भारतमा फेला पर्‍यो कोरोनाकाे नयाँ भेरियन्ट ‘एक्सई’, कति खतरनाक छ यो ?

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ। मुम्बईको बृहन्नमुम्बई महानगरलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ओमिक्रोनको उपभेरियन्ट बीए.१ र बीए.२ को रिकम्बिनेसन स्ट्रेन मानिएको ‘एक्सई’ भेरियन्ट फेला परेको हो। यद्यपि बिरामीमा हालसम्म कुनै गम्भीर लक्षण नदेखिएको बताइएको छ। यो भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गतसाता हालसम्मकै सबैभन्दा बढी संक्रामक भएको बताएको थियो।

तर, केन्द्रीय स्वास्थ्यमन्त्रालयका अधिकारीहरुले भने हालसम्म देखिएका प्रमाणका आधारमा यसलाई ‘एक्सई’ भेरियन्ट भन्न नमिल्ने दाबी गरेका छन्।

बृहन्नमुम्बई महानगरका अतिरिक्त आयुक्त सुरेश ककनीले विदेश यात्रबाट आएका ती व्यक्तिको नमुनालाई जिनोम सिक्वेन्सिङका लागि अन्य २३० नमुनासँगै पठाइएको, जसमा २२८ मा ओमिक्रोन भेरियन्ट देखा परेको, एकमा काप्पा भाइरस र अर्का एकमा एक्सई भेरियन्ट देखा परेको बताए।

एक्सई भेरियन्ट देखा परेकी महिला गत फेब्रुअरीमा अफ्रिकाबाट फर्किएका ५० वर्षीय पोशाक डिजाइनर भएको बताइएको छ। उनको मार्च २ मा परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।

के हो एक्सई भेरियन्ट?
यसलाई ओमिक्रोनको उपभेरियन्ट बीए.१ र बीए.२ को रिकम्बिनेसन स्ट्रेन मानिएको छ, जसलाई लिएर डब्लुएचओले चिन्ता व्यक्त गरेको छ। यो भेरियन्ट ओमिक्रोनका अन्य भेरियन्टका तुलनामा ४३ गुणा बढी तीव्र रुपमा फैलनसक्ने बताइएको छ। यद्यपि यो भेरियन्टलाई डब्लुएचओले अझै पनि ‘भेरियन्ट अफ कन्सर्न’ मानेको छैन। डब्लुएचओले यसको गम्भीरताका बारेमा अनुसन्धान जारी राखेको छ।

ओमिक्रोन भेरियन्टकै ‘एक्स डी’ नाम दिइएको अर्को उपभेरियन्ट पनि देखा परेको छ। यो नयाँ भेरियन्टको संक्रमण दरलाई त्यति गम्भीरतापूर्वक हेरिएको छैन।

कति खतरनाक छ?
विश्वभर कोरोनाको चौथो लहर देखा परिरहेको छ। विशेषगरी चीन र युरोपेली मुलुकमा देखा परेको संक्रमणदरलाई गम्भीरतापूर्वक हेरिएको छ। यस्तोमा कोरोनाको नयाँ भेरियन्ट फेला पर्नु चिन्ताजनक विषय हो। बेलायती स्वास्थ्य निकायका मुख्य चिकित्सा सल्लाहकार सुसन हप्किन्सले कोरोना भाइरसका अन्य भेरियन्टसँग मिलेर बन्ने भेरियन्ट त्यति घातक नहुने र यो चाँडै समाप्त हुने बताएका छन्।

डब्लएचओले जारी गरेको रिपोर्टमा एक्सई भेरियन्टलाई ओमिक्रोनका अन्य भेरियन्टभन्दा बढी खतरनाक भनिएको छ। तर यसको गम्भीरता र संक्रामकताका विषयमा कुनै निस्कर्ष निस्किएको छैन।

बेलायतमा फेला परेको थियो पहिलोपटक
एक्सई भेरियन्ट गत जनवरीमा बेलायतमा फेला परेको थियो। त्यसयता हालसम्म यसका ६ सयभन्दा बढी बिरामी फेला परेका छन्। यसबाहेक फ्रान्स, डेनमार्क, बेल्जियममा पनि एक्सईका भेरियन्ट देखा परेका छन्। एक्सईको गम्भीरता एवं यसमा खोपको प्रभावकारिताका बारेमा विस्तृत अनुसन्धान बाँकी नै छन्।



Leave a Reply

Your email address will not be published.