मानिसको रगतमा समेत देखिएको माइक्रोप्लास्टिक स्वास्थ्यका लागि कति खतरनाक?

हेल्थपोस्ट नेपाल

काठमाडौं–मानिसको रगतमा पहिलोपटक माइक्रोप्लास्टिक फेला परेको छ। नेदरल्याण्डका वैज्ञानिकहरुले ०.२ इन्च (५एमएम) डायमिटरको माइक्रोप्लास्टिक फेला परेका हुन्।

वैज्ञानिकहरुले स्वस्थ २२ मानिसका रगतका नमुना लिएर तिनीहरुलाई ०.००००२ इन्च जति साना बनाएर विश्लेषण गरेका थिए। तीमध्ये १७ नमुना (७७.२ प्रतिशत) मा माइक्रोप्लास्टिक फेला परेका हुन्।

यसअघि मानिसको मस्तिस्क, आन्द्रा, वयस्क तथा नवजात शिशुको दिसामा माइक्रोप्लास्टिक फेला परे पनि रगतमा फेला परेको यो पहिलोपटक हो। अनुसन्धानकर्ता डिक भेथाकले पहिलोपटक रगतमा पोलिमरका कण पाइएको उल्लेख गर्दै निस्कर्षमा पुग्न अनुसन्धानको दायरालाई बढाउनुपर्ने बताए।

अनुसन्धानकर्ताहरुले रगतका नमुनामध्ये ५० प्रतिशतमा पोलिथाइलिन टेरेफथालेट (पीइटी) पाइएको बताए। पारदर्शी, कडा र हल्का खालको पीइटी प्लास्टिक विश्वभर खाद्य तथा पेय प्याकेजिङ गर्न प्रयोग गरिन्छ। यो खालको प्लास्टिक रगतमा सबैभन्दा बढी पाइएको छ भने ३६ प्रतिशत पोलिस्टाइरिन, २३ प्रतिशत पोलिथिलिन र ५ प्रतिशत पोलिमिथाइल मिथाक्रिलेट पाइएको छ। पोलिस्टाइरिन प्याकेजिङ र भण्डारणका लागि प्रयोग गरिन्छ भने पोलिथिलिन प्लास्टिकका झोला र ब्याग बनाउन प्रयोग हुन्छ। पोलिप्रोपिलिन प्लास्टिक भने कुनै पनि नमुनामा पाइएन।
यस्तै, अनुसन्धानकर्ताहरुले एउटै नमुनामा तीन प्रकारका प्लास्टिक पेला पारेका छन्।

के हो माइक्रोप्लास्टिक?
माइक्रोप्लास्टिक ०.२ इन्चका प्लास्टिकका साना टुक्रा हुन्। कपडा र अन्य वस्तुहरुको माइक्रोफाइबर टुटेपछि पनि माइक्रोप्लास्टिक बन्छ। यिनीहरु यति साना हुन्छन् कि नांगा आँखाले देख्न सकिँदैन।
विश्वस्वास्थ्य संगठनले ३ वर्षअघि सार्वजनिक गरेको एक रिपोर्टअनुसार माइक्रोप्लास्टिक समुद्र, फोहोर, ताजा पानी, खाना,हावा आदिमा पाइने देखिएको थियो।

इन्भाइरोमेन्टल साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित एक अध्ययनअनुसार १८ वर्ष या त्योभन्दा कम उमेरका बालबालिकाका तन्तुमा औसत माइक्रोप्लास्टिकका ८३०० कण जम्मा हुनसक्छन्, जसको तौल ६.४ नानोग्रामसम्म हुनसक्छ। जबकि ७० वर्षको उमेरसम्म औसत ५० हजार १ सय माइक्रोप्लास्टिक कण जम्मा हुनसक्छ, जसको तौल ४०.७ नानोग्रामम्म हुनसक्छ।

माइक्रोप्लास्टिक विभिन्न तरिकाबाट पानीको सम्पर्कमा पुग्छ र पानीमार्फत् सीफूड या बोटविरुवा हुँदै मानिसको सम्पर्कमा पुग्छ।

पहिलेदेखि नै फोक्साको क्यान्सर, दम, निमोनिया, फाइब्रोसिस या दीर्घकालीन रुपमा सीओपीडीजस्ता श्वासजन्य समस्याबाट पीडित बिरामीलाई माइक्रोप्लास्टिक बढी खतरनाक मानिन्छ।

माइक्रोप्लास्टिकका कणहरु कोष मृत्युको कारक बन्न सक्छन् या एलर्जीक प्रतिक्रिया दिन्छ, जसबाट सेलुलर वालमा क्षति पुर्‍याउँछ। माइक्रोप्लास्टिक श्वास या कुनै अन्य तरिकाबाट शरीरमा पुग्यो भने केही दिनमै फोक्सोको कोशिकाको मेटाबोलिजम र विकासमा असर पु¥याउँछ। यसले खासगरी श्वाससम्बन्धी समस्याबाट पीडितहरुलाई प्रभाव पार्छ।

सन् २०२१ मा भएको एक अध्ययनले माइक्रोप्लास्टिक जनावरमा आन्द्रा सुन्निने, माइक्रोबायोम र अन्य समस्याको कारण बन्न सक्छ भने मानिसमा आन्द्राको रोगबाट प्रभावित हुनसक्छ भन्ने देखाएको थियो। गत वर्ष नै भएको अध्ययनले माइक्रोप्लास्टिकले मानिसको सेल मेम्ब्रेनको कामलाई असर गर्ने पत्ता लागेको थियो।

२०१९ को उत्पादनले मानिसले थाहै नपाई हरेक वर्ष दसौं हजार प्लास्टिकका कण उपभोग गर्ने देखाएको छ। विश्व वन्यजन्तु कोषको रिपोर्टले एक मानिसले हरेक ६ महिनामा थाहै नपाई १२५ ग्राम प्लास्टिक खाने गरेको जनाएको थियो।

विश्वभर बढ्दो प्लास्टिक उत्पादन
मानिसहरु अहिले खान, पिउन र श्वास फेर्नसमेत प्लास्टिकको प्रयोग गर्छन्। विश्वभर अहिले बर्सेनि ३६ करोड ७० लाख मेट्रिक टन प्लास्टिक उत्पादन हुने गर्छ।

‘कमन सी’का प्रमुख कार्यकारी जो रोयल भन्छन्, ‘यो समुद्रको गहिराईमा छ भने सगरमाथाको टुप्पोमा पनि छ। सन् २०४० सम्ममा प्लास्टिकको उत्पादन दोब्बर हुने अनुमान छ।’

सन् १९५० को दशकयता औद्योगिक उत्पादनको प्रक्रियाद्वारा ७ करोड टन समुद्रमा खसालिएको छ। एक अध्ययनका अनुसार विश्वभर हालसम्म ५० अर्ब टन प्लास्टिकको फोहोर ल्याण्डफिल वा वातावरणमा जम्मा भइसकेका छन्। यो आँकडा आगामी तीन दशकमा दोब्बर हुने अनुमान छ। माइक्रोप्लास्टिक जमिनदेखि लिएर समुद्र र मानिसको खानासम्म पाइन्छ। अध्ययनबाट के पनि पत्ता लागेको छ भने हामीले लिने श्वासमा पनि माइक्रोप्लास्टिक पाइन्छ।



Leave a Reply

Your email address will not be published.