भ्यू टावरमा लगानी गर्ने पैसाले अस्पताल बनाउनुपर्छः शेखर कोइराला

तनहुँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासमा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए।
‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यू टावरमा अनावश्यक खर्च गरिरहेका छौं, मधेसमा जानुभयो सडक सडकमा गेट बनाइराखेका छन्’, उनले भने, ‘यस्तो काम रोकिनुपर्छ।’ कांग्रेसका नेता तथा कार्यकर्ताले घोषणापत्र बनाउँदा भ्यू टावर बनाउँदैनौँ भनेर प्रतिज्ञा गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘चुनाव आउँदैछ, भ्यू टावर बनाउँदा लाग्ने खर्च अस्पताल, विद्यालयमा लगानी गर्छौं भनेर प्रतिबद्धता गर्नुस्, त्यसो गरेको खण्डमा नेपाली कांग्रेसका लागि फाइदा हुन्छ।’
डा कोइरालाले तनहुँ सुगम भए पनि मानिस अझै पनि डोकामा पानी लिन जानुपर्ने अवस्था विडम्बना रहेको बताए।