कोभिड महामारीको संकटकालीन स्थिति अन्त्य गर्न डब्लुएचओले सार्वजनिक गर्‍यो ३ योजना

हेल्थपोस्ट नेपाल

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीको संकटकालीन स्थिति समाप्त भएको घोषणा गर्ने तयारी गरेको छ। यही उद्धेश्यले तयार पारिएको एक योजना संगठनले सार्वजनिक गरेको छ।

यो योजनामा कोभिडका नयाँ भेरियन्टविरुद्ध प्रभावकारी साबित हुन सक्ने गरी विभिन्न रणनीतिहरु बनाइएका छन्। यतिमात्रै नभई यो योजनामा आगामी वर्ष भाइरसको सामना गर्न तीन सम्भावित परिदृश्य (योजना) समावेश गरिएका छन्।

के–के छन् त डब्लुएचओका रणनीति?

डब्लुएचओ प्रमुख डा टेड्रोस घेब्रेयिससले एक प्रेस व्रिफिङका क्रममा हालसम्म प्राप्त जानकारीका आधारमा कोभिड महामारी फेरि फैलने विषय गलत नभए पनि खोप र संक्रमितमा वृद्धि भएको प्रतिरोधक क्षमताका कारण यसको गम्भीरता भने कम हुने बताए।

१. बुस्टर डोज पनि चाहिन सक्छ
डब्लुएचओले भाइरस पहिलेको तुलनामा कम गम्भीर भए पनि जोखिम कम गर्न बुस्टर डोज आवश्यक पर्नसक्ने बताएको छ। यसका अलावा यो भाइरस खासगरी जाडो मौसममा फ्लुजस्तै वृद्धि हुनसक्छ।

२. अब देखिने भेरियन्ट कम गम्भीर हुन्छ
डब्लुएचओका अनुसार भविष्यमा आउने भेरियन्ट स्वाभाविक रुपमा कम गम्भीर हुन्छ र खोपको प्रभावकारिता पनि लामोसमयसम्म रहनसक्छ। त्यसैले बुस्टर डोजको आवश्यकता पर्ने छैन र खोप नै परिवर्तन गर्ने आवश्यकता पनि हुनेछैन।

३. यसरी सम्हालिन्छ अवस्था
यदि भाइरसले नयाँ–नयाँ रुप लिन्छ भने संक्रमण झन् घातक साबित हुनसक्छ। यो स्थितिमा खोप कम प्रभावशाली हुन्छ र मृत्युको खतरा बढ्छ। यो स्थितिबाट बँच्नका लागि हाल प्रचलनमा रहेका खोपलाई परिवर्तन गर्न जरुरी हुन्छ र संवेदनशील अवस्थाका मानिसका लागि बुस्टर डोज अभियान पनि चलाउनुपर्ने हुनसक्छ।

यो तरिकाबाट समाप्त हुनसक्छ भाइरस
संकटकालीन स्थिति समाप्त गर्ने उद्धेश्यपूर्तिका लागि डब्लुएचओले सबै देशमा भाइरसको परिवर्तनको सुरुवाती संकेतलाई पहिचान गर्न सर्भिलेन्स क्षमतावृद्धिमा जोड दिन भनेको छ। यतिमात्र नभई लङ कोभिड पहिचानमा सुधार गर्न पनि आव्हान गरेको छ, ताकि महामारी समाप्त भएपछि लामो समयसम्म हुने समस्या समाधान गर्न सकियोस्।



Leave a Reply

Your email address will not be published.