शरीरमा पानीको कमीले यसरी निम्त्याउन सक्छ मुटुमा समस्या

हेल्थपोस्ट नेपाल

काठमाडौं–खराब जीवनशैलीका कारण विश्वभर मुटुका रोगीको संख्या बढिरहेको छ। हामी के खाइरहेका छौं, कस्तो पिइरहेका छौं भन्ने कुराबाट हामीहरुको शरीर र अंग प्रभावित भइरहेका हुन्छन्। यो कुरामा मुटुका हकमा पनि लागू हुन्छ।

हाम्रो मुटुको स्वास्थ्य स्वस्थ रक्तनली र रक्तसञ्चारमा भर पर्छ। यी दुईमध्ये कुनै एकमा समस्या आए, मुटुको समग्र कार्य नै प्रभावित हुन्छ। नेशनल इन्सिच्युट अफ हेल्थका अनुसन्धानकर्ताहरुले यस्तो बताएका हुन्।
हालै युरोपेली हेल्थ जर्नलमा प्रकाशित नेशनल इन्सिच्युट अफ हेल्थद्वारा गरिएको अनुसन्धानमा शरीरमा पानीको कमीले हृदयघातसहित हार्ट फेलियरसमेत हुने खतरा बढ्ने देखिएको छ।

तरल पदार्थको कमीले मुटुको कामकाज प्रभावित पार्ने देखिएको छ। यसैले पर्याप्त मात्रामा पानी पिउनाले मुटुको कार्यक्षमता बढ्ने अनुसन्धानको निस्कर्ष छ।

अनुसन्धानका क्रममा ४५ देखि ६६ वर्षसम्मका १५ हजारभन्दा बढी वयस्क व्यक्तिको तथ्यांक विश्लेषण गरिएको थियो, जसमा सन् १९८७–८९ को बीचमा मुटुको कुनै न कुनै समस्या थियो। ती मानिसमा मधुमेह, मोटोपना, हाइड्रेसन र मुटुको गतिविधिका विषयमा विश्लेषण गरिएको थियो। यसक्रममा पानीको कमी र नुन सेवनमा विशेष ध्यान दिइएको थियो।

यसक्रममा थाहा भयो–सोडियमले शरीरको तरल पदार्थको स्तरको कमीलाई बढावा दिन्छ र विशेष रुपमा हर्ट फेलियरको जोखिमलाई बढाउन भूमिका खेल्छ। अर्थात् जो मानिस नुनको बढी सेवन गर्थे, उनीहरुमा मुटुको गतिविधि प्रभावित हुने गरेको पाइएको थियो। यही कुरा पानीको कमीसँग पनि सम्बन्धित थियो।

खासगरी, शरीरमा पानीको कमीले रक्तनली र रक्तसञ्चारलाई प्रभावित गर्छ र यसबाट मुटुको रोगी हुने जोखिम बढ्ने अनुसन्धानबाट पाइएको थियो। पानीको कमीले रक्तचाप बढाउँछ र कैयौंपटक रक्तनलीमा अवरोध आउने र अचानक हर्ट फेल हुने खतरा पैदा गर्छ।

पानीजस्ता तरल पदार्थले मुटुलाई रगत पम्प गर्न सहयोग गर्छन्। साथै रक्तनलीलाई चौडा राख्छ, जसबाट सहज रुपमा रक्तसञ्चार भइरहन्छ। यसैले अनुसन्धानकर्ताहरुले शरीरको आवश्यकताका आधारमा महिलाले १.५ देखि २.१ लिटर र पुरुषले २ देखि ३ लिटर पानी पिउनुपर्ने सुझाव दिएका छन्।

डिस्क्लेमरः स्वास्थ्यसम्बन्धी कुनै समस्या भए सम्बन्धित चिकित्सकको परामर्श, सहयोग लिनुहोला

 



Leave a Reply

Your email address will not be published.