युवा अवस्थामा किन हुन्छ हृदयघात?

पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन, पूर्व भारतीय क्रिकेट कप्तान सौरभ गांगुली र भारतीय हाँस्य अभिनेता सुनील ग्रोवरमा के समानता छ ?

उनीहरु सबै हार्ट अट्याक भएर पनि समयमै उपचार पाएर बाँच्न सफल केही भाग्यशाली मान्छेमा पर्छन्। तर हार्ट अट्याक भएर समयमा उपचार नपाउने र पाए पनि ज्यान जोगाउन नसक्नेको संख्या धेरै छ। विगत वर्षका समाचार मात्र नियाले ४० देखि ५० बर्षमुनि हार्ट अट्याकले ज्यान गुमाउने प्रख्यात सेलिब्रिटिहरुमा भारतीय टेलिफिल्म अभिनेता सिद्धार्थ शुक्ला , दक्षिण भारतीय सुपरस्टार पुनीत राजकुमार र न्यूज़ एंकर रोहित सरदाना केही उदाहरणमात्र हुन्। यस पंक्तिमा अस्ट्रेलियाका प्रख्यात पूर्व क्रिकेट स्टार सेन वार्न पनि परेका छन्।

शारीरिक रूपमा स्वस्थ युवामा किन हुन्छ हृदयघात ?

शारीरिक रूपले हेर्दा फिट र स्वस्थ व्यक्तिलाई पनि कसरी यस्तो हुँदो रहेछ भनेर धेरैलाई जिज्ञासा लाग्छ। मुटु रोग कुनै पनि उमेर, लिंग, र शारीरिक बनावट भएका ब्यक्तिमा हुन सक्छ तर विगतमा ५०-६० बर्षको उमेरमा हुने हार्ट अटक अचेल ३०-४० बर्षको उमेरमा बढ़ी देखिन थालेको छ। शारीरिक रूपले हृस्टपुष्ट तथा मुटु रोगको कुनै पारिवारिक हिस्ट्री नभएको युवाहरुमा पनि यस्तो हुनुको पछाडी विभिन्न जोखिम कारकहरु छन्। सामान्यतय: भन्दा युवाहरुमा मुटु रोगको यी महत्वपूर्ण कारकहरू हुन् :

१. उच्च रक्तचाप

२. मधुमेह

३. हाई कोलेस्ट्रोल

४. चुरोट तथा सुर्ती सेवन

५. अस्वस्थ जीवन शैली

६. वंशाणुगत कारणहरू

युवाहरुमा मुटु रोग देखिनुमा माथिका ४ र ५ मुख्य कारण पाइएको छ। माथिका १,२ र ३ नम्बरका जोखिमलाई नियमित परीक्षण र औषधि सेवनले सजिलै नियन्त्रण गर्न सकिए पनि युवा वर्गमा नियन्त्रण सचेतनाको कमि अथवा नियमित परीक्षण नगराउने नेपाली बानीले गर्दा युवा वर्गमा मुटु रोगको समस्या बिकराल रूपले बढेको पाइएको छ।

मुख्यत: चुरोट र अत्याधिक मदिरा सेवन सहरी युवामा मुटुको विभिन्न समस्याको मूल कारक हुन। विभिन्न शोधहरुले दैनिक एउटा चुरोट सेवनले पनि हार्ट अट्याक तथा हाई ब्लड प्रेशरको जोखिम धेरै बढाउने देखाएको छ।

उच्च कोलेस्ट्रोल हृदयघातको एक प्रमुख कारण हो। मुख्यत: एलडिएल वा  खराब काेलेस्टाेरेल ले मुटुको रक्तनलीलाई साँघुरो बनाउँछ र हृदयघातको सम्भावना बढाउँछ । सन्तुलित आहार र शारीरिक व्यायामले एलडीएल स्तर घटाउँछ र हृदयघातको जोखिम पनि कम गर्छ।

सहरी ब्यस्त जीवनशैली, अत्याधिक मानसिक तनाव, अस्वस्थ खानपिन र शरीरिक रूपमा ब्यायामको कमि सहरी युवाहरुमा कम उमेरमा नै मुटु रोगका प्रमुख कारण देखिएका छन। एउटा स्वस्थ व्यक्तिले हप्ताको पाँच दिन ३० मिनेट ब्यायाम अथवा सामान्य गतिमा ३० मिनेट हिड्नु आवश्यक हुन्छ। तर ब्यस्तताले गर्दा अथवा स्वास्थ्यप्रति गम्भीर नहुँदा २४ घण्टामा दैनिक आधि घण्टा पनि आफ्नो स्वास्थ र भविष्यको लागि निकाल्न युवाहरुमा गार्हो हुने गरेको छ।

खानपिनमा धेरै जस्तो घर बाहिरको अस्वस्थ खाने बानीले यो समस्याले झन् विकराल रूप लिएको पाइएको छ। यसले प्रेशर, कोलेस्ट्रोल बढाउनको साथै अत्याधिक तौल बढाएर मुटु तथा मस्तिस्कको अट्याकको (Stroke) जोखिम पनि धेरै बढाउने गर्दछ। समान्यत: खानाको एक भागमा फलफुलको सेवनले रक्तचाप, कोलेस्ट्रोल तथा भविष्यमा हुन सक्ने हार्ट अट्याकको जोखिम धेरै हद सम्म कम गर्ने देखाएको छ। त्यसै गरी माछा मासु खानेहरुले अत्याधिक राताेमासु को सेवन पनि कम गर्नु पर्ने देखिन्छ। राताे मासुले दीर्घकालीन रूपमा उच्च रक्तचाप, कोलेस्ट्रोलको समस्या बढाउने गर्दछ।

युवावस्थामा मुटु रोगबाट कसरी बच्ने ?

चुरोट, सुर्ती र मदिरा को अम्मल  नगर्ने

स्वस्थ जीवनशैली र व्यायाम गर्ने बानी अपनाउने

राताे मासुकाे सेवन कम गर्ने

रक्तचाप सुगर, कोलेस्ट्रोलको समयमै सही उपचार गराउने

समय-समयमा नियमित स्वास्थ्य परीक्षण गर्ने

एमबीबीएस, एमडी, डीएम कार्डियाेलाेजी (एम्स)/ सामग्री स्राेत-नेशनल कार्डियाक सेन्टर



Leave a Reply

Your email address will not be published.