पारासिटामोलको एमजी बढाउन औषधि सल्लाहकार समितिको बैठक बस्दै, उपभोक्ता अधिकारकर्मीको विरोध

हेल्थपोस्ट नेपाल

काठमाडौं–केही औषधि उत्पादकको दबाबमा सरकारले पारासिटामोलको तौल बढाउन लागेको भन्दै उपभोक्ता अधिकारवादीले विरोध जनाएका छन्। आज अपरान्ह स्वास्थ्य मन्त्रालयमा औषधि सल्लाहकार समितिको बैठक बस्दैछ। बैठकको मूल एजेन्डा ५ सय एमजीमा उत्पादन हुँदै आएको पारासिटामोल ६५० एमजीमा उत्पादनका लागि अनुमति दिने रहेको बताइएको छ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाले केही औषधि उत्पादकको दबाबमा ६५० एमजीको पारासिटामोल उत्पादन गर्न अनुमति दिने गरी बैठक बस्न लागेको उल्लेख गर्दै भने, ‘मन्त्रीजी भनिदिनुस्, म यसैका लागि मन्त्री भएको हुँ भनेर।’

जीवनरक्षक औषधिका रुपमा लिइने पारासिटामोल ५० वर्षदेखि ५०० एमजीमा उत्पादन र आयात हुँदै आएको छ। अहिले नेपालका औषधि उत्पादकहरुको दबाबमा यसको आयात प्रतिबन्धजस्तै छ। यसको मूल्य प्रति ट्याब्लेट १ रुपैयाँ कायम हुने गरी राजपत्रमा सूचना प्रकाशित भएको छ।

लामो समयदेखि यो मूल्यवृद्धि गर्न उत्पादकहरु प्रयासरत रहे पनि सफल नभएपछि मन्त्रीसँग नै मिलेमतो गरी एमजी नै परिवर्तन गरी आफूखुसी मूल्य तोक्ने नयाँ बाटो उपयोग गरेको बानियाको आरोप छ।

उनका अनुसार क्लिनिकल ट्रायल नगरी नयाँ एमजीको औषधि उत्पादन र बिक्री गर्न पाइँदैन। अहिलेसम्म ६५० एमजीको पारासिटामोलको क्लिनिक परीक्षण भएको छैन। बानियाले भनेका छन्, ‘मन्त्रीको निर्देशक र औषधि उत्पादकको दबाबमा पारासिटामोल ६५० एमजी उत्पादन गर्न अनुमति निर्णय भए मूल्यबाट उपभोक्ता लुटको अनुमति दिनुमात्रै होइन, बढी मात्राको पारासिटामोल औषधिबाट उपभोक्तामा हुने प्रतिअसर एडीआरबाट नेपाली उपभोक्तामा महामारी ल्याइदिनुसर हो।’

उनले सीमित उत्पादकले बढी मूल्य लिन पाउने स्वार्थमा यस्तो गलत, अनुचित, उपभोक्ताको जीवनमाथि हुने गम्भीर खेलबाड, दीर्घकालीन प्रभाव पार्ने निर्णयर देखादेखी नीतिगत भ्रष्टाचार गर्न कसरी उचित होला र भन्दै प्रश्नगरेका छन्।

 



Leave a Reply

Your email address will not be published.