टाइफाइडविरुद्धको खोप अभियानः कहाँ लगाउन पाइन्छ खोप? कस्ता व्यक्तिले लगाउनु हुँदैन?

काठमाडौं–दक्षिण एसियामै पहिलोपटक नेपालमा यही चैत २५ बाट टाइफाइडविरुद्धको खोप अभियान सुरु हुँदैछ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको आयोजनामा खोप अभियान सुरु हुन लागेको हो।
महाशाखाले बुधबार स्वास्थ्य सेवा विभाग टेकुमा पत्रकार सम्मेलन गर्दै बैशाख १८ गतेसम्म अभियान सञ्चालन हुने जनाएको हो। दाङ जिल्लामा भने २२ गतेबाट नै अभियान सुरु भएको छ।
२४ दिने राष्ट्रव्यापी अभियानका क्रममा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ। यो अवधिमा करिब ७५ लाख बालबालिकासम्म खोप सेवा पुर्याउने लक्ष्य लिइएको परिवार कल्याण महाशाखाका प्रमुख सागर दाहालले जानकारी दिए। यो अभियानपछि नियमित तालिकामा टाइफाइड खोप पनि समावेश गरिनेछ। खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी र १ लाख १२ हजार ८ सय ५८ स्वयंमसेवक परिचालन हुनेछन्।
कहाँ पाइन्छ खोप?
स्थानीय तहका प्रत्येक वडाका तोकिएका विद्यालयका केन्द्रमा खोप उपलब्ध हुनेछ। विद्यालय नभएका वा कम भएको वडामा आवश्यकताअनुसार बाह्य खोप केन्द्र संञ्चालन गरेर खोप उपलब्ध गराइनेछ। साथै अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा पनि खोप अभियान सञ्चालन गरिने महाशाखाका प्रमुख दाहालले जानकारी दिए।
खोप कतिको प्रभावकारी छ?
राष्ट्रिय खोप सल्लाहकार समितिले विभिन्न रुपमा खोपको बारेमा अध्ययन र अनुसन्धान गरेको थियो। समितिले गरेको अध्ययनको विभिन्न अध्ययन अनुसन्धानले रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने पुष्टि गरेको तथ्यलाई आधार मानी खोप कार्यक्रम समावेश गरिएको हो। विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरुमा प्रयोगका लागि सिफाारिस गरेको छ। खोपको प्रभावकारिताको बारेमा अध्ययन गरेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले २०२० अगष्ट १४मा टाइफाइडविरुद्धको खोपलाई खोप कार्यक्रममा सिफारिस गरेको थियो।
के हो टाइफाइड?
टाइफाइड ‘साल्मोनेला टाइफी’बाट हुने गम्भीर रोग हो। यसलाई नेपालीमा बिषमज्वर अथवा म्यादेज्वरो पनि भनिन्छ। जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ।
कुन उमेरका मानिसमा लाग्छ?
यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइएको छ। विभिन्न अध्ययनका अनुसार यो रोग विशेषतः १५ बर्षमुनिका बालबालिकामा धेरै लागेको पाइएको छ। यो रोग संक्रमण भएमा विभिन्न खालका लक्षणहरु देखा पर्दछन्। उच्च ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने आदिजस्ता मुख्य लक्षण हुन् भने केहीमा पेट दुख्ने पखाला लाग्ने, वाकवाकी लाग्ने, भोक नलाग्ने, शरिरमा रातो विबिरा आउने आदि लक्षण अथवा चिह्न देखा पर्दछन्। यो रोगको संक्रमण पश्चात केही व्यक्तिमा शरीरका विभिन्न भागमा संक्रमण फैलने, सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने मस्तिष्कसम्बन्धी समस्या जस्ता जटिलता देखा पर्न सक्छन्। लक्षण तथा चिन्हका आधारमा यस रोगको प्रारम्भिक पहिचान हुन्छ। साथै रगतको जाँच र दिसा पिसाबको जाँच गरेर यो रोग पहिचान गर्न सकिन्छ।
उपचार र रोकथाम कसरी गर्न सकिन्छ?
समयमै स्वास्थ्य केन्द्रमा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको परामर्श अनुसार उपयुक्त प्रतिजैविक औषधिको सेवनबाट उपचार गर्न सकिने विश्व स्वास्थ्य संगठनका डा. विनोद बुराले बताए। यो रोग एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा दुषित खाना र पानीको माध्यमबाट सर्ने भएको हुँदा बच्ने मुख्य उपाय भनेको नै व्यक्तिगत सरसफाइ तथा वातावरण स्वच्छ राख्नु पर्ने बुराको सुझाव छ। १५ महिनाको उमेरमा १ मात्रा खोप लागाउनु पर्ने हुन्छ।
खोप कस्ता व्यक्तिले लगाउनु हुँदैन?
टाइफाइड खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा खोप लगाउनु हुँदैन। साथै उच्च ज्वरो आएको वा सिकिस्त विरामी भएको अबस्थामा खोप लगाउनु हँुदैन। तर, विरामी ठिक भइसकेपछि यो खोप लिन सकिन्छ। साथै साधारण विरामी भएको अवस्था जस्तै हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा खोप लगाउन सकिन्छ।
यो खोप लगाएपछि के–के असर देखिन्छ?
टाइफाइडविरुद्धको खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य ( सुई लगाएको ठाँउमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने टाउको दुख्ने, हात गोडा तथा जोेर्नी दुख्ने आदि) असरहरु हुन सक्छन्। यस्ता खालका सामान्य असर आफँै ठीक हुन्छन्। खोप लगाएपश्चात यी सामान्य खालका लक्षणबाहेक अन्य जटिल खालका लक्षण देखा परेमा भने नजिकको स्वास्थ्य कार्यालय तथा संस्थामा सम्पर्क राख्नु पर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए।