टाइफाइडविरुद्धको खोप अभियानमा १० हजार स्वास्थ्यकर्मी परिचालित हुने

हेल्थपोस्ट नेपाल

काठमाडौं–चैत २५ देखि देशभर सञ्चालन हुने टाइफाइडविरुद्धको खोप अभिायनमा १० हजार स्वास्थ्यकर्मी परिचालित हुने भएका छन्। वैशाख १८ सम्म चल्ने अभियानअन्तर्गत देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिँइदैछ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अभियानका क्रममा १० हजार स्वास्थ्यकर्मी परिचालित हुने जानकारी दिइयो। यसअन्तर्गत सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झण्डै ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको छ।

खोप स्थानीय तहका प्रत्येक वडामा तोकिएका विद्यालयहरूका खोप केन्द्रमा उपलब्ध हुनेछन्। विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र संचालन गरिने पनि पत्रकारसम्मेलनमा जानकारी दिइयो।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगका लागि सिफारिस गरेको छ। यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले जनाएको छ।

नेपालमा बर्सेनि औसत ४ लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाईएको छ।



Leave a Reply

Your email address will not be published.