स्वास्थ्य प्रणालीलाई नै जिस्क्याइरहेका ती जोर्नीहरु

आकस्मिक घटनाबाहेक स(साना स्वास्थ्यका समस्याको निदान तथा उपचारका लागि स्वास्थ्य केन्द्रमा पाइला विरलै टेकिन्छन्।
सामान्य समस्याका लागि अस्पताल खोज्न व्यस्तता, अर्थ अभाव, व्यक्तिगत अरुचि आदिलाई दोष दिइन्छ। दीर्घकालीन सुषुप्त रोग छिप्पिँदै जान्छन्। किनभने ती रोगका कि लक्षण नै हुँदैनन् र लक्षण देखिएमा धेरैलाई सहन गर्न ठूलो कुरा नहुने रहेछ। स्वास्थ्य संस्थाको पहुँच सहज भए पनि स्वास्थ्य सेवाको पहुँच भने सहज नहुन सक्छ।
आर्थिक विपन्नताले गर्दा सानातिना समस्या सजिलै पचाउने बानी नै बनेको हुन्छ। त्यस्ता छिप्पिएका रोग हेर्ने बानी परिसकेको छ। एउटा प्रश्न भने सधैं उब्जन्छ–‘यति छिप्पिएको रोग किन समाजमा व्याप्त छ त?’
कुनै दिन ओपिडी पट्यारलाग्दो नै हुन्छ। बिरामीको भीडभाड सदैव। त्यसमाथि मन चङ्गा नहुने ओपिडीको व्यवस्थापन। ओपिडीका सामान व्यवस्थित देखिन्नन्। हल्लिने टेबुल स्थिर गर्न टेबुलका खुट्टामा कागजका टुक्रा राख्नुपर्छ। गर्मीले सताउँदा पसिना सुकाउन ओपिडी टिकटको सहयोग लिनुपर्छ। पानी खानसमेत बिर्सिइन्छ। सायद यो दृश्य सबै ओपिडीको हुनुपर्छ, विशेषतस् सरकारी अस्पतालको। एकै प्रकारका समस्याहरुको ताँती लागिरहेका बेला झुम्म भएका मेरा आँखा एकाएक टाठा हुन्छन् ।
पेट पोलेको, अमिलो चुकी आउने बिरामीहरुको साइत नै परेको थियो। एकाएक हातका औंलाहरु बांगाटिंगा भएकी अन्दाजी ६० वर्षीया वृद्धा आमा टुसुक्क टुलमा बस्छिन्। नाकमा बुलाकी, रातो पछ्यौरा, छिर्केमिर्के सारी लगाएकी, पटुकाले तीन चौथाई पेट ढाकेकी आमालाई पिसाब पोल्ने समस्या परेको रहेछ। दायाँ कोखामा हात राख्दै दुखेको कुरा गर्छिन्। अलि–अलि श्वास पनि बढेको देख्न सकिन्छ। खपिनसक्नु भएपछि मात्रै अस्पताल आइपुगेकी रहिछन्।
लक्षणले नै भन्न सकिन्थ्यो कि उनलाई पिसाबमा संक्रमण भएको हुन सक्छ। उनको आकस्मिक समस्या पिसाबको समस्या भए पनि मेरो नजर भने उनका हात र खुट्टामा अडिरहेका थिए। त्यो कुरुप भएका हात र खुट्टा देखेर नै बाथरोग हो भनेर भन्न सकिने थियो। समाजमा चलनचल्तिको गठिया बाथ हो भन्ने कुरामा शंका थिएन। त्यस्ति फरासिली आमाका हातका जोर्नी भने पहाडका चुचुराजस्ता थिए।
आमालाई ती बांगाटिंगा औंलाहरुको बानी परिसकेको हुनाले कुनै मतलब थिएन। तर ती जोर्नीहरुले स्वास्थ्य प्रणालीलाई नै जिस्काइरहेको थियो(औषधि वितरणमा कुनै नियन्त्रण नभएको, किराना पसलजस्तै औषधि लिन पाइने, क्षणिक निको बनाउने औषधिले थामथुम गर्ने बानी, चिकित्सकसम्म बिरामी नपुग्ने, चिकित्सकसम्म बिरामी पुगे पनि रोग पहिचान नहुने, रोग पहिचान भए पनि एकिन गर्न खर्च धेरै लाग्ने, खर्च कम लाग्ने संस्थासम्म जान राजधानी नै पुग्नपर्ने, राजधानी पुगे पनि बिरामी सही ठाउँमा नपुग्ने आदि समस्याहरु नै हुन्।
मलाई जिज्ञासा लागेर ती जोर्नीहरुको इतिहास खोतल्ने प्रयास गर्छु। इतिहास २५ वर्ष पुरानो रहेछ। जोर्नी दुख्ने समस्या २५ वर्षदेखि दुखाइ कम गर्ने औषधि बेलामौकामा खाँदै दुखाइ निर्मुल गर्दै बसेकी रहिछन्। सधै युरिक एसिडको बाथ भन्दै औषधि लिने रहिछन्। जनमानसमा व्याप्त बाथ भनेको युरिक एसिडको बाथ हो। युरिक एसिड जाँच गर्न भनेपछि बिरामीको मनकै कुरा गर्दिएको जस्तो हुन्छ। जोर्नी दुखे पनि युरिक एसिड शरीर झमझम गरे पनि युरिक एसिड, सिल्का हाने पनि युरिक एसिड। लाग्छ बाथ भनेको युरिक एसिडमात्रै हो। तर बाथ रोगहरु धेरै प्रकारका छन् । समयमा नै निदान गर्न सकेमा रोग बढ्न नपाउने र जोर्नीहरु सुरक्षित गर्न सकिने हुन्छ। तर दुखाइ कम गर्न व्यापक प्रयोग गरिने औषधिहरुमा NSAIDS ( eg. Diclofenac) र स्टेरोइड हुन्छन्। जुन औषधिहरु लामो समय सेवन गर्नु सर्वाधिक अहितमात्रै हुन्छ । आकस्मिक समस्या पर्दा त्यस्ता औषधि प्रयोग गर्दा रोग नियन्त्रणमा आउने हुनाले सोही औषधि पुनः थपेर वर्षौसम्म प्रयोग गरिरहेका बिरामी धेरै हुने गर्छन्।
यो घटना सदैव देखिने घटना नै हो। दुर्लभ घटना त हैन। तर छिप्पिएका रोग दुर्लभ होउन् भन्ने कामना त गर्न नै पर्छ। बाथ रोग त एउटा उदाहरण मात्रै हो । त्यस्ता अनेक समस्या छन् जसको सही समयमा पहिचान हुन नसक्नु दुर्भाग्य हो । ती अज्ञात पत्ता लगाउन नसकिएका वास्तविक रोगको संख्या अचेल कतै बिमाको होलबडी चेकअपका स्वास्थ्य जाँचहरुको भीडमा छुटेका त छैनन्। हरेक बिरामीलाई चनाखो भएर चेकजाँच गर्नु चिकित्सकको कर्तव्य हो भने एक दिनमा एक चिकित्सकले कति बिरामी गुणस्तरीय रुपमा हेर्न सकिने भनेर टिकट संख्या निर्धारण गरिए कति जाति हुने थियो होला !