डेंगू के हो? कस्ता हुन्छन् यसका लक्षण?

हेल्थपोस्ट नेपाल

गर्मी मौसममा देखिने एउटा प्रमुख संक्रमण हो डेंगू। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार यो विश्वभरका १ सयभन्दा बढी मुलुकको आमसमस्या हो र करिब ३ अर्ब मानिस डेंगूप्रभावित क्षेत्रमा रहन्छन्। जसमा भारत तथा दक्षिणपूर्व एशियाको अन्य भाग चीन, अफ्रिका, ताइवान र मेक्सिको पर्छन्।

भारतको नेशनल भेक्टर वर्न डिजिज कन्ट्रोल प्रोग्रामको एक तथ्यांकअनुसार सन् २०१९ मा भारतमा मात्र ६७ हजारभन्दा बढीमा डेंगू देखिएको थियो। त्यसअघि २०१७ मा डेंगू संक्रमणले रेकर्ड बनाएको थियो। उक्त वर्ष १ लाख ८८ हजार मानिसमा देखिएको थियो, जसमा ३२५ जनाको मृत्यु भएको थियो।

के हो डेंगू?
डेंगू लामखुट्टेबाट फैलने भाइरल इन्फेक्सन या रोग हो। डेंगू हुँदा धेरै ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी एवं जोर्नीमा पीडा हुने, छाला निस्कने आदि हुन्छ। डेंगूको ज्वरोलाई हड्डी फुटाउने ज्वरो भन्ने चलन छ। एडीज जातको लामखुट्टेले टोक्दा डुंगू हुन्छ। यो संक्रमण फ्लेभिभिरिडे परिवारको एक भाइरसको सेरोटाइप डीइएनभी १, डीइएनभी २, डीइएनभी ३ र डीइएनभी ४ का कारण हुन्छ।

यद्यपि यो भाइरस मानिसको शरीरमा १० दिनभन्दा बढी जीवित रहन सक्दैन। जब डेंगूको संक्रमणले गम्भीर रुप लिन्छ, डेंगू रक्तस्रावी ज्वरो (डेंगू हेमोरेजिक फिभर) हुने खतरा हुन्छ। यसमा धेरै रगत बग्ने, रक्तचापमा अचानक गिरावट आउने र बिरामीको मृत्युसम्म हुने सम्भावना हुन्छ। यसलाई डेंगू शक सिन्ड्रोम पनि भनिछ ।

यस्तो अवस्थामा बिरामीलाई तत्काल अस्पताल लैजानुपर्छ। नभए बिरामीको ज्यान पनि जान सक्छ। डेंगूको कुनै विशेष खालको उपचार छैन। मात्र यसको लक्षण चिनेर नियन्त्रण गर्न सकिन्छ।

लक्षण
डेंगू हल्का या गम्भीर दुवै खालको हुनसक्छ। यसको लक्षण पनि अलग–अलग देखिन सक्छ। खासगरी बालबालिका र किशोरहरुमा माइल्ड डेंगू हुँदा कैयौंपटक लक्षण देखिँदैन। संक्रमित भएपछि डेंगूको हल्का लक्षण चारदेखि सात दिनभित्र देखिन्छ। यस्ता लक्षण निम्न छन्ः

ज्वरो १०४ सम्म आउने

टाउको दुख्ने

मांसपेशी, हड्डी र जोर्नीमा दुखाई

बान्ता आउने, जिउ दुख्ने

आँखामा पीडा हुने

छालमा रातो धब्बा देखिने

गम्भीर अवस्थामा रक्तस्रावी ज्वरो या डीएचअफ हुने खतरा रहन्छ। यो स्थितिमा रक्तनली क्षतिग्रस्त हुन्छ र रगतमा प्लेटलेट कमी हुन्छ। यो स्थितिमा निम्न लक्षण देखिन्छः

तीव्र पेट दुखाई

लगातार बान्ता हुनु

नाकबाट रगत बग्नु

पिसाब, दिसा र बान्तामा रगत देखिनु

चोटजस्तै गरी छालामुनि रक्तस्राव हुनु

श्वास फेर्न गार्‍हो हुनु

थकान महसुस गर्नु

चिडचिडापन र बेचैनी हुनु

डेंगूको जोखिम कारक
डेंगूबाट संक्रमित हुने जोखिम बढाउने विभिन्न कारकतत्व हुन्छन्।

डेगूप्रभावित क्षेत्रमा रहनु

पहिले डेंगू संक्रमण हुनु

रोगप्रतिरोधी क्षमता कमजोर हुनु्–यसमा ज्येष्ठनागरिक, मधुमेह, फोक्सो र मुटु रोगबाट पीडित व्यक्ति पर्छन्।

कम प्लेटलेट भएका व्यक्ति

डेंगूको संक्रमणले फोक्सो, कलेजो रमुटुलाई प्रभावित गर्न सक्छ। रक्तचाप कम हुन्छ। बढी गम्भीर हुँदै जाँदा घातक पनि हुन्छ।

निदान
पूर्ण रक्तगणना या कम्प्लीट ब्लड काउन्ट, डेंगू एलिसा परीक्षण, पीसीआर टेस्ट, सिरम आइजीजी र आइजीएम टेस्टबाट डेंगू भए नभएको पत्ता लगाउन सकिन्छ।

उपचार
डेंगूको कुनै खास औषधि उपलब्ध छैन। चिकित्सकले ज्वरो र दुखाई नियन्त्रित गर्न पेनकिलर दिनसक्छन्। शरीर हाइड्रेट राखेर पनि नियन्त्रण गर्नसकिन्छ। यस्तोमा पर्याप्तमात्रामा स्वच्छ पानी पिउनुपर्छ। गम्भीर लक्षण देखिँदा अस्पतालमा भर्ना गर्नुपर्छ। गम्भीर बिरामीलाई नसाबाट इन्ट्राभेनस फ्लुड या इलेक्ट्रोलाइट्स सप्लीमेन्ट दिइन्छ। केही अवस्थामा ब्लड प्रेसर मनिटरिङ या ब्लड ट्रान्सफ्युजनमार्फत पनि उपचार गरिन्छ।

तर, आफैं एस्पिरिन या इबुप्रोफेनजस्ता औषधि भुलेर पनि खानु हुँदैन। किनभने यस्तोले रक्तस्रावको जोखिम बढाउँछ।

त्यसैले डेंगूबाट बँच्नः

घरवरिपरी पानी जम्मा हुन दिनुहुन्न। कुलरको पानी परिवर्तन गरिरहनुपर्छ। पानीलाई सधैं ढाक्नुपर्छ। किनकि, यस्ता स्थानमा लामखुट्टेले अण्डा पार्छन्।

यदि कुनै खुला जलस्रोत छन् र तिनलाई हटाउन सकिँदैन भने कि त ढाक्नुपर्छ या उपयुक्त कीटनाशक औषधि छर्कनुपर्छ।

डिस्क्लेमरः स्वास्थ्यसम्बन्धी कुनै समस्या भए सम्बन्धित चिकित्सकको सहयोग तथा परामर्श लिनुहोला।

 



Leave a Reply

Your email address will not be published.