विज्ञहरु भन्छन्-जेठको अन्त्यसम्म कोरोनाको चौथो लहर आउँछ

हेल्थपोस्ट नेपाल

काठमाडौं–विज्ञहरुले आगामी मध्य जुन (जेठको अन्त्यतिर) महिनातिर भारतमा कोरोनाको चौथो लहर फैलने आँकलन गरेका छन्। कोरोना संक्रमण घट्दै गर्दा भारत सरकारले मार्च ३१ देखि सबै खालका प्रतिबन्ध हटाउने घोषणा गरिसकेको छ। मानिसहरु सामान्यजीवनमा फर्किएसँगै जुन महिनाको दोस्रो साताबाट चौथो लहर सुरु हुने आइआइटी कानुपुरका विज्ञको भनाइ छ।

चीन, बेलायत, दक्षिण कोरिया, अमेरिकासहितका केही देशमा भने अझै कोरोना संक्रमण दर घटेको छैन। यहीकारण पनि भारतमा ढिलो, चाँडो कोरोनाको अर्को लहर सुरु हुने अनुमान गरिएको हो।
विश्व स्वास्थ्य संगठनले ओमिक्रोनको नयाँ भेरियन्ट बीए.२ का कारण विश्वका केही मुलुकमा कोरोना संक्रमण दर तीव्र भएको जनाएको छ। चीनमा फैलिएको संक्रमणमा पनि नयाँ भेरियन्ट नै जिम्मेवार रहेको बताइएको छ।

विज्ञहरुले ठूलो संख्यामा मानिसहरुले कोरोनाको खोप लगाएको र प्रतिरोधी प्रणाली पनि विकसित भइसकेकाले अब आउने चौथो लहरले त्यति ठूलो प्रभाव नपार्ने बताएका छन्। यद्यपि कोरोना अझै नसकिएकाले सकेसम्म सुरक्षित रहन भने उनीहरुले आग्रह गरेका छन्

भारतमा शनिबार थप १४२१ जनामा संक्रमण पुष्टि भएको थियो। तेस्रो लहर उच्चविन्दूमा पुगेका बेला भारतमा गत २१ जनवरीका दिन दैनिक संक्रमित ३ लाख ४७ हजार पुगेको थियो। भारतमा हालसम्म १ अर्ब ८३ करोड मानिसलाई खोप लगाइएको छ भने ८० प्रतिशत वयस्क जनसंख्याले खोप पाएको छ।



Leave a Reply

Your email address will not be published.