काठमाडौंका मेयरलाई प्रधानमन्त्रीले भने–फोहोरको थुप्रोले नेपालीको बेइज्जतै भइसक्यो, चाँडो ट्रिटमेन्ट प्लान्ट राख्नुस्

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ राख्न आग्रह गरेका छन्। टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको बिहीबार बिहान उद्घाटन गर्दै देउवाले काठमाडौंजस्तो सुन्दर सहरमा जताततै फोहोरको थुप्रो हुँदा लाजमर्दो भएको र नेपालको बेइज्जत भएको उल्लेख गरे।

‘काठमाडौंजस्तो सुन्दर सहरमा जताततै फोहोरको थुप्रो हुँदा नेपालीको बेइज्जत नै भइसक्यो, यो लाजमर्दो हो, फोहोर व्यवस्थापनका लागि सबै लाग्नुपर्छ, त्यसका लागि सहयोग गर्न सरकार तयार छ,’ उनले भने।

उनले केही दिनअघि धरानमा जाँदा फोहोरको ट्रिटमेन्ट प्लान्टमार्फत् ग्यास निकालेर टेम्पुजस्ता साना गाडी चलाएको देखेको उल्लेख गर्दै त्यसबारे अध्ययनका लागि धरान जान काठमाडौं महानगरपालिका प्रमुख विद्यारत्न शाक्यलाई आग्रह गरे।

देउवाले फोहोरको ट्रिटमेन्ट प्लान्ट राख्न विदेशीलाई पनि गुहार्नु नपर्ने उल्लेख गर्दै नेपाल आफैंले सक्ने बताए।

उनले नेपालमा टाइफाइड एक स्वास्थ्य समस्याको रुपमा देखिएको र सबैभन्दा प्रभावकारी उपायको रुपमा खोप भएकाले दक्षिण एसियामै पहिलोपटक टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए। देउवाले कोभिड खोप अभियानमा सफलता पाएजस्तै यो अभियानमा पनि सफलता पाउनेमा विश्वस्त रहेको उल्लेख गर्दै यो अभियानमा सहभागी हुन सबै तहका सरकार र सरोकारवालालाई आग्रह गरे।



Leave a Reply

Your email address will not be published.