कसरी हुन्छ टाइफाइड? के हुन् जोगिने उपाय?

हेल्थपोस्ट नेपाल

यही चैत २५ देखि १८ वैशाखसम्म नेपालमा पहिलोपटक टाइफाइडविरुद्ध खोप लगाइँदैछ। यो खोप १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लगाइँदैछ। नेपालमा ‘म्यादे ज्वरो’ पनि भनिने टाइफाइड ज्यानै जोखिममा जानसक्ने संक्रामक रोग हो। यो रोग सबै उमेर समूहका व्यक्तिमा लागेको पाइए पनि विशेषगरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ।

टाइफाइड खाद्यपदार्थका कारण फैलिने सरुवा रोग हो। काठमाडौं उपत्यकाजस्ता बढी जनघनत्व भएका र सरसफाइको अवस्था निकै कमजोर भएका ठाउँ टाइफाइडका राजधानी नै हुन्। विज्ञहरूका अनुसार टाइफाइडका दृष्टिले काठमाडौं विश्वकै उच्च जोखिमयुक्त सहर हो ।

नेपालमा प्रत्येक वर्ष देशभरका विभिन्न ठाउँमा टाइफाइड महामारीको रूपमा देखापर्ने गर्छ। केही वर्षअघि गरिएको एक सर्वेक्षणले उपत्यकाका १५ देखि ३० वर्षका झन्डै ३९ प्रतिशतमा टाइफाइड देखाएको थियो। ज्वरो आएर रगत परीक्षण गरिएका कुल बालबालिकामध्ये ४७ प्रतिशतमा टाइफाइड भेटिएको थियो । विश्वस्वास्थ्य संगठनले एक लाखमा परीक्षण गर्दा सयजनाभन्दा बढीमा संक्रमण देखिएको अवस्थालाई उच्च जोखिमको अवस्था भन्ने गरेको छ।

के हो टाइफाइड?
टाइफाइड एक ग्यास्ट्रोइन्टेस्टाइनल संक्रमण हो, जो साल्मोनेला टाइफी नामक ब्याक्टेरियाका कारण हुने गर्छ। टाइफाइड हुँदा उच्च ज्वरो, पखाला र बान्ताजस्ता लक्षण देखिन्छ। टाइफाइड धेरैजसो दक्षिणपूर्वी एशियालीमुलुक, अफ्रिका, मध्य तथा दक्षिण अमेरिका र पश्चिमी प्रशान्त मुलुकहरुमा देखिने गरेको छ।

दूषित पानी र खानाका माध्यमबाट यो ब्याक्टेरियल संक्रमण हुने सम्भावना धेरै हुन्छ। यो ब्याक्टेरिया मुखको माध्यमबाट आन्द्रामा प्रवेश गरेर त्यहाँ एक देखि तीन सातासम्म रहन्छ। त्यसपछि आन्द्राका भित्ता (इन्टेस्टाइनल वाल) मार्फत् रक्तप्रवाहमा प्रवेश गर्छ। रगतमार्फत् अन्य कोशिका र अंगमा फैलिएर कोशिकाभित्र रहन्छ, जसका बारेमा प्रतिरक्षा प्रणालीले समेत थाहा पाउँदैन।

टाइफाइडका लागि उपयुक्त उपचार उपलब्ध छ। तर, समयमै उपचार नगरे घातक हुनसक्छ। टाइफाइडले मिर्गौला फेल र गम्भीर खालको जिआइ रक्तस्रावसमेत हुने खतरा रहन्छ।

टाइफाइडका लक्षण
ब्याक्टेरियाको सम्पर्कमा आएको करिब १ देखि ३ सातापछि लक्षण देखिन्छ। गम्भीरताको आधारमा रोगको अवधि ३ देखि ४ सातासम्म रहन्छ। सामान्य इन्क्युवेशन समय ७ देखि १४ दिनको हुन्छ। यसको प्रमुख लक्षण निम्न छन्ः

टाउको दुख्ने

कब्जियत हुने या पखाला लाग्ने

उच्च ज्वरो (१०३ डिग्री फरेनहाइटसम्म)

भोक नलाग्ने

छातिमा कलेजी रंगको धब्बा देखिने

थकान

दुखाई र कमजोरी महसुस हुने

पेट दुख्ने

साल्मोनेला टाइफी ब्याक्टेरियाको मात्रा अधिक भएको खाद्य पदार्थ या पानी प्रयोग गर्नेहरुमा टाइफाइड ज्वरो आउँछ। यसका अलावा रोगीको दिसाले वरीपरीका पानीको आपूर्ति पनि दुषित बनाउन सक्छ।

निदान
यदि यस्ता लक्षण देखिएमा चिकित्सकले केही परीक्षण गराउन भन्न सक्छन्। साल्मोनेला टाइफी शरीरमा छ कि छैन भनेर पत्ता लगाउन रगत, दिसा, पिसाबको कल्चर या बोन म्यारो टेस्ट गराउन सकिन्छ। बोन म्यारो कल्चर टाइफाइड ब्याक्टेरियाका लागि सबैभन्दा संवेदनशील टेस्ट मानिन्छ। चिकित्सकले टाइफाइड डीएनए र एन्टीबडिजको परीक्षणका लागि अन्य रगत जाँच गर्ने सुझाव पनि दिनसक्छन्।

उपचार
सामान्यतः सिप्रोफ्लाक्सिन र सेफ्टिएक्जोनजस्ता एन्टिबायोटिक्सहरु टाइफाइडको उपचारका लागि दिइन्छ। एजिथ्रोमाइसिन पनि यसको उपचारका अर्को विकल्प हो। यद्यपि यो गर्भवती महिलालाई खाने सल्लाह दिँइदैन। टाइफाइड गम्भीर अवस्थामा पुग्दा आन्द्रामा प्वाल पनि पर्न सक्छ, जसलाई शल्यक्रियाको माध्यमबाट ठीक गर्न सकिन्छ।

टाइफाइडमा खानपान
टाइफाइड ज्वरो आएका बिरामीहरुमा पाचन या ग्यास्ट्रोइन्टेस्टाइलसम्बन्धी समस्या हुन्छ। भोक नलाग्ने र वाकवाकी लाग्ने टाइफाइडसम्बन्धी लक्षण हुनसक्छन्। त्यसैले स्वस्थ र सन्तुलित खाना खाएर टाइफाइडसँग लड्नुपर्ने हुन्छ। पोषण विशेषज्ञहरु थोरै तर कम अन्तरालमा खाना खाने सल्लाह दिन्छन्। यस्तो अवस्थामा सजिलोसँग पच्ने खालको खाना खानुपर्छ। खानामा कार्बोहाइड्रेट, चिल्लो र प्रोटिनलाई सन्तुलित राख्ने खानाको आवश्यकता हुन्छ। लक्षण कम गर्ने र उपचारको प्रक्रिया जारीराख्न यस्ता खाना खान सकिन्छः

–उच्च क्यालोरीयुक्त खाना खान सकिन्छ। टाइफाइड हुँदा दुब्लाउने हुन्छ। यस्तो अवस्थामा क्यालोरीयुक्त खाना खाएर तौल फेरि बढाउन सकिन्छ। शरीरको तौल बढाउन रोटी, केरा, उसिनेको आलु बढी खान सकिन्छ।

–अधिक तरल पदार्थको प्रयोग गर्नुपर्छ। टाइफाइड हुँदा उच्च ज्वरो र पखाला हुने भएकाले शरीरमा पानीको कमी हुन्छ। तरल पदार्थको कमीले उपचारका समस्या आउनसक्छ। त्यसैले पर्याप्त पानी र ताजा फलबाट तयार गरिएको जुस बढी प्रयोग गर्नुपर्छ।

–खानामा प्रोटिनयुक्त खाद्यपदार्थ,जस्तै फलफूल, पनीर र दही सामेल गर्न सकिन्छ। पचाउन गा¥हो हुने भएकाले मासुबाट टाढै रहनुपर्छ।

–उच्चफाइबरयुक्त, मसालेदार र फ्राइ गरेको खाना खानुहुन्न। घिउ केही दिन नखानुहोस्।

कसरी बँच्ने?
विश्व स्वास्थ्य संगठनले टाइफाइडबाट बँच्न दुई खालको खोपको सिफारिस गरेको छ। जसमा एउटा निस्क्रिय शट (इनएक्टिभेटेड भ्याक्सिन शट) र अर्को लाइभ हो। भ्याक्सिन शट २ वर्षभन्दा बढी उमेरकाले लगाउन सकिन्छ। उच्च जोखिम समूहमा पर्ने मानिसले यो खोप बारम्बार लिने सल्लाह दिइन्छ।

ओरल भ्याक्सिन ६ वर्षभन्दा बढी उमेरका मानिसले लिन सक्छन्। यो ४ क्याप्सुलको प्याकमा आउँछ, जसमा तीन वटा दिन बिराएर लिनुपर्छ। अन्तिम चक्की भने टाइफाइडप्रभावित स्थानमा जानु एक हप्ताअघि लिने सल्लाह दिइन्छ। सबै क्याप्सुल खाना खानु एक घण्टा अघि लिनुपर्छ। यसलाई फ्रिजमा राख्नुपर्छ। उच्च जोखिम क्षेत्रमा रहनेहरुले प्रत्येक ५ वर्षमा खोपको एउटा बुस्टर डोज लिने सल्लाह चिकित्सकले दिन्छन्।

खोपका अलावा अन्य उपाय पनि छन्, जसबाट टाइफाइड हुनबाट जोगिन सकिन्छः
–हातको सरसफाईको ख्याल गर्नुपर्छ। खाना खानुअघि र शौचालयबाट निस्किएपछि साबुनपानीले हात धुनुपर्छ।

–स्ट्रीट फूड नखानुहोस्। यस्तो खानामा टाइफाइडा गराउने ब्याक्टेरिया हुने सम्भावना बढी हुन्छ।

–घरका भाँडाकुँडालाई राम्ररी सफा गर्नुपर्छ।

–घरमै बनाइएका ताजा र तातो खाना खानुपर्छ। उच्च तापमानमा ब्याक्टेरिया वढ्ने सम्भावना हुन्छ।

–काँचो तरकारी, फलफूल र दूषित पानीबाट बँच्नुपर्छ।

डिस्क्लेमरः कुनै पनि स्वास्थ्य समस्या देखिएमा सम्बन्धित चिकित्सकको सल्लाह /परामर्श लिनुहोला



Leave a Reply

Your email address will not be published.