बालबालिकालाई लगाउन भारतमा ‘नोभाभ्याक्स’ ले पायो अनुमति

काठमाडौं–भारतमा बालबालिकाका लागि प्रयोग गरिने थप अर्को कोरोना खोपले स्वीकृति पाएको छ। १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि प्रयोग गरिने नोभाभ्याक्स खोपलाई नियामक निकायले स्वीकृति दिएको हो।
नोभाभ्याक्स र सिरम इन्सिच्युट अफ इण्डियाले यो खबरको आधिकारिक रुपमा पुष्टि गरेका हुन्। नोभाभ्याक्सलाई ‘एनभीएक्स–कोभ २३७३’ नामले पनि चिनिन्छ। यसको उत्पादन भारतमा सिरम इन्सिच्युटले गर्नेछ। यसलाई बजारमा कोभोभ्याक्स नामले उपलब्ध गराइने जनाइएको छ।
यो खोप भारतमा १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि उपलब्ध हुने पहिलो प्रोटिनमा आधारित कोभिड खोप भएको जनाइएको छ। भारतीय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डियाद्वारा दिइएको यो अनुमतिपछि नोभाभ्याक्स कम्पनीका सिइओ स्टेनली सी एर्क र सिरम इन्सिच्युटअफ इण्डियाका सिइओ अदार पूनावालाले यो निर्णयबाट आफूहरु खुसी भएको प्रतिक्रिया दिएका छन्।
भारतमा बालबालिकाका लागि स्वीकृति पाउने यो चौथो खोप हो। हाल बायोलोजिकल इको कोर्बोभ्यास, जाइडस क्याडिलाको जाइकोभ–डी र भारत बायोटेकको कोभ्याक्सिन बालबालिकामा प्रयोग हुँदै आएको छ।