बिरामी भर्ना गरेर आफन्त भागेपछि अस्पतालले गुहार्यो प्रहरी

काठमाडौं–बिरामी भर्ना गरेर आफन्त बेपत्ता भागेपछि भक्तपुर क्यान्सर अस्पतालले प्रहरी गुहारेको छ।
अस्पतालका अनुसार पाठेघरको क्यान्सर रोग लागेकी प्युठान ३ की ४० वर्षीया पवित्रा विकलाई गत फागुन २३ गते खोटाङका तेजनारायण दाहालले अस्पताल ल्याएर भर्ना गरेका थिए। उनले बिरामी भर्ना गर्दा आफू पवित्राको दाइ भनेका थिए।
तर दाहाल २४ गतेदेखि नै सम्पर्कमा आएनन्। बिरामीको अवस्था नाजुक भएको र बस्न र उठ्नसमेत नसक्ने भएपछि त्यसयता अस्पतालले नै निःशुल्क खाना, औषधि र सरसफाईको कार्य गर्दै आइरहेको थियो।
भर्ना गरेको दुई साताभन्दा लामो समयसम्म दाहाल सम्पर्कमा नआएपपछि अस्पतालले बिरामीका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ। यस्तै, नजिकैको प्रहरी प्रभागमा समेत जानकारी गराएको अस्पतालले जनाएको छ।