क्षयरोगको उपचार यसरी प्रभावित पार्‍यो कोभिडले

काठमाडौं–कोभिड महामारीअघि क्षयरोग विश्वकै सबैभन्दा अग्रपंक्तिको संक्रामक रोग थियो। सन् २०१९ मामात्रै क्षयरोगका १ करोड नयाँ बिरामी फेला परेका थिए भने १५ लाख मानिसको मृत्यु भएको थियो। क्षयरोगको यो महामारीलाई नियन्त्रण गर्न विश्वभर भएका प्रयास अझ तीव्र हुँदै थिए।

सन् २०१५ को तुलनामा नयाँ संक्रमणलाई ८० प्रतिशत र यसबाट हुने मृत्युलाई ९० प्रतिशत घटाउने लक्ष्य सन् २०२० सम्ममा पूरा गर्ने दिशामा ७८ मुलुक अघि बढिरहेका थिए। तर कोरोना महामारीका कारण २०२० को सुरुवातबाटै विश्वव्यापी लकडाउनका कारण स्वास्थ्य सेवा प्रणालीका हरेक तहमा क्षयरोगको उपचार सेवा प्रभावित बन्यो।

ग्लोबल फण्डले एशिया र अफ्रिकाका ५०२ स्वास्थ्य संस्थाबाट संकलन गरेको रिपोर्टअनुसार २०२० को दोस्रो र तेस्रो त्रैमासिकमा २०१९ को सोहीअवधिको तुलनामा ‘टीबी रेफरल’ ५९ प्रतिशतले घटेको पाइयो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्च २०२१ को तथ्यांकले ८४ मुलुकमा क्षयरोगको उपचार सेवा पाइरहेकाहरुको संख्यामा १४ लाख कमी आएको पाइयो। जुन २०१९ को तुलनामा २१ प्रतिशतले कमी हो।

कोभिडका कारण क्षयरोग नियन्त्रणका लागि विगतमा भएका प्रयास करिब १० वर्ष पछाडि धकेलिएको डब्लुएचओको भनाइ छ। डब्लुएचओका अनुसार सन् २०१७ र २०१९ को बीच विश्व्यापी रुपमा क्षयरोगका बिरामी थपिने क्रम निकै बढेको थियो। तर २०१९ र २०२० को बीच यो संख्यामा १८ प्रतिशतले कमी आई ७१ लाखबाट घटेर ५८ लाख भयो। यहीकारण सन् २०१८ र २०२२ को बीच क्षयरोग पहिचान भएका ४ करोड मानिसको उपचार गर्ने राष्ट्रसंघ उच्चस्तरीय बैठकले घोषणा गरेको लक्ष्यमा पनि असर पर्‍यो।

यस्तै, कोरोना अवधिमा दक्षिणपूर्वी एशिया र पश्चिमी प्रशान्त क्षेत्रमा क्षयरोग पहिचानको दरमा निकै कमी आयो। २०१९ र २०२० को बीच विश्वव्यापी रुपमा आएको कमीमा यी दुई क्षेत्रको हिस्सा ८४ प्रतिशत रह्यो।

यस्तै, कोरोनाका कारण भएको क्षयरोगको उपचार अवरोधका कारण आगामी ५ वर्षमा क्षयरोगबाट हुने मृत्युमा २० प्रतिशतले वृद्धि हुने ‘होगान एट अल’ ले अनुमान गरेको छ। सेप्टेम्बर ८, २०२१ मा लान्सेट जर्नलमा प्रकाशित एक रिपोर्टमा पनि कोभिडका कारण एचआइभी, क्षयरोग र मलेरिया नियन्त्रण प्रभावित भएको उल्लेख गरेको थियो।

के छ नेपालको स्थिति?
नेपालमा २०७६ चैतबाट देशव्यापी रुपमा लामो लकडाउन भयो। यसको असर नियमित रुपमा औषधि खाने क्षयरोगका बिरामीलाई त प¥यो नै, शंकास्पद बिरामीले पनि स्वास्थ्य संस्थासम्म गएर खकार जाँच गर्न पाएनन्। यसले गर्दा रोग पहिचान दर घट्यो। त्यसको अर्को असर पनि पर्‍यो। संक्रमित बिरामी समाजमै विनाउपचार बसिरहँदा अरु मानिसलाई पनि सर्ने सम्भावना बढ्यो।

‘यो समस्या समाधानका लागि हामीले प्रयास गर्‍यौं, हाम्रा जनशक्ति परिचालन गरेर हाइ रिस्क ग्रुप पहिचान गर्‍यौं र सम्बन्धित ठाउँमै गएर १ लाख ८२ हजार मानिसको खकार जाँच गर्‍यौं, जसमध्ये १२ सय जति थप बिरामी पहिचान गर्न सक्यौं,’ राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले भने।

उनका अनुसार बिरामीले औषधि नियमित पाएनन् भने जटीलता आउने सम्भावनालाई दृष्टिगत गर्दै क्षयरोग केन्द्रले नेपालभर ५५०० डट्स केन्द्रमा नियमित रुपमा औषधि आपूर्ति गर्‍यो र बिरामीले औषधि सेवन सहज बनाउन ‘फेमिली डट’ कार्यक्रम पनि सुरु गर्‍यो।

‘हामीले ती डट्स केन्द्रमा थप ४ महिनाका लागि औषधि पठाइदियौं र परिवारको निगरानीमा खानेगरी ७–७ दिनको औषधि दियौं, यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई १ महिनाको औषधि पठाइदिएर उनीहरुमार्फत् बिरामीलाई ७–७ दिनका लागि दिने गरी वितरण गरियो,’ डा ठाकुरले भने, ‘यसले गर्दा उपचारमा रहेकाहरुको उपचार अनियमित हुन पाएन।’

कोरोनाका बेला शंकास्पद बिरामीले खकार परीक्षणमा सहज पहुँच नपाउँदा नयाँ पहिचान दर भने घटेको उनको भनाइ छ। तर, केही बढी प्रभावित क्षेत्रमा गरेको परीक्षणबाट १२ सय बिरामी पहिचान गर्न सकेको उनको भनाई छ। यो अभियानलाई देशभरि नै लैजान आवश्यक भए पनि सीमित जनशक्ति र बजेटका कारण त्यसो गर्न नसकिएको उनले बताए।

उनले अबका दिनमा परिवार तथा समुदायमा आधारित डट रणनीतिमा अघि बढ्ने तयारी भइरहेको बताए। ‘कोरोनाकालमा परिवारको निगरानीमा औषधि खाँदा प्रभावकारी भएको निस्कर्षसहित सामुदायिक स्वास्थ्य स्वयंसेविका वा परिवारको निगरानीमा दिने डट कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउँदैछौं,’ उनले भने, ‘यसो भयो भने बिरामीको उपचार अनियमित हुने सम्भावना हुँदैन र औषधि २४ सै घण्टा उपलब्ध हुन्छ।’

के छ नेपालमा क्षयरोगको स्थिति?
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा ठाकुरका अनुसार गत असार मसान्तसम्मको तथ्यांकअनुसार अनुसार नेपालमा वार्षिक रुपमा ६९ हजार बिरामी थपिने गरेकोमा २८ हजार सम्पर्कमा आएका छन् भने बाँकी ४० हजार स्वास्थ्य प्रणालीको सम्पर्कबाहिर छन्। नेपालमा नयाँ र पूराना गरी १ लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन्।

आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक सम्पन्न प्रिभालेन्स सर्वेक्षणको रिपोर्टअनुसार करिब ६० प्रतिशत सम्भावित क्षयरोगप्रभावित व्यक्तिको रोग पत्ता लगाई उपचारको दायरामा ल्याउनु राष्ट्रिय क्षयरोग कार्यक्रमलाई चुनौतीको रुपमा रहेको स्वास्थ्य सचिव डा रोशन पोखरेलको भनाइ छ। यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय रणनीतिक योजना (२०७८/७९–२०८२/८३) कार्यान्वयनमा ल्याएको छ।

डा ठाकुरका अनुसार उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेका छन्। तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका छन्।

सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ। क्षयरोग नियमित उपचारले निको हुने गर्दछ। औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० छन्। यो संख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ। आव २०७७र७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो। तीमध्ये ४१८ जनाले उपचार गराइरहेका छन्।

 



Leave a Reply

Your email address will not be published.