युद्धको निशानामा स्वास्थ्य संस्था

हेल्थपोस्ट नेपाल

काठमाडौं–अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीत रुसले अहिले दिनदिनै युक्रेनी स्वास्थ्य संस्थामाथि आक्रमण गर्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले रुसले स्वास्थ्य संस्थालाई निशाना बनाउने युद्धरणनीति नै बनाएको छ।

गत ८ मार्चमा दक्षिण खार्किभको इजुमस्थित भर्खरै निर्माण सम्पन्न अस्पतालमाथि आक्रमण गर्‍यो। सहरका मेयरले अनलाइनमा सार्वजनिक गरेको भिडियो र फोटोहरुले अस्पतालको मुख्य भवन नराम्री क्षतिग्रस्त भएको देखिएको थियो। गत वर्ष बनेको रिसेप्सन क्षेत्र पूर्णरुपमा ध्वस्त भयो।

खार्किभका उपमेयर भोलादोमिर मात्सोकिनका अनुसार पहिलो आक्रमणमा अस्पतालमा सम्पूर्ण झ्याल उडे, दोस्रो आक्रमणमा अस्पतालको शल्यक्रिया कक्ष नै ध्वस्त भयो।

अस्पतालमा भर्खर जन्मेका तीन शिशुसहित बालबालिका र गर्भवती महिलाहरुको उपचार भइरहेको थियो। यसका अतिरिक्त आक्रमणमा घाइते भएका सैनिक तथा सर्वसाधारणको पनि अस्पतालमा उपचार भइरहेको थियो। आक्रमणका बेला ती सबै अस्पतालको बंकरमा रहेकाले कसैको पनि ज्यान जान पाएन।

उपमेयर मात्सोकिनले उक्त अस्पतालमा सरकारले दशौं लाख मूल्यका उपकरण तथा सुविधामा लगानी गरेको बताए। आक्रमणले अवस्था यस्तो आइपर्‍यो कि–बिरामीहरु ध्वस्त अवशेषबीच ज्यान जोगाउन भाग्नुपर्‍यो।
रुसले आक्रमण सुरु गरेको २४ फेब्रुअरीयता स्वास्थ्य तथा अस्पतालमाथि ७२ वटा आक्रमण भइसकेका छन्। जसबाट ७१ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।

अस्पताल, मेडिकल आपूर्तिकर्ता तथा स्टोरहरुमा आक्रमण त भएकै छन्, डब्लुएचओले स्वास्थ्यकर्मी र बिरामीहरु अपहरित भएका र बन्दी बनाइएका हुनसक्ने अनुमान गरेको छ।

डब्लुएचओका युक्रेनस्थित प्रतिनिधि जार्नो हाबिचले स्वास्थ्य संस्थामाथि दिनहुँ बढ्दो आक्रमणले आफूहरु चिन्तित रहेको बताए।

जेनेभा महासन्धीको धारा १८ ले कुनै पनि अवस्थामा नागरिक अस्पतालहरु आक्रमणको निशानामा पर्न नहुने र तिनलाई सम्मान र सुरक्षा दिनुपर्ने उल्लेख गरेको छ।

तर रुसले महासन्धीकै उल्लंघन गरेकाले यस विषयमा अन्तर्राष्ट्रिय अपराध अदालतले अनुसन्धान गर्नुपर्ने डब्लुएचओको भनाइ छ। यदि कुनै पनि व्यक्ति युद्धअपराधमा दोषी भए तिनीहरुलाई कारबाही हुने हुन्छ।

जहाँको युद्धमा पनि निशानामा स्वास्थ्य संस्था
अमेरिकी अधिकारवादी समूह फिजिसियन्स फर ह्युमनराइट्सका अनुसार सन् २०११ यता रुसी अथवा स्थानीय फौजहरु सिरियाका २४४ स्वास्थ्य संस्थामाथिको आक्रमणमा संलग्न भएको जनाएको छ।

यहीकारण मेडिसिन्स सान्स फ्रन्टियर्सले सिरिया सरकार तथा उसको रुसी गठबन्धनको निशानामा पर्नसक्ने सम्भावनालाई दृष्टिगत गर्दै सिरियाका केही स्वास्थ्य संस्थालाई जिपिएस शेयरिङ गर्न रोक लगाएको थियो।

तर त्यतिबेला पनि रुसले अस्पतालमा आक्रमण नगरेको उल्लेख गर्दै जिहादीहरुले अस्पतालमा शेल्टर लिएको दाबी गरेको थियो। डब्लुएचओले यस्ता उदाहरणका कारण पनि स्वास्थ्य संस्था तथा सेवामाथिको आक्रमण आधुनिक युद्धको एक रणनीति बन्दै आएको टिप्पणी गरेको छ।

स्वास्थ्य संस्थामाथिको आक्रमण आशाको विनाश र आधारभूत मानवअधिकारको अस्वीकृति भएको डब्लुएचओको भनाइ छ। डब्लुएचओका आपतकालीन निर्देशक माइकल र्‍यान भन्छन्, ‘स्वास्थ्यसंस्थामाथिको यस किसिमको आक्रमणदर यसअघि विश्वभर कतै देखिएको थिएन।’

यस्तै, यमनको गृहयुद्धमा पनि १३० स्वास्थ्य संस्था तथा सेवामाथि आक्रमण भएका छन्। जसमध्ये साउदीनेतृत्वको गठबन्धनले ७२ र हुथी विद्रोहीहरुले ५२ आक्रमण गरेका थिए। यही मार्च २६ मा पनि साउदी गठबन्धनले हुथी विद्रोहीबहुल सादा प्रान्तको अस्पतालमा आक्रमण गरेको थियो। जसमा ४ बालबालिका र एक स्वास्थ्यकर्मी मारिए।

 



Leave a Reply

Your email address will not be published.