जनकपुरमा मस्तिष्कघातसम्बन्धी सचेतना र गोष्ठी हुने

हेल्थपोस्ट नेपाल

जनकपुर–मधेश प्रदेशको राजधानी जनकपुरधाममा मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी सचेतना र गोष्ठी हुने भएको छ।

गोष्ठीमा आम नागरिक, उपभोक्ता तथा चिकित्सक एउटै मञ्‍चमा सहभागी हुनेछन्। आयोजक नेपाल स्ट्रोक एसोसिएसनका सचिव डा अविनाश चन्द्रका अनुसार यस किसिमको कार्यक्रम मधेश प्रदेशमा पहिलोपटक हुन लागेको हो। साधारणतया वैज्ञानिक गोष्ठीमा आम नागरिकको सहभागिता न्यून रहने गरेको छ। तर यो कार्यक्रममा विशेषज्ञ चिकित्सक तथा आम नागरिक सबैको एकै ठाउँमा उपस्थिति रहनेछ।

कार्यक्रममा वीर अस्पतालका वरिष्ठ नशारोग विशेषज्ञ डा अविनाश चन्द्र तथा नर्भिक अस्पतालका वरिष्ठ नशारोग विशेषज्ञ डा पंकज जालानको उपस्थिति रहने छ। त्यसैगरि हाइडेलवर्ग विश्वविद्यालय तथा एन्डोल्स इनिसिएटिभका तर्फबाट ख्यातिप्राप्त चिकित्सक डा क्रिष्टिन ट्रंकल तथा जनचेतना प्रस्तोता प्याट्रिक ट्रंकलले पनि आ–आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रदेशमा मस्तिष्कघातको विषयमा सचेतना तथा यसका नियन्त्रणका विषयमा कार्यक्रम गरेर यस क्षेत्रमा यो रोगको उपचारका लागि चाहिने आवश्यक सीपलाई अझ बलियो बनाउन टेवा पुग्ने आम विश्वास लिइएको छ। आयोजक समितिका कार्यकारी सचिव डा आयुषचन्द्रका आनुसार यो कार्यशाला शुक्रबार हुने छ भने निःशुल्क चिकित्सा क्याम्प शनिवार हुने तय गरिएको छ। क्याम्पमा आम नागरिकलाई यो रोगको बारेमा सचेतना अभिवृद्धि गरिने खालको कार्य गरिनेछ।



Leave a Reply

Your email address will not be published.