चीनले पैसा दिए चाँडै बन्नेछ दुवाकोटमा नयाँ ‘वीर’ अस्पताल, नत्र कहिले-कहिले!

६ वर्षअघि भक्तपुरका दुवाकोटवासीलाई सरकारले एउटा सपना दिएको थियो- दुवाकोटको रमणीय काखमा देशकै जेठो ‘वीर’ अस्पतालको तन्नेरी रूप दिने। साँघुरिइरहेको काठमाडौंको मूलबाटोमा उभिएको ‘वीर’ आफैमा खुम्चिरहेको छ। र, सरकारले त्यसलाई दुवाकोटको फाँटमा सार्ने निर्णय गरेको थियो।

वीर अस्पताललाई आफ्नै आँगनमा राख्नका लागि दुवाकोटवासीले करिब ५७० रोपनी जमिन पनि सरकारलाई दिइसके। अहिलेसम्म त्यहाँ ‘वीर’ ठड्याउने कुनै सुरसारै छैन। हरेक सरकारले देशको एउटा ठूलो परियोजनालाई कागजी नारामात्रै बनाएका छन्। त्यसको नाउँमा हरेक वर्ष छुट्टिने पचासौं करोड त्यत्तिकै फ्रिज हुन्छ।

त्यसपछि बनेका हरेक स्वास्थ्यमन्त्री चाँगुनारायण नगरपालिका-१ र ४मा फैलिएको त्यो जमिन हेर्न जान्छन्। स्थानीयले फूलमाला लगाइदिन्छन्। अनि मन्त्रीहरू भन्छन्- अब यहाँ अस्पताल बनाउने काम चाँडै सुरू हुन्छ। तर यो ‘चाँडै’ भनेको पनि छ वर्ष बितिसकेको छ।

सरकारले २०७२ सालदेखि नै वीरलाई सार्ने सुरसार गरिरहेको थियो। काठमाडौं उपत्यकाभित्र त्यसका लागि जग्गा खोजिरहेको थियो। बलौटे थुम्काहरूले भरिएको दुवाकोटको त्यो वेसी स्थानीयले आफ्ना गाईवस्तु चराउने ‘गौचरण’ हो। सरकारले त्यो जमिन मागेपछि कसैले पनि एक शब्द विरोध नगरी ५७० रोपनी जमिन वीर अस्पतालका लागि दिए।

तर हरेक पल्ट सरकारले त्यहाँ ‘वीर’ अस्पताल बनाउन भनेर कहिले माटो जाँच गर्‌यो। कहिले जमिनको नापजोख अनि कहिले त्यहाँ ‘क्लिनिक’सम्म भए पनि चलाउने भन्यो।

सरकारले अहिलेको वीरलाई त्यहाँ नयाँ भवनहरू बनाएर सार्नका लागि ‘राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान’(न्याम्स)लाई जिम्मेवारी दिएको छ। वीरको दायित्त्व उसकै काँधमा छ।

यो करिब ३० अर्ब लगानीमा बन्नेछ। करिब १ हजार ५ सय वेड हुनेछन्। त्यसपछि अहिलेको वीर अस्पताल उसकै एउटा सामान्य ‘शाखा’जस्तो हुनेछ।

सरकारको यो परियोजनाअनुसार वि.सं. १९४७ वीर समशेरले स्थापना गरेको यो अस्पतालले अब पूरै काँचुली फेर्नेछ। खुला जमिनमा फैलिनेछ र नागरिकलाई अझ विस्तारित र अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिनेछ।

यो पैसा कसरी जुटाउँछ सरकार?

नयाँ वीर बन्ने ‘जमिन हेर्ने’ मन्त्रीको सूचीमा सोमबार स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि थपिए। उनका लागि त्यो खाली डाँडामा टाँगिएको एउटा साँघुरो टेन्टमा न्याम्सका पदाधिकारी बिहानैदेखि खडा थिए। भक्तपुरका प्रमुख जिल्लाअधिकारीदेखि सुरक्षा निकायका प्रमुखहरू पनि मन्त्रीको स्वागत गर्ने लाइनमै थिए। त्यहाँका नगरप्रमुख सोमप्रसाद मिश्र अनि जिल्ला समन्वय समितिका प्रमुख झनककुमार खत्रीलगायतका जनप्रतिनिधिहरू मन्त्रीलाई गुनासो सुनाउन पुगेका थिए।

उनीहरू सबैको गुनासो सुनिसकेपछि मन्त्री खतिवडाले यो अस्पताल बनाउने सुरसारदेखि पैसा कसरी जुट्छ र सरकारले के गरिरहेको छ भन्नेसम्मका सबै फहरिस्त सुनाए।

खासमा ‘वीर’ बनाउनका लागि सरकारले चीनको आश गरेको छ। २०७६ साल असोजमा चिनियाँ राष्ट्रपति सी चीनफिङ आउँदा पनि एउटा चिनियाँ प्रतिनिधिको टोलीले त्यो जमिन अवलोकन गरेको थियो। अनि सरकारले त्यो अस्पताल बनाउनका लागि चीनले पैसा दिन्छ भन्ने आशा राख्यो। तर त्यसका लागि चिनियाँ सरकारसँग अहिलेसम्म कुनै औपचारिक सहमति वा कुराकानी भएको छैन।

मन्त्री खतिवडाले ठूला परियोजनाहरूमा काम किन ढिला हुन्छ भनेर अरू विभिन्न परियोजनाहरूको बारेमा पनि धेरै कुराहरू सुनाए।

उनले सुनाएअनुसार चीन सरकारले यसबारे केही कुरा गरेको छैन। तर उनको आशा थियो- आगामी शुक्रबार आउने चिनियाँ विदेशमन्त्री वाङ यीसँग त्यसबारेमा कुरा हुनेछ।

‘हामीले कोसिस गर्नेछौं। उहाँसँग पनि भन्नेछौं। चीनले पैसा दियो भने त यो परियोजना फटाफट अघि बढिहाल्छ’ मन्त्री खतिवडाले भने- नत्र त फास्ट ट्र्याक हामी आफैले बनाएजस्तो, सुस्त-सुस्त बन्दै जाला। हरेक वर्ष केही करोड पैसा जुटाउँदै जाउँला अनि बनाउँदै जाउँला।’

यहाँ वीर बन्छ किन बन्दैन?

अहिलेसम्म यो परियोजनाको विस्तृत प्रतिवेदन(डिपिआर)समेत बनेको छैन।

६ वर्षअघि वीर अस्पताल देख्ने आशमा रहेका यहाँका स्थानीयमा भने अहिले आक्रोश छ। निराशा छ। यो छ वर्षमा अस्पतालको नाउँमा यहाँ जमिनको भाउमात्रै आकाशिएको छ। अरू केही भएको छैन।

‘अब बने पनि नबने पनि हामीलाई के हुने भो र!’ स्थानीय भगवती न्यौपाने भन्छिन् ‘अब हामी मरेपछि बन्छ कि। हामीले त अस्पताल देख्न पनि पाउन्नौं होला।’

यो जमिनसँग उनको पनि साइनो छ। खासमा ‘न्यौपाने गाउँ’ भनेर पनि चिनिने दुवाकोटको यो वेसी गाउँमा रहेका न्यौपानेहरूका पुर्खाले यो जमिन ‘गौचरण’का लागि छुट्याएका थिए। त्यसपछि केही जमिन परोपकार संस्थाले चर्चिएको छ। केही जमिन नेपाल इन्जिनियरिङ कलेज र केही त्यहाँको सामुदायिक स्कुलले भोगचलन गर्दै आएको छ।

अस्पतालका लागि भनेर सरकारले त्यो ठाउँ पुग्नेगरी चारैतिरबाट बाटोहरू बनाउँदैछ। पानीको पनि व्यवस्था गरिसकेको छ। विद्युत विस्तार पनि गरिसकेको छ।

‘अस्पताल बनाउँछन् भन्ने त लागेकै छैन। खै यत्रो वर्ष भइसक्यो। केही पनि गरेका छैनन्’ स्थानीयवासीले न्यौपानेले भनिन् ‘अब फेरि चुनाव आयो नि नेताहरू त्यसै पनि आइहाल्छन्।’

२०७२ सालको भुकम्पपछि सरकारले वीर अस्पताल सार्ने प्रयास थालेको थियो। त्यो बेला अर्थमन्त्री रहेका विष्णु पौडेलले अस्पताल सार्नका लागि निकै पहल गरेका थिए। पछि दुवाकोटमा जग्गा भेटिएपछि पनि उनी त्यहाँ पटक-पटक अवलोकन गर्न गएका थिए।

‘अहिलेसम्म धेरै मन्त्रीहरू आउनुभो। धेरै सरकार पनि आए तर कहिँकतैबाट केही पनि भएन’ नगरप्रमुख सोमप्रसाद मिश्रले भने- ‘कम्तीमा अलिअलि काम गरिदिएको भए पनि आशा त मर्ने थिएन।’

मन्त्री खतिवडाले भने उत्साहित नभइहाल्न र नआत्तिन अनुरोध गरे।

‘सम्बन्धित मन्त्री भएका नाताले म पनि यहाँ अस्पताल बन्ने ठाउँ कस्तो रहेछ भनेर घुम्न आएको हुँ। मन्त्री भएपछि आउनु नै पर्‌यो। यो न्याम्सले नबनाएको, सरकारले केही नगरेको वा मन्त्रालयले बनाउन नसकेको भन्ने केहि पनि होइन। तपाईंहरूले हामीलाई गाली गर्नु त स्वभाविकै हो’ मन्त्री खतिवडाले भने- ‘तर वास्तविक कुरोचाहिँ पैसा नभएर हो। सरकारले कसरी पैसा जुटाउने भन्ने हो। कसैले पैसा दिएन भने पनि अब सुस्तसुस्त सरकार आफैले बनाउँछ।’

कुनै बेला स्थानीयको गाईवस्तुको चरण क्षेत्र यो जमिनमा धेरै पहिला परोपकार संस्थाले केही भवनहरू बनाएका थियो। त्यसपछि ती भवनहरू उसले उपयोग गरेन र त्यत्तिकै थिए।

सरकारले यो ठाउँमा वीर अस्पताल बनाउने भनेपछि ति भवनहरू पनि त्यसकै तयारीका लागि प्रयोग गर्न थालियो। स्थानीयले केही न केही सुरूवात गर्न माग गरे। सुरूमा त सरकारले केही बेडहरू राखेर एउटा नियमित क्लिनिक पनि चलाउने तयारी गरेको थियो। तर ल्याव नभएपछि त्यो पनि सम्भव भएन।

स्थानीयको धेरै नै दबाव आएपछि थामथुम पार्नका लागि सरकारले परोपकार संस्थाले बनाएको एउटा भवनमा ‘सामुदायिक स्वास्थ्य कार्यक्रम’ सुरू गर्‌यो। केही स्वास्थ्यकर्मीहरूलाई राखिदियो। पुरानो र मक्किइसकेको त्यो भवनमा वीरका केही थोत्रिएका सामानहरू छन्।

थोत्रिएका वीरका केही सामानहरू पनि त्यहीँ नजिकै कन्टेनर बनाएर थन्क्याएको छ।

‘२० रूप्पेको टिकट काटेर यसो कहिलकाहिँ आयो भने चेक गरेको जस्तो गरेर केही औषधी लेखिदिन्छन्। घाउमा अलिअलि मल पट्टी लगाइदिन्छन्’ स्थानीय भगवती न्यौपानेले भनिन् ‘त्यै अस्पतालका कवाडहरू ल्याएर उ त्यहाँ थन्क्याएका छन्। अरू केही छैन। आउनेवाला पनि छैन।’

‘वीर अस्पताल’को नाम लेखिएको बोर्ड पनि पुरानो भइसकेको छ। ‘वीर’का अक्षरहरू मेटिएर खाटामात्रै देखिन्छन्। त्यहाँ पुगेका पत्रकारहरूले त्यो बोर्डलाई ‘फोकस’ गरेर फोटो र भिडियो खिचिरहँदा स्थानीयहरू हाँसिरहेका थिए र भन्दै थिए- त्यहाँ के देखिन्छ र फोटो खिचेको?

त्यसपछि ‘वीर’ अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले आफ्ना कर्मचारीहरूलाई निर्देशन दिए- यो चाहिँ तुरन्तै फेरिहाल्नुस्। बेइजतै भयो।’

स्थानीयले फेरि खिसी गरे- चार, छ जना मन्त्री आएपछि बल्ल बोर्डचाहिँ नयाँ आउने भो!

तर पुरानो त्यो ‘वीर’ नयाँ बनेर त्यहाँ कहिले ठडिने हो कसैलाई पत्तो छैन।



Leave a Reply

Your email address will not be published.