किन एक्लै बस्न मन पराउँछन् बालबालिका?

काठमाडौं–घरमा एक्लै बसिरहनुपर्ने। परिवारसँगसमेत घुलमिल हुन नसक्ने। मानिसहरुसँग फेस गर्न नसक्ने। मोबाइल, ल्यापटपजस्तो कुरामा व्यस्त भइरहने।

आजकाल खासगरी किशोर उमेरका बालबालिकामा यस्तो समस्या देखिने गरेको छ। अरुसँग घुलमिल नहुने बालबालबालिकाको यस्तो बानीलाई अभिभावकहरु ‘जंगली स्वभाव’ भनी टिप्पणी गर्नेगर्छन्। तर के कारणले उनीहरु त्यस्तो भएका हुन् भन्नेबारेमा भने खोजी गर्दैनन्।

‘आजकाल ९० प्रतिशत बालबालिकामा यस्तो समस्या देखिने गरेको छ,’ मनोविद् डा गंगा पाठक भन्छिन्, ‘मकहाँ पनि यस्ता समस्या भएका बालबालिकाहरु दैनिक २–३ जना आउने गरेका छन्।’

यसलाई अब्सेसन कम्पल्सन डिस्अर्डर (ओसिडी) भनिने यो मानसिक समस्याको श्रेणीमा राख्ने गरिए पनि वास्तवमा त्यस्तो नभएको उनको भनाइ छ।

ओसिडीमा एउटै काम गर्न मन लाग्ने, काम पर्फेक्ट गर्नुपर्ने, हात धोइरहनुपर्ने, एउटै सोचाई बारम्बार आइरहनेजस्ता समस्या देखिन्छन्। तर, बालबालिका एक्लै बस्न मन पराउने समस्या भने अभिभावकको ‘प्यारेन्टिङ’ र ‘डिलिङ’ नमिल्दा देखिने डा पाठकको भनाइ छ।

खासगरी कोरोनाका कारण भएको लकडाउनपछि अनलाइन पढाई हुन थाले। अनलाइन पढाईले उनीहरुलाई एकान्त स्थान, ल्यापटप र मोबाइल जुटाइदियो। र, कुनै पनि कुरा खोज्ने, पत्ता लगाउने किशोरसुलभ उमेरलाई इन्टरनेट र मोबाइलले मलजल गर्‍यो।

‘अनलाइनमा खोजी गर्दै जाँदा स्याटेलाइटले जे पनि देखाइहाल्छ, उनीहरुले पोर्नोग्राफी हेर्न थाल्छन्, उमेर नै नपुगी हस्तमैथुन गर्न थाल्छन्, अनि बिस्तारै आफैंलाई दोषी ठान्दै जान्छन्,’ डा पाठक भन्छिन्,‘नपढीकन त्यस्तो क्रियाकलापमा संलग्न भएको अभिभावकले थाहा पाए के होला भनिठान्छन्, स्वास्थ्य बिग्रन्छ कि भनेर डराउँछन्, अनि आफ्ना ती सबै गल्तीलाई छोप्न अरुसँग फेस गर्न सक्दैनन्।’

उनका अनुसार यहीकारण बालबालिकामा कोठामा एक्लै बस्ने, परिवारको समेत फेस गर्न नसक्ने, नबोल्नेजस्ता व्यवहार विकसित हुन्छ। यसले उनीहरुको पढाईका साथै सिर्जनशीलतामा पनि असर गर्ने हुन्छ।

कतिपय अभिभावकहरु बालबालिकालाई एक्लै बसेकोमा गाली गर्दै चुकुलसमेत फुटाउने गर्छन्। तर यसो गर्न नहुने डा पाठकको भनाइ छ। ‘अहिलेका अभिभावकलाई ठूलो चुनौती छ, बालबालिकाहरु के गरिरहेछन्, के सिकिरहेछन् भनेर अलर्ट हुनपर्छ, त्यो खालको व्यवहारबाट कसरी बाहिर निकाल्ने, बालबालिकालाई उमेरअनुसारको डिलिङ कसरी गर्ने भनेर सचेत हुनुपर्छ,’ उनी भन्छिन्।

केही संस्थाले बालबालिकासँग कस्तो व्यवहार गर्ने, उनीहरुसँग के बोल्ने र उनीहरुसँग कसरी डिल गर्ने भन्नेबारेमा सिकाउँछन्। अभिभावकहरुले त्यस्तो कला सिक्नुपर्ने उनको सुझाव छ। तर आवेशमा आएर उनीहरुसँग गलत व्यवहार गर्नुहुन्न।

के गर्ने अभिभावकले?
अभिभावकले कम्तीमा बालबालिकाका चासोका बारेमा सुन्नुपर्छ। उनीहरु सकेसम्म अभिभावकले गाली नगरोस् र दबाब नदेओस् भन्ने चाहन्छन्। अरुसँग तुलना गरेको मन पराउँदैनन्।

‘उसको चासो के हो भनेर खोजी गर्ने, उत्प्रेरणा जगाउने र उसका कुरा सुनेमात्र पनि धेरै राम्रो हुन्छ, उनीहरुलाई रेष्टुँरामा लगेर खाना खुवाउँदैमा क्वालिटी टाइम बितेको भनिँदैन,’ डा पाठक भन्छिन्।

सञ्चारमाध्यम, सामाजिक सञ्जालका कुरा गर्दै नकारात्मक कुरा गर्ने बानी अभिभावकमा छ। यस्ता नकारात्मक कुराले बालबालिकामा एन्जाइटी बढाउने भएकाले उनीहरुका तर्क र विचार पनि सुन्नुपर्छ। उदाहरणका लागि युक्रेनमा भइरहेको युद्धले तेस्रो विश्वयुद्ध निम्त्याउँछ, विश्व नै ध्वस्त हुन्छ भन्ने कुरामात्र नगरी यस्तो युद्ध ठीक हो कि होइन होला भनेर सोध्न सकिन्छ र त्यसमा उसको तर्क सुन्नुपर्छ। उसले नकारात्मक जवाफ दिए आफूले सकारात्मक तर्क सुनाउन सकिन्छ। यस्तो वातावरणले बालबालिकाले ताजा महसुस गर्नसक्छन्।

 



Leave a Reply

Your email address will not be published.