एक डाक्टरको मार्मिक सुसाइड नोटः सायद मृत्युले नै मेरो निर्दोषिता प्रमाणित गर्नेछ

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतको राजस्थानस्थित दौसामा एक महिला चिकित्सकले आत्महत्या गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको कार्यक्रमअनुसार बुधबार राजस्थानभरका सबै निजी अस्पताल २४ घण्टासम्मका लागि बन्द छन्।

दौसाजिल्लास्थित लालसोट सहरको कोथूनरोडमा सञ्चालित एक अस्पतालकी चिकित्सक अर्चना शर्माले झुण्डिएर आत्महत्या गरेकी हुन्। उनको अस्पतालमा प्रसूतिका क्रममा एक महिलाको मृत्यु भएको थियो। उक्त घटनापछि बिरामीका आफन्तले डा शर्माविरुद्ध हत्याको आरोपमा प्रहरीमा उजुरी दिएका थिए। त्यसयता उनी तनावमा रहने गरेकी थिइन्।

उनले सुसाइड नोटमा आफ्नो कुनै गल्ती नभएको र कसैलाई नमारेको उल्लेख गर्दै बच्चा र पतिलाई निकै माया गर्छु भनेर लेखेकी छन्। सुसाइड नोटमा उनले लेखेकी छन्, ‘सायद मेरो मृत्युबाट नै म निर्दोष भएको प्रमाणित हुनेछ।’

प्रहरीका अनुसार बिरामीका आफन्तले चिकित्सकले लापरवाही गरेको आरोप लगाउँदै अस्पतालअगाडि प्रदर्शन गरेका थिए। प्रहरीले डा शर्माविरुद्ध स्थानीय प्रहरी चौकीमा मुद्दा दर्ता गरेपछि आन्दोलन स्थगित भएको थियो।

डा शर्माका पति डा सुनीत उपाध्यायले केही व्यक्तिविरुद्ध लालसोट प्रहरी चौकीमा उजुरी दिएका छन्। प्रहरीले यो प्रकरणका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले उपचारमा लापरवाहीको साटो हत्याको अभियोगमा मुद्दा दर्ता गरेको छ।

घटनाको विरोधमा इण्डियन मेडिकल एशोसियसन राजस्थानले २४ घण्टा अस्पताल बन्द गरेको छ। सोअनुसार बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म प्रदेशका सबै निजी अस्पताल बन्द गरिएका छन्। अस्पतालको इमर्जेन्सी सेवासमेत बन्द छन्।

 



One thought on “एक डाक्टरको मार्मिक सुसाइड नोटः सायद मृत्युले नै मेरो निर्दोषिता प्रमाणित गर्नेछ

Leave a Reply

Your email address will not be published.