नगरकाे नेतृत्व सम्हालेर परिवर्तन ल्याउने सपना साँच्दै एक डाक्टर

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता हुन अब एक महिनाभन्दा पनि कम समय बाँकी छ। चुनावमा भाग लिन चाहने उम्मेदवारहरूलाई मनोनयन दर्ताका लागि वैशाख ११ र १२ गते समय तोकिएकाे छ।

मनोनयन दर्ताको समय नजिकिँदै गएपछि राजनीतिक दलहरू उम्मेदवार टुंगो लगाउन कसरतमा जुटेका छन्। चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन दलहरू रणनीति बनाउन भएका छन्।

राजनीतिक दलहरूले उम्मेदवारको टुंगो लगाउनअगावै कतिपयले आफूलाई सम्भावित प्रत्यासीका रूपमा प्रस्तुत गर्न सुरू गरिसकेका छन्। कोही सामाजिक सञ्जालका माध्यमबाट, कोही प्रत्यक्ष रूपमा नेतालाई भेटेरै स्थानीय तह निर्वाचनका लागि आफ्नो दाबेदारी गरिरहेका छन्।

स्रोत साधनको परिचालन र शक्तिको हिसाबले स्थानीय तह बलियो देखिएको छ। पालिकाको विकास निर्माणका लागि पनि स्थानीय तहमा प्रशस्तै विकल्प छन्।

त्यसैले यसअघिको निर्वाचनभन्दा अहिले स्थानीय तहतर्फ बढी आकर्षण देखिन थालिएको छ। अघिल्लोपटक प्रदेससभामा निर्वाचित भइसकेको कतिपय प्रदेस सांसदहरू पालिकाको मेयर बन्ने चाहना व्यक्त गरिरहेका छन्।

स्थानीय तहको चुनाव लड्न केही दिनअघि नेपाल प्रहरीका एकजना एससपीले राजीनामा नै दिए। झन्डै डेढ वर्ष कार्यकाल बाँकी छँदै नेपाल प्रहरीका एससपी गोविन्द साहले राजीनामा दिएर धनुषाको विदेह नगरपालिकाबाट मेयरमा लड्ने तयारी थालेका छन्।

त्यही कडीमा जोडिएका छन्, महोत्तरीको जलेश्वर नगरपालिकाका सज्जन ठाकुर। जलेश्वर नगरपालिका वडा नम्बर १० साडीका ठाकुर पेशाले दन्त चिकित्सक हुन्। तर, स्थानीय तहको नेतृत्व गरेर पालिकाको विकास गर्ने चाहना छ, उनको।

बंगलादेशमा चिकित्सा अध्ययन गरिरहँदा ठाकुर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भए। त्यतिबेला उनले बंगलादेशमा नेविसंघ च्याप्टर गठन गरेर प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।

पाँच वर्षसम्म जलेश्वर नगरपालिकाको नेतृत्व सम्हालेका प्रमुखले जनताको अपेक्षाअनुसार काम गर्न नसकेकाले मेयरमा प्रतिस्पर्धा गर्ने चाहना रहेको ठाकुर बताउँछन्।

‘आकर्षक घोषणापत्र ल्याइयो। शिक्षा र स्वास्थ्यलाई अद्भूत रूपमा परिवर्तन गर्ने वाचा दिइयो,’ ठाकुर भन्छन्,‘पाँच वर्षको अवधिसम्म आइपुग्दा सबै क्षेत्र लथालिङ भएको छ। नगरपालिकाको नेतृत्व सम्हालेर परिवर्तन गर्ने ठूलो धोको छ।’

विद्यार्थी छँदा नेविसंघबाट राजनीतिमा होमिएका उनी कांग्रेसबाट टिकट लिएर जलेश्वर नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्न चाहिरहेका छन्। मेयरमा लड्ने घोषणा गरेपछि नगरपालिकाभित्र उनी अहिले चर्चामा छन्।

तर, मेयरका लागि टिकटको आकांक्षा राख्ने कांग्रेसबाट उनी एक्ला छैनन्। बजरंग नेपाली, सुनिल मिश्र, शम्भु पाठकलगायतका नेताहरू पनि जलेश्वर नगरपालिकाको मेयरको टिकट पाउन ‘लबिङ’ गरिरहेका छन्।

कांग्रेस विधानअनुसार वडा, क्षेत्र र जिल्लाबाट सिफारिस भइसकेपछि प्रदेस समितिले पालिका तहतको मेयरका उम्मेदवारको अन्तिम टुंगो लगाउनुपर्ने हुन्छ।

पुराना ‘क्याडर’ हरूसँग प्रतिस्पर्धा गरेर टिकट पाउन त्यति सहज नरहेको भन्ने कुरा ठाकुरले पनि बुझेका छन्। तर, परिवर्तनका लागि अब युवाहरूले अवसर पाउनुपर्ने उनको कथन छ।

‘युवाहरूलाई सधैं भोट दिने मेसिनमात्र बनाउनु भएन। परिवर्तन र विकासका लागि पनि युवाले अवसर पाउनुपर्छ,’ उनी भन्छन्,‘कार्यक्षमता र ऊर्जाको हिसाबले युवाहरू सक्षम भइसकेका छन्। अब हामीले अवसर पाउनु पर्‍यो।’

टिकट पाउने नपाउने अन्तिम निर्णय पार्टीले नै गर्ने उनको भनाइ छ। ‘पेशाभन्दा पनि सेवाभावले म राजनीतिमा आएको हो, टिकट दिने नदिने निर्णय पार्टीको हातमा छ,’ उनी भन्छन्,‘पार्टीले जसलाई टिकट दिन्छ सहयोग त गर्छु नै। विचारधाराभन्दा अलग जाने कुरा भएन।’

अघिल्लो स्थानीय तह निर्वाचनमा जलेश्वर नगरपालिकामा तत्कालीन राजपाबाट रामशंकर मिश्र ५ हजार १८० मत ल्याएर मेयरमा निर्वाचित भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी अशोककुमार साहले २ हजार ६६५ मत प्राप्त गरेका थिए। त्यसैगरी नेकपा माओवादी केन्द्रका कौशलेन्द्र शर्माले २ हजार १११ मत पाउँदा नेकपा एमालेका माधव मण्डल खत्वेले १ हजार ९४४ मत ल्याएका थिए।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार कूल ३६ हजार ६६१ मध्ये जलेश्वर नगरपालिकामा १९ हजार ६६८ पुरुष र १६ हजार ९९४ महिला मतदाता छन्।



Leave a Reply

Your email address will not be published.