मेडिकल कलेजहरुले जिल्लामा गएर शल्यचिकित्सा सेवा दिन सरकारले बनायो कार्यविधि, कसको भागमा कुन अस्पताल?

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मेडिकल कलेज स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ शल्यचिकित्सा सेवा उपलव्ध गराउने सम्वन्धी कार्यविधि २०७८’ जारी गरेको छ।

राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा २० र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार मन्त्रालयले कार्यविधि बनाएको हो। कार्यविधिमा प्रत्येक मेडिकल कलेज तथा प्रतिष्ठानले मन्त्रालयले तोकेको एक जिल्ला जिम्मा लिएर शल्यचिकित्सा सेवा सुरु गर्नुपर्ने उल्लेख छ।

चिकित्सा शिक्षा ऐनको दफा २० मा संस्थागत जवाफदेहिताअन्तर्गत कुनै पनि मेडिकल कलेज तथा प्रतिष्ठानहरुले मन्त्रालयले तोकेको कम्तीमा एउटा जिल्लामा सेवा क्षेत्रको रुपमा काम गर्नुपर्ने उल्लेख छ। अस्पतालहरुले विशेषज्ञ चिकित्सा सेवा दिनुपर्ने व्यवस्था छ।

राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीमा पनि समुदायमुलक शिक्षा तथा चिकित्सा सेवा प्रदान गर्ने उल्लेख छ। जसमा ‘प्रत्येक विश्वविद्यालय, प्रतिष्ठान वा अन्य शिक्षण संस्थाले स्वास्थ्यसम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालयले तोकेको कम्तीमा एक जिल्लामा समुदायमुलक शिक्षा तथा चिकित्सा सेवा प्रदान गर्नुपर्नेछ’ भन्ने उल्लेख छ।

सोहीअनुसार सरकारले मेडिकल कलेज तथा प्रतिष्ठानहरुका लागि जिल्ला ताकेको छ। जसमा नेपालगञ्ज मेडिकल कलेजको भागमा जाजरकोट अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भागमा हुम्ला जिल्ला अस्पताल, युनिभर्सल मेडिकल कलेज भैरहवामा रुकुम अस्पताल रुकुम पश्चिम, लुम्बिनी मेडिकल कलेज पाल्पामा गुल्मी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दमौली अस्पताल तनहुँ, गण्डकी मेडिकल कलेज पोखरामा स्याङ्जा अस्पताल परेको छ।

यस्तै, मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखराको भागमा पर्वत अस्पताल, चितवन मेडिकल कलेजको भागमा लमजुङ अस्पताल, कलेज अफ मेडिकल साइन्सेज भरतपुरको भागमा मध्यविन्दु अस्पताल नवलपुर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको भागमा गोरखा अस्पताल, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान ९आईओएम०मा सिन्धुपाल्चोक अस्पताल, चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०मा धादिङ अस्पताल परेको छ।

काठमाडौँ मेडिकल कलेजको भागमा रामेछाप अस्पताल, किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको भागमा दोलखा अस्पताल, नेपाल मेडिकल कलेज जोरपाटीको भागमा खोटाङ अस्पताल, धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा धुलिखेल सिन्धुली अस्पताल, नेशनल मेडिकल कलेज वीरगञ्जमा गौर अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धनकुटा अस्पताल, नोवेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँचथर अस्पताल र विराट मेडिकल कलेज शिक्षण अस्पतालको भागमा तेह्रथुम अस्पताल परेको छ।

ती जिल्लामा ती मेडिकल कलेज र प्रतिष्ठानले बहिरंग सेवामा बिरामीहरुको रोग पहिचान र उपचारको व्यवस्था गरी अपरेशन, शल्यक्रिया गर्नुपर्ने, अप्रेसन गर्ने बिरामीहरुको अप्रेसनपछिको जाँच, फलोअप र परामर्श दिनुपर्ने र महिला तथा प्रसूति सेवा, साथै जटिल गर्भवती सेवा तथा परामर्श सेवा दिनुपर्नेछ ।



Leave a Reply

Your email address will not be published.