प्रवेश परीक्षाका टपरहरु भन्छन्–निश्चित उद्धेश्यको मिहिनेतले लक्ष्यमा पुग्न सकिन्छ

अब इमान्दार चिकित्सक बनेर सेवा गर्ने लक्ष्य

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश प्रवेश परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल सुजल पौडेलले निश्चित उद्धेश्य राखेर गरिने मिहिनेतले लक्ष्यसम्म पुग्न सकिने बताएका छन्।

चिकित्सा शिक्षा आयोगले बुधबार निकालेको नतिजामा स्याङजाका पौडेलले १९ हजार ५ सय विद्यार्थीलाई पछि पार्दै एक नम्बरमा नाम निकाल्न सफल भएका हुन्।

‘मसँग कतै पुग्ने उद्धेश्य थियो, त्यसका लागि विभिन्न समयमा सञ्चालन भएका अनलाइन कक्षाले निकै सहयोग गर्‍यो,’ उनले भने। पौडेलले सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले एकपटक असफल हुँदैमा निराश नबन्न र अर्को पटकका लागि तयारी गर्न सुझाव दिए। एमबीबीएसबाहेक अरु विषयमा पनि तयारी गर्न सकिने उनको भनाइ छ।

‘मुख्य कुरा आफ्नो उद्धेश्यमा केन्द्रित हुनुपर्छ, एक पटक असफल भइयो भन्दैमा आत्तिनुहुन्न,’ उनले भने। स्याङजा र पोखरामा विद्यालय शिक्षा पूरा गरेका पौडेलले माइतीघरको सेन्ट जेभियर कलेजबाट प्लस टु पूरा गरेका हुन्।

पौडेलले भनेजस्तै दोस्रो नम्बरमा नाम निकाल्न सफल नुवाकोटका निशान्त पौडेलको गत वर्ष एक नम्बर नपुग्दा नाम निस्कन सकेको थिएन।

‘अघिल्लो वर्ष नाम निस्कन नसके पनि मैले धैर्यता गुमाइनँ, जसरी पनि नाम निकाल्छु भनेर पुनः तयारी गरेँ र राम्रो नतिजा आयो,’ उनले भने।

यसकारण कुनै पनि कुरामा सफलता हासिल गर्न संयम र धैर्य हुनुपर्ने उनको सुझाव छ।

‘पढ्ने त आफैंले हो, तर यसका लागि मार्गदर्शन चाहिन्छ साथै मिहिनेत र समयको कम्बिनेशन पनि चाहिन्छ, अनिमात्र राम्रो नतिजा आउँछ,’ उनले भने। उनले प्लस टु तक्षशिला एकेडेमीमा पढेका थिए।

न्यौपानले अब इमान्दार चिकित्सक बनेर सबैको सेवा गर्ने र बाँकी कुरा समयले मार्गनिर्देशन गर्दै जाने पनि बताए।

चिकित्सा शिक्षाको प्रवेश परीक्षाका लागि तयारी कक्षाहरु सञ्चालन गर्दै आएको भाइब्रेन्टले उनीहरुलाई आज बिहान एक कार्यक्रम गरी स्वागत गरेको थियो।

तस्बिर- १ नम्बरमा नाम निकाल्न सफल सुजल पाैडैल (दायाँ) र निशान्त न्याैपाने।



Leave a Reply

Your email address will not be published.