स्वास्थ्यसचिवसमक्ष जनस्वास्थ्य संघले राख्यो ४ बुँदे माग

काठमाडौं–नेपाल जनस्वास्थ्य संघले स्थानीय तहहरुमा समग्र स्वास्थ्य व्यवस्थापनका लागि जनस्वास्थ्य अधिकृतको पद सिर्जना गरी यथाशिघ्र लोकसेवा आयोगबाट पदपूर्ति हुने व्यवस्था गर्न माग गरेको छ।
संघले आइतबार स्वास्थ्य सचिवलाई ४ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै उक्त माग गरेको हो।
संघले स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायहरुको कार्य विश्लेषणबमोजिम तयार गरिएकोे जनस्वास्थ्यविज्ञहरुको ११ औं तहको पदहरुमा सही व्यक्ति सही पदको जिम्मेवारी तुरुन्त दिइनुपर्ने, जनस्वास्थ्यकर्मीहरुको वृत्तिविकासका लागि हालको इल्थ इनस्पेक्सन समूहको सातौदेखि दसौं तहका पदहरुको तुलनामा ११ औं तहको पद अत्यन्त कम भएकाले उक्त पद सिर्जना गर्नुपर्ने र जनस्वास्थ्य अधिकृत तथा सोभन्दा माथिका पदहरु संघीय सरकारअन्तर्गत राखी आवश्यकताअनुसार खटनपटन र व्यवस्थापन गरिनुपर्ने माग गरेको छ।