चिकित्सा शिक्षाः स्नातक तहको एकीकृत प्रवेश परीक्षा शुक्रबारबाट, भ्रामक प्रचारबाजी नगर्न आयोगको आग्रह

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा यही चैत १८ देखि २१ गतेसम्म हुँदैछ।

परीक्षाका लागि काठमाडौं उपत्यकामा १११ परीक्षा केन्द्र कायम गरिएको छ भने पहिलो दिन चैत १८ गते १९ हजार ५ सय ८, दोस्रो दिन चैत २० गते १२ हजार २ सय ६२ र तेस्रो दिन २१ गते २ हजार ८ सय ९५ गरी कूल ३४ हजार ६ सय ६५ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन्।

आयोगले विज्ञप्ति जारी गर्दै परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक र अनधिकृत प्रचारबाजी कोही कसैबाट नगर्न, नगराउन अनुरोध गरेको छ।

विगतमा सञ्चालन भएका परीक्षामा कतिपय अनधिकृत व्यक्ति तथा क्षेत्रबाट अस्वाभाविक र परीक्षाको मर्यादाविपरीत गरिएका अनर्गल समाचार र सामाजिक सञ्जालमा गरिएका अमर्यादित प्रचारबाजीलाई गम्भीर रुपमा लिई त्यसबारे अध्ययन गर्न आयोगले समिति गठन गरेको थियो।

उक्त समितिले त्यस्ता अमर्यादित तरिकाले प्रचारप्रसार गर्ने व्यक्तिको नामनामेसीसहित प्रतिवेदन पेश गरेको अवस्थामा आसन्न परीक्षामा लगनशील र संवेदनशील भई परीक्षाको तयारी गरिरहेका परीक्षार्थाीलाई त्यस्ता भ्रामक प्रचारप्रसारबाट गम्भीर असर पर्न जाने तथ्यलाई ध्यान दिन पनि आयोगले आग्रह गरेको छ।

आयोगले आफूबाट सम्प्रेषण हुने सूचनाबाहेक अन्य प्रचारबाजीका पछि नलागी परीक्षालाई मर्यादित र व्यवस्थित तुल्याउनका लागि आवश्यक सहयोग अभिभावकलाई समेत आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.