नर्भिकको सहुलियत : निःशुल्क ओपिडीदेखि शल्यक्रियासम्म छुट

काठमाडौं – विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान सञ्चालन गर्दै आएको नर्भिक अस्पतालले आगामी शनिबार विशेष सेवा दिने भएको छ।
नर्भिक अस्पतालमा अरु बेला २ घण्टा मात्र निःशुल्क ओपिडी हुने गरेकोमा आगामी शनिवार अर्थात चैत १२ गते भने ४ घण्टा सो सेवा सञ्चालन हुनेछ। चैत १२ गते नर्भिकको दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ। यो दिन दुईवटा टिमले निःशुल्क सेवा दिनेछ।
बिहान ९:३० बजेदेखि ११:३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा दिनेछ।
मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन्। निःशुल्क ओपिडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
नर्भिकमा हाल सानो प्वाल बनाइ मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाइ मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाइ मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधिसमेत उपलब्ध छ।
यस्तै, दूरविनको माध्यमबाट घाउ बनाइकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ।
यसैबीच, शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म यूरोलोजी विशेषज्ञको अर्को टिमले पनि निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ। यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको अर्को टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षितगरि निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो टिमले गर्नेछ। शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्सएप वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधासमेत उपलब्ध छ।
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान केही साताअघिदेखि पुनः सुरु भएको छ।