बिम्स्टेक सम्मेलनमा देउवाले भने–खोपको असमानताले पुनरुत्थानमा अवरोध सिर्जना गर्‍यो

हेल्थपोस्ट नेपाल

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिम्स्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

श्रीलंकाको कोलम्बोमा जारी बिम्स्टेकको पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।

उनले वर्तमान विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला कोभिड–१९ को महामारीले निम्त्याएको सङ्कट, सञ्चार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एकथरि र चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिबबीचको खाडल पुर्न सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको बताए।

दुई वर्षदेखि बिम्स्टेक क्षेत्रमा पनि महामारीविरुद्धको महालडाइँ लडिरहेको, लाखौँको मृत्यु भएको, धेरै जनता गरिबीमा परेका तथा संरचनात्मक कमजोरी अझ बढिरहेको यथार्थ चित्रण गर्दै उनले महामारीको प्रभाव विस्तारै कम हुँदै गएको देखिए पनि त्यो समाप्त नभएकाले यसले आर्थिक र विकासलाई शिथिल बनाउने बताए। ‘खोपको असमानताले उत्थानशील पुनरुत्थानमा अवरोध सृजना भएको छ,’ प्रधानमन्त्रीले भने।

 



Leave a Reply

Your email address will not be published.