श्रीलंकाको वित्तिय संकटः औषधि अभावमा अस्पतालमा शल्यक्रियासमेत स्थगित
पारासिटामोल, मधुमेह, उच्च रक्तचाप तथा कोलेस्टेरोलका औषधिहरुको अभाव

काठमाडौं–चरम वित्तिय संकट बेहोरिरहेको श्रीलंकामा औषधि संकटसमेत निम्तिएको छ। त्यहाँका अस्पतालले औषधि अभावमा शल्यक्रियासमेत स्थगित गर्न थालेका छन्।
‘श्रीलंका ट्वीट’ नामक ह्याण्डलले मंगलबार ट्वीट गर्दै पेरादेनिया अस्पतालले औषधि अभावमा नियमित शल्यक्रिया स्थगित गरेको जनाएको हो। त्यहाँ आपतकालीन शल्यक्रियामात्र सञ्चालनमा रहेको बताइएको छ।
Scheduled surgeries at the Peradeniya Hospital were suspended due to a shortage of medicines. Only emergency surgeries are taking place – NewsFirst #LKA #SriLanka #EconomicCrisisLK
— Sri Lanka Tweet 🇱🇰 💉 (@SriLankaTweet) March 29, 2022
उक्त समाचारपछि भारतीय विदेशमन्त्री एस जयशंकरले श्रीलंकास्थित दूतावासलाई अस्पतालमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्। उनले कोलम्बोस्थित उच्चायुक्त गोपाल बागलेलाई फोन गरी कसरी सहयोग गर्न सकिन्छ भन्नेबारेमा छलफल गर्न आग्रह गरेका छन्।
जयशंकर हाल द्विपक्षीय वार्ताका लागि श्रीलंकामा नै छन्। उनले श्रीलंकालाई वित्तिय संकटबाट उकास्न के गर्न सकिन्छ भन्नेबारेमा भारतीय धारणा व्यक्त गरेको बताइएको छ।
श्रीलंका च्याम्बर अफ फार्मास्युटिकल्स इन्डस्ट्री (एसएलसीपीआइ) का अनुसार हाल पारासिटामोल, मधुमेह, उच्च रक्तचाप तथा कोलेस्टेरोलका औषधिहरुको अभाव छ। एक महिनाको औषधि आयातका लागि निजी क्षेत्रका आयातकर्तालाई ३ करोड डलर आवश्यक भएको एसएलसीपीआइको भनाइ छ। संस्थाका पूर्वअध्यक्ष एड्रियन बासनायकेले औषधि आयातका लागि लेटर अफ क्रेडिट जारी गर्न वाणिज्य बैंकहरुले अस्वीकार गरेका छन्। बैंकहरुले उच्च मूल्यमा डलर किन्न आयातकर्तालाई आग्रह गरिरहेका छन्।
उनका अनुसार एलसीमा भएको ढिलाईले सरकारी टेण्डरमा पनि असर पारिरहेको र सरकारी अस्पतालमा पनि औषधि अभाव निम्तने बताए। औषधि अभावका बीच सर्वसाधारणले पनि औषधि थुपारिरहेको बताइएको छ। बासनायकेले ३ महिनादेखि आफूहरुको बिक्री उच्च भएको जनाए।
श्रीलंकाको वैदेशिक मुद्रा सञ्चितिमा ठूलो ह्रासका कारण औषधि अभाव निम्तिएको हो। गत डिसेम्बरमा ३ अर्ब १४ करोड डलर सञ्चिति रहेकोमा जनवरीमा त्यो घटेर २ अर्ब ३६ करोडमा पुगेको छ। फेब्रुअरीदेखि अप्रिलका बीच श्रीलंकाले थप १ अर्ब ८३ करोड डलर ऋणका रुपमा तिर्नुपर्ने छ।