जीवनसँग खुसी रहँदैनन् सामाजिक सञ्जालको लत लागेका बालबालिका

हेल्थपोस्ट नेपाल

काठमाडौं–सामाजिक सञ्जाल आज विश्वभरका मानिसको दैनिकी बनिसकेको छ। बालबालिकादेखि वयस्कसम्मका मानिसहरु सामाजिक सञ्जालविना बाँच्नै नसक्ने स्थितिमा पुगेका छन्।

तर यसको अत्यधिक प्रयोग हानिकारक पनि हुनसक्ने एक अध्ययनले देखाएको छ। विशेषगरी सामाजिक सञ्जालमा बढी समय बिताउने किशोर उमेरका बालबालिकाको सोच र व्यवहारमा असर पर्ने देखिएको छ।

बेलायतको नेचर कम्युनिकेशनले गरेको एक अध्ययनमा अलग–अलग उमेरका बालबालिकाले सामाजिक सञ्जाल बढी प्रयोग गर्दा उनीहरुको मस्तिस्क, हार्मोन र व्यवहारमा असर परेको देखिएको छ। यद्यपि वैज्ञानिकहरुले किशोरकिशोरी र बालबालिकामा पर्ने सामाजिक सञ्जालको असरबारे थप अध्ययन जरुरी रहेको बताएका छन् ।

यो अध्ययन विगत १२ महिनामा सामाजिक सञ्जालको प्रयोग बढाएका ११ देखि १३ वर्ष उमेरका बालिकामा गरिएको थियो। अध्ययनमा ती बालिकाहरुले जति बढी सामाजिक सञ्जालमा बिताएका थिए, एकवर्षपछि उनीहरु आफ्नो जीवनसँग सन्तुष्ट हुने सम्भावना उति नै बढी पाइएको थियो।

अध्ययनका क्रममा १६ देखि २१ वर्षसम्मका प्रयोगकर्तामा पनि अध्ययन गरिएको थियो। जसमा दैनिक ३ घण्टा र दैनिक ७ घण्टा सामाजिक सञ्जालमा बिताउनेहरुबीच तुलनात्मक अध्ययन गरिएको थियो। सामाजिक सञ्जालमा बढी समय बिताउने किशोरहरु आफ्नो जीवनसँग सन्तुष्ट नरहेको अध्ययनमा पाइएको थियो।

कसरी हानी गरिरहेको छ सामाजिक सञ्जालले?
किशोरकिशोरीमात्र नभई आजकाल बालबालिका पनि सामाजिक सञ्जालको कूलतको शिकार बनिरहेका छन्। यसको असर उनीहरुको पढाइमा देखिइरहेको छ। सामाजिक सञ्जाल अक्सर हिंसात्मक हुन्छ र अश्लील सामग्री पनि राखिएको हुन्छ। यस्ता दृश्य, तस्बिरले बालबालिकाको मानसिक स्वास्थ्य र व्यवहारमा असर पारिरहेको हुन्छ।

नेपालको स्थिति
नेपाल दूरसञ्चार प्राधिकरणको गत जुलाईको तथ्यांकअनुसार नेपालमा कूल जनसंख्याको ९१ प्रतिशत मानिसमा इन्टरनेटको पहुँच छ। जुन १४, २०२१ सम्मको तथ्यांकअनुसार २ करोड ७७ लाख ६० हजार मानिसमा इन्टरनेटको पहुँच छ। गत अप्रिलदेखि मे मध्यसम्ममात्र ३ लाख ३१ हजार ४ सय २२ इन्टरनेट प्रयोगकर्ता थपिएका थिए।

अधिकांशले मोबाइलमार्फत् इन्टरनेट प्रयोग गर्ने प्राधिकरणको तथ्यांक छ। मोबाइल इन्टरनेटप्रयोगकर्ताको संख्या ६५.६८ छ।

अर्को तथ्यांकअनुसार जनवरी २०२२ सम्म नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या १ करोड ३७ लाख छ। यो संख्या १ वर्षअघि १ करोड ३० लाख थियो। २०२१ जनवरीसम्म कूल जनसंख्याको ४४.२ प्रतिशत जनसंख्या सामाजिक सञ्जाल प्रयोगकर्ता रहेको अनुमान छ। त्यसमध्ये कति बालबालिका छन् भनेर भने हालसम्म अध्ययन भएको छैन।

भारतमा कूल जनसंख्याको ३१ प्रतिशत इन्टरनेट प्रयोगकर्ता छन्, जसमा बालबालिकाको हिस्सा ठूलो रहेको बताइएको छ।

 



Leave a Reply

Your email address will not be published.