन्दगी चलेकै छ क्यारे। तथापि, साहिँली मोरीकै भर परेर बस्नुभन्दा पनि अल्टरनेटिभ माउस खोज्दैछु। खासमा मैले पर्खेको चाहिँ सोचेका कुरा टाइप गर्न सकिने ब्रेन-कम्प्युटर-इन्टरफेसको हो। तर यसका लागि थप एक/दुई वर्ष पर्खनुपर्ने जस्तो देखिन्छ। अझ मनमै गढेको कुरा खोल्ने हो भने त डायरी र कलम बोकी केही समय अरण्यवासी होऊँ र एउटा पाण्डुलिपि बोकी फर्कौँ भन्ने नै हो । तर ती त भए रहरका कुरा ! व्यवहारको कुरा यही हो कि टाइप गर्ने कुनै वैकल्पिक माध्यमको बन्दोबस्त मिलाउनुपर्ने छ ।

डेढ/दुई वर्षदेखि लेख्ने/पढ्ने कुराप्रति मभित्र एक प्रकारको बिरक्ति पैदा भएको थियो । सन्यासैचाहिँ होइन है। अब यो टाइप गर्ने औँलाको भूमिका परिवर्तनले मेरानिम्ति अर्को भाउँतो पैदा गरेको छ। माझी औँलाको मद्दतले एक दशकको अवधिमा तीनवटा किताब र दुई सय हाराहारी अखबारी लेख लेखिएछ । जुके छट्टुको बारीमा खेताला लाग्दै गरिएको लेखौटरूपी लडभीडको हिसाब नगरम् होला। त्यो सम्झिल्याउँदा मलाई ‘नि ‘पीर’ लाउँच। अब साहिँलीलाई पनि त उनार (उलार) गराइदिने कुरा आएन।  मोरी रिसाउलिन् फेरि।  साहिँलीकै लागि पनि दुई/चार किताब लेख्नैपर्ने परिबन्द आइलागो !

गाह्रो छ हौ गाह्रो, मान्छेको जिन्नगीमा पनि समस्या एउटा मात्रै हुने भा’ पो ?

लेखक थापाकाे फेसबुक स्टाटसबाट



Leave a Reply

Your email address will not be published.