कसरी प्रभावित पार्‍यो विश्वलाई निद्रा नलाग्ने समस्या ‘कोभिड–सोम्निया’ ले?

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोना भाइरसले मानिसको शारीरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यमा पनि असर गरेको छ। खासगरी निद्राको चक्रप्रभावित भएको छ। हालै भएको एक अध्ययनले कोरोनाप्रभावित ५० प्रतिशतभन्दा बढी मानिसलाई रातको समयमा राम्ररी निद्रा पर्न छाडेको देखिएको छ। यसका पछाडि धेरै कारण हुनसक्छन्। तर राति अबेर सुत्नु र बिहानै चाँडै उठ्नु मानिसहरुको दैनिकी नै बनिसकेको छ।

निद्रा आवश्यक
स्वास्थ्यका लागि राति राम्ररी निदाउनु आवश्यक छ। यसबाट मानसिकका साथै शारीरिक र भावनात्मक स्वास्थ्य पनि राम्रो बन्छ। निद्रा राम्ररी परेन भने प्रतिरोधी प्रणालीमा असर पर्छ, डिप्रेसन तथा एन्जाइटी बढ्छ।
तर आजकालको चुनौती भनेकै ‘राति राम्रो निद्रा कसरी पर्छ’ भन्ने नै हो।

हालै भारतीय संस्था ‘रेसमेड’ ले निद्राको विषयमा एक अध्ययन गरेको थियो, जसमा भारतका विभिन्न स्थानका ५ हजारभन्दा बढी मानिससँग केही प्रश्न गरिएको थियो। त्यसको जवाफबाट सकारात्मक तथा नकारात्मक दुवै नतिजा आए। अध्ययनमा सहभागी गरिएका ८१ प्रतिशत मानिसले निद्राको चक्रले जीवनको गुणस्तरलाई निकै प्रभावित गर्ने उल्लेख गरेका थिए।

विश्वका मानिसको तुलनामा भारतीयहरु निदाउन बढी समय लगाउँछन्। अध्ययनमा भारतीयहरुलाई निद्रा पर्न ९० मिनेट लागेको देखिएको छ। जसमा यी कारण देखिएका छन्–
१. तनाव

२. सुत्नुअघि लामो समयसम्म मोबाइल हेर्नु

३. प्रकाशमा बसिरहनु

अध्ययनका अनुसार ५९ प्रतिशत मानिसहरु सुतेको समयमा घर्नुलाई राम्रो निद्राको संकेतका रुपमा लिन्छन्। तर यो अब्स्ट्रक्टिभ स्लीप एप्नियाको एक संकेत हुनसक्छ भन्नेबारेमा भने उनीहरुलाई थाहा छैन। यसका अलावा ७२ प्रतिशत मानिसहरुले निद्राको चक्रलाई खराब भावनात्मक स्वास्थ्यसँग जोडेर हेर्ने गरेको पाइएको छ।

‘कोभिड सोम्निया’
विश्वभर कोरोनाको लहर उच्च भएका बेला मानिसहरुलाई राम्ररी निद्रा नपर्ने समस्या प्रमुख रुपमा देखा प¥यो। ‘स्लीप डिस्अर्डर’ मा विशेषज्ञता हासिल गरेका न्यूरोलोजिस्टहरुले यस्तो समस्यालाई ‘कोभिड सोम्निया’ नाम दिए।

जोन्स हप्किन्स सेन्टरका न्युरोलोजी विषयका सहायक प्राध्यापक रचेल मेरी इ सालस भन्छिन्, ‘कोरोनाका बेला संक्रमित हुने डर, आफन्तका बारेमा चिन्ता, काममा जान नसक्ने चिन्ता र सामाजिक रुपमा हेलमेल हुन नपाउने चिन्ताले मानिसहरुको निद्राको चक्रलाई प्रभावित पार्‍यो।’

त्यस्ता मानिसहरुमा ३० मिनेटभित्र निदाउन नसक्ने खालको क्रोनिक इन्सोम्निया देखा परेको उनको भनाइ छ। ‘जब उनीहरु बेडमा जान्छन्, उनीहरुको दिमागका अनेक कुरा खेल्न थाल्छन्, जागिर गयो भने के गर्ने होला भनेर चिन्तित हुन्छन्, परिवार कसरी बाँच्ने भनेर चिन्ता गर्छन् र निदाउन सक्दैनन्,’ उनी भन्छिन्।

स्लीप फाउण्डेशनका अनुसार कोभिडका बेला विश्वभरका ४० प्रतिशत मानिसले निद्रा नपर्ने समस्या बेहोरेका थिए भने वयस्क तथा बालबालिकामा इन्सोम्नियाका लक्षण बढेको पाइएको थियो। निदाउने मानिसमा गुणस्तरको निद्रा नपर्ने गरेको पाइएको थियो। अधिकांशमा ननिदाउने समस्याको कारकका रुपमा डिप्रेसन र आइसोलेसन प्रमुख रह्यो।

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनले गरेको अध्ययनले ५६ प्रतिशत अमेरिकीले कोभिड महामारीको सुरुकै बेलादेखि कोभिड–सोम्नियाको समस्या अनुभव गरेको बताएका थिए। ४५ प्रतिशतले निद्राको गुणस्तरमा ह्रास आएको र ३६ प्रतिशतले नराम्रा सपना देख्ने गरेको बताएका थिए।

यस्तै, यो समस्याबाट महिलाभन्दा पुरुष बढी प्रभावित भएको पाइएको थियो। उक्त अध्ययनमा ५९ प्रतिशत पुरुष र ५४ प्रतिशत महिलाले कोभिडका कारण निद्रा गडबड हुने गरेको बताएका थिए। जसमा अधिकांश अर्थात् ७० प्रतिशत मानिसहरु ३५ देखि ४४ वर्ष उमेर समूहका थिए।

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनले यस्तो समस्याबाट बँच्न निम्न उपाय सुझाएको छः
१. सुत्ने समयको तालिका बनाउनुहोस्

२. विद्युतीय उपकरण बन्द गर्नुहोस्–सुत्नुअघि समाचार र सामाजिक सञ्जालबाट टाढै रहनुपर्छ। बेडमा जानुअघि कम्तीमा आधा घण्टाअघि यस्तो गर्नुपर्छ।

३. सुत्नुअघि ताजा हुने तालिका बनाउनुहोस्–जस्तो पुस्तक पढ्नु, ध्यान गर्नु या तातो पानीले नुहाउनु।

४. सुत्ने शान्त वातावरण सिर्जना गर्नुहोस्–शान्त र अँध्यारो कोठा हुनुपर्छ र टीभी तथा स्मार्टफोन बन्द गर्नुपर्छ। मोबाइल फोनलाई साइलेन्ट मोडमा राख्नुपर्छ।



Leave a Reply

Your email address will not be published.