गर्मी मौसममा हुनसक्छ फूड प्वाइजनिङको समस्या, के हुन् कारण, कसरी बँच्ने?

हेल्थपोस्ट नेपाल

काठमाडौं–सामान्यतः मौसम परिवर्तन र तापमान वृद्धिका कारण गर्मी मौसममा फूड प्वाइजनिङको समस्या बढ्छ। किनभने, यो बेला खाना चाँडै बिग्रन्छ। त्यस्तो खाना खाँदा फूड प्वाइजनिङ हुन्छ। कमजोर प्रतिरोधी क्षमता भएका समूह, बालबालिका र ज्येष्ठ नागरिकमा यस्तो समस्या बढी देखिन्छ।

फूड प्वाइजनिङ पेटसँग सम्बन्धित एक संक्रमण हो, जो ब्याक्टेरिया, भाइरस या अन्य परजीवीका कारण हुनसक्छ। यिनीहरु खाना या पानीका साथ पेटमा जान्छन्, जसका कारण पेट दुख्ने, वान्ता आउने, पखाला लाग्नेजस्ता समस्या देखिन्छन्।

खानाका साथै प्रदूषित पानी र अन्य खालका पेय पदार्थले पनि फूड प्वाइजनिङ हुन्छ।

फूड प्वाइजनिङका यी ब्याक्टेरिया प्रमुख कारक हुन्छन्ः
इ कोलाई
साल्मोनेला
लिस्टेरिया
ट्राइकिनोसिस
स्टेफिलोकोकस

इ कोलाई– इ कोलाई या एस्चेरिचिया कोलाई एक जीवाण हो,जो सधैं मानिस र जनावरको पाचनप्रणालीमा रहन्छ। शरीरभित्रै रहने यो जीवाणु मानिसका लागि हानिकारक होइन। तर जब यो जीवाणु बाहिरबाट प्रवेश गर्छ, यसले मानिसको ज्यान पनि लिनसक्छ। खासगरी यो दूषित पानी, पशु तथा मानव मलको सम्पर्कमा आउँदा शरीरभित्र प्रवेश गर्छ। झिंगाले यो जीवाणु बढी फैलाउँछ, जसबाट गम्भीर खालका फूड प्वाइजनिङ हुनसक्छ।

साल्मोनेला–साल्मोनेला संक्रमण एक सामान्य जीवाणु हो, जसले पाचन प्रणालीको आन्द्राको मार्गलाई प्रभावित पार्छ। साल्मोनेला ब्याक्टेरिया पनि जनावर र मानिसको आन्द्रामा पहिलेदेखि नै रहन्छ र दिसामार्फत् शरीरबाट बाहिर निस्कन्छ। तर जब दूषित पानी या खानाका माध्यमबाट पुनः पेटमा पुग्छ, यसबाट गम्भीर संक्रमण हुन्छ। साना बालबालिका, ज्येष्ठ नागरिक र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरु साल्मोनेला ब्याक्टेरियाका लागि अतिसंवेदनशील हुन्छन्।

सामान्य रुपमा साल्मोनेला संक्रमण भएका मानिसमा कुनै लक्षण देखिँदैन। तर गम्भीर अवस्थामा पुग्दा ७२ घण्टाभित्र ज्वरो आउने, पखाल लाग्नेजस्ता समस्या देखिन्छन्। अधिकांश स्वस्थ मानिसहरु उपचारविना नै केहीदिनभित्रै निको हुन्छन्। संक्रमण आन्द्रामा फैलिएमा र समयमा उपचार नगरेमा रोगीको मृत्यु पनि हुनसक्छ।

लिस्टेरिया–लिस्टेरिया मोनोसाइटोजेन्स ब्याक्टेरिया हो, जो तीव्र रुपमा फूड प्वाइजनिङको कारण बन्छ। यो जीवाणुबाट संक्रमित भएमा ज्वरो आउने, मांसपेशी दुख्ने र पखाला लाग्नेजस्ता समस्या हुनसक्छन्। गम्भीर संक्रमण हुँदा टाउको दुख्ने, ज्वरो आउने, कन्भल्सन्स र मृत्युसमेत हुनसक्छ।

लिस्टेरिया ब्याक्टेरिया माटो, पानी, धुलो, जनावरको दिसाजस्ता पदार्थमा रहन्छ। लिस्टेरिया संक्रमणबाट स्वस्थ मानिसहरु कम बिरामी पर्छन्। तर गर्भवती, बालबालिका र वृद्धवृद्धालाई यसले असर पार्छ।

ट्राइकिनोसिस–यो एक राउन्डवर्म जीवाणु हो। यो मासु खाने जनावरमा पाइन्छ। सुँगुर, कुखुरा, भालु, जंगली सुँगुरजस्ता जनावरमा पाइन्छ। यदि यी जनावरका काँचो मासु खाएमा यो जीवाणु मानिसको शरीरमा प्रवेश गर्छ। यो जीवाणु पूर्ण विकसित या अण्डाका रुपमा शरीरमा प्रवेश गर्छ र आन्द्रामा रहेर विकसित हुन्छ, जसबाट मानिसमा कैयौं गम्भीर समस्या देखा पर्छ।

स्टेफिलोकोकस–स्टेफिलोकोकस ओरियस एक प्रकारको जीवाणु हो, जो करिब ३० प्रतिशत मानिस र जनावरको नाकभित्र र मानिसको छालामा हुन्छ। यो खाना या पानीका साथ पेटमा पुग्छ र १ देखि ६ घण्टाभित्र शारीरिक समस्या निम्त्याउँछ र आफैं दुईदेखि ३ दिनमा ठीक पनि हुन्छ। तर यो संक्रमण अरु व्यक्तिमा फैलने सम्भावना कम हुन्छ। यसका कारण मानिसमा फूड प्वाइजनिङका अलावा पेट पोल्ने, फुल्ने र छालासम्बन्धी समस्या हुनसक्छ।

फूड प्वाइजनिङका लक्षण
पेट दुख्ने
पखाला लाग्ने
भोक नलाग्ने
दिसामा रगत आउने
हातखुट्टा चिसा हुने र ज्वरो आउने
लगातार टाउको दुख्ने
वान्ता हुने
कमजोरी

यसका अतिरिक्त फूड प्वाइजनिङ गम्भीर हुँदा निम्न समस्या पनि देखिनसक्छन्ः
मुख सुक्नु
शरीर सुख्खा हुनु
पिसाबमा रगत आउनु, कम पिसाब आउनु या नआउनु
पेटमा एसिडको मात्रा बढ्नु
हेर्न र सुन्न नसक्नु
३ दिनभन्दा बढी पखाला लाग्नु
१०२ भन्दा बढी ज्वरो आउनु
पेट बेस्सरी दुख्नु

गम्भीर खालको फूड प्वाइजनिङ हुनुका विभिन्न कारण हुनसक्छन्। विशेषगरी ब्याक्टेरिया, परजीवी र भाइरसका कारण हुनसक्छ। माथि उल्लेख गरिएका ब्याक्टेरियाका कारण हुने समस्या हुन् भने परजीवी र भाइरसका कारण पनि फूड प्वाइजनिङ हुनसक्छन्।

परजीवी (प्यारासाइट्स)- फूड प्वाइजनिङ परजीवीका कारण पनि हुनसक्छ। यद्यपि यो दुर्लभ मानिन्छ। विशेषगरी दूषित पानी र दूषित खानाका माध्यमबाट परजीवी पाचन प्रणालीमा पुग्छ, जसबाट विभिन्न समस्या देखिन थाल्छ। यदि फल र तरकारी राम्ररी धोइएन भने यस खालको फूड प्वाइजनिङ हुने समस्या हुन्छ।

भाइरस- भाइरसका कारण पनि फूड प्वाइजनिङ हुनसक्छ। रोटाभाइरस, एस्ट्रोभाइरस र हेपाटाइटिस ए भाइरस फूड प्वाइजनिङ गराउने मुख्य भाइरस हुन्। परजीवीजस्तै यसका कारण फूड प्वाइजनिङ दुर्लभ कारण हुन्छ।

यसका अतिरिक्त फूड प्वाइजनिङ हुने सामान्य कारणः
ठीकसँग सफाइ नगरिएको भाँडा प्रयोग गर्दा
खराब दुग्ध उत्पादनका कारण
समुद्री आहार खाँदा
हात नधोई खाना बनाउँदा या खाँदा
प्रदूषित पानी
तरकारी र या फल राम्ररी नधोई प्रयोग गर्दा
काँचो मासु खाँदा
वंशानुगत कारण
कमजोर पाचनप्रणाली

समाधानका उपाय
फूड प्वाइजनिङले गर्दा शरीरमा पानीको कमी हुने भएकाले सादा पानीको साटो समय–समयमा ओएसआर लिनुपर्छ।
मसालेदार खाना फूड प्वाइजनिङको कारक बन्ने भएकाले सादा खानामा जोड दिनुपर्छ। दाल, रोटी, सादा तरकारी समावेश गर्न सकिन्छ।
दही र मोहीको प्रयोगले पेटमा पानीको कमी कम हुन्छ।
सरसफाईमा ध्यान दिनुपर्छ

डिस्क्लेमरः कुनै स्वास्थ्य समस्या देखिएमा सम्बन्धित चिकित्सक या विशेषज्ञको परामर्श /सहयोग लिनुहोला



Leave a Reply

Your email address will not be published.