समयमै ध्यान नदिए ज्यानै लिनसक्छ दाँत र मुखको रोगले

हेल्थपोस्ट नेपाल

रोग तथा समस्याको मात्रा, तथ्यांक र विभिन्न खोज अनुसन्धानलाई आधार मान्दा विश्व र नेपालमा समेत दाँत तथा मुखको समस्या बढी छ। दन्तहर्षा रुघाखोकीभन्दा बढी पाईन्छ। गाउँघरमा गिजासम्वन्धी रोग, त्यसपछि दाँत खिइने रोग प्रमुख रूपमा देखा पर्दछ भने सहरबजारमा दाँत किराले खाने, त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू पर्दछन्।

दन्त स्वास्थ्यका प्रमुख रोगहरूमा दन्त सडन, दन्तहर्षा, पाइरिया, दाँत सिरिङ—सिरिङ गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाऊखटीरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्छन।

यसका यी सामान्य रोगहरूबाट उत्पन्न भएका जटिलताहरू गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर तथा क्यान्सर भएकोे, तथा थोेते भएको पनि त्यत्तिकै भेटिन्छन्।

प्रकोपको कुरा गर्दा दन्त सडनकोे मात्र उपचार एकैपटक गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक वजेटको १० गुणा लाग्न सक्ने अनुमान छ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको अन्तराष्ट्रिय विज्ञप्तिअनुसार विश्वका ७ अर्ब जनसंख्यामध्ये ६ अर्ब ७५ करोड दाँतको रोगबाट पीडित छन्। विश्वका अधिकांश मुलुकमा विशेषगरी स्कूल जाने उमेरका बालबालिका ९० प्रतिशत बढी दन्तरोगी छन्।

अन्य रोगहरूको तुलनामा दाँत एवं मुखको रोगलाई गम्भीर रुपमा नलिने हाम्रो प्रवृत्ति, सरकारी तथा गैरसरकारी क्षेत्रहरूले दन्त चिकित्सालाई आधारभूत स्वास्थ्यको रूपमा नलिई विलासिता उपचारको रूपमा लिने, सरकारी क्षेत्रबाट दन्त उपचारमा सीमित उपचारमात्र प्रदान गरिने तथा दाँत तथा मुखका रोगबाट मानिसको तत्कालै इहलीला समाप्त भएको देखिँदैन।

त्यस्तै प्रायः जसो दाँत र मुखमा लाग्ने रोगले लगातार दुःख दिने समस्याको रूपमा नभई बीचबीचमा मात्र बल्झिने प्रकृतिका हुन्छन्। अशिक्षा, गरिवी र जनचेतनाको अभावका कारणले दुखाई बढेपछि र यो रोगले जटिलता निम्त्याएपछि मात्र स्वास्थ्य संस्थाको ढोका ढकढकाउने वा चिकित्सककहाँ पुग्ने गर्दछन् । परिणामतः रोग निको हुन लामो समय लाग्ने, कठिन प्रक्रिया अपनाउन पर्ने भएकोले दन्त उपचार सबैलाई महंगो पनि लागिरहेको छ।

मुख आयतनले सानो अंग भए पनि महत्वको आधारमा ज्यादै ठूलो एवं अहम् अंग हो, किनभने मुख शरीरको प्रवेशद्वार हो। स्वच्छ र सफा मुख नै स्वस्थ जीवनको आधार हो। त्यस्तै मुखका अङ्ग—प्रत्यङ्ग र दाँतमा देखिने रोगहरू मुखसँगै मात्र सम्बन्धित नहुन सक्छन्। शरीरका अंग—प्रत्यंग वा प्रणालीसँग सम्बन्धित रोगहरूको प्रतिविम्बका रुपमा मुखमा देखिन्छन्। त्यही भएर नै मुखलाई शरीरको ऐना पनि भन्ने गरिन्छ।

दादुरा आउनु भन्दा २—४ दिन पहिले मुखमा कप्लिक स्पट, एचआइभी.एड्समा सबैभन्दा पहिले मुखमा कापोसिस सार्कोमा, मधुमेहीमा फलफुलको गन्धजस्तो सास गन्ध आउने, रक्तअल्पतामा मुख र जिब्रोको सुजन,कलेजोको रोगमा गिजाबाट रगत आउने,मुखबाट बिग्रेको अण्डाको गन्ध आउने हुन्छ ।

दन्तलेउमा भएको ३६५ भन्दा बढी प्रकारका मध्ये दर्जनौँ ब्याक्टेरियाले गिजाको रोग निम्त्याउँछन्। अस्वस्थ गिजामा पनि यस्ता ब्याक्टेरिया हुन्छन्। गिजामा भएका रक्तनलीमार्फत् ब्याक्टेरियाहरु शरीरभरि पुग्छन्। केही ब्याक्टेरियाले बगिरहेको रगतलाई जमाई क्लट बनाउँछन्। उक्त क्लटले सानो भए विभिन्न अंगहरुलाई रगत पुर्‍याउनमा कमी र क्लट ठूलो भए आघात नै बनाउनसक्छ। यस्तो घटना मुटुको नलीमा भए हृदयघात, दिमागको रक्तनलीमा भए स्ट्रोक र पक्षघात, मिर्गाेलाका रक्तनलीमा भए मिर्गाेला फेल हुनसक्छ।

जन्मदादेखि नै मुटुको समस्या भएका,बाथरोग भएका, प्रोस्थेटिक भल्भ भएका बिरामीहरुले झनै गिजा तथा मुखको सरसफाई र दन्त उपचारमा ध्यान नदिँदा सब—एक्युट ब्याक्टेरियल इन्डोकार्डाइटाइटिस रोग निम्तिन सक्छ।

समयमै ध्यान दिऔ
दाँत तथा मुखका सामान्य रोग तथा समस्या समाधानमा जति ढिला भयो, त्यति नै उपचारको प्रक्रिया लामो तथा जटिल हुने, निर्मूल गर्न नसकिने हुनुका साथै महंगो पनि हुने गर्छ। दाँत किराले खाने, दन्तहर्षा र पाइरियाजस्ता सामान्य रोगबाट स्पेस संक्रमण हुन गई पछि गएर खाद्यनली र सास फेर्ने नली थिचीन गई सास फेर्न नसकी मृत्यु हुनसक्छ। सेलुलाइटीस, पिनास र दिमागमा क्याभरनस साईनस थ्रोम्बोसिससम्म हुनसक्छ।

त्यसैगरी गिजा तथा मुखसम्वन्धी रोग भएका व्यक्तिमा, अन्य सामान्य स्वस्थ व्यक्तिका तुलनामा श्वास—प्रश्वाससम्वन्धी रोग–निमोनिया, दम, मुटुसम्वन्धी रोग, बाथज्बरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, ह्रदयघात, मष्तिष्कघात हुने सम्भावना बढी हुन्छ।

गर्भवती महिलामा दात तथा मुखको समस्या भए, समयभन्दा पहिले नै बच्चा जन्मने र शारीरिक तथा मानसिक रूपले कमजोर बच्चाको जन्म हुने सम्भावना रहन्छ । धरिला, नमिलेका दाँत, लामोे समयसम्मको घाऊखटिरा, रोग, फोेहर साथै सुर्तीजन्य पदार्थ, सुपारीजन्य पदार्थको सेवन लगातार र लामो समय सम्म भएमा मुखको क्यान्सर पनि हुनेगर्दछ। अस्ट्रेलियाको एक खोजमा दाँत र गिजाको स्वास्थ्यमा ध्यान नदिँदा ढिलो गर्भधारण हुने, बाँझोपनालगायत अनेकन प्रजनन स्वास्थ्यमा असर परेको उल्लेख छ। गिजामा डेण्टल फ्लस नगर्दा गर्भधारणमा २ महिना ढिलो पारेको पाइएको थियो। हुन त यसअघि नै पेरियोडेन्टल रोग र मुटु रोग, टाईप २ मधुमेह, गर्भपतन–मिसक्यारिज र पुरुषमा शुक्रकिटको गुणस्तरमा कमजोरसँग सम्बन्धित रहेको तथ्य आइसकेका छन्।

विश्वमै सवैभन्दा बढी मानव समुदायलाई सताउने नसर्ने दीर्घकालिन प्रकृतिका रोगमा मुखमा पाइने रोग पर्दछन् । यी रोगहरुले पैदा गर्ने दुखाई, असहजता, कुरुपपना र कहिलेकाहीँ हुने मृत्युले मान्छेको गुणस्तरीय जीवनमा प्रभाव पार्दछ । यसले व्यक्ति, समाज र राज्यको जीवनमा अनावश्यक आर्थिक भार थप्दछ ।तसर्थ मानव जीवनलाई सुखदायी बनाउन व्यक्ति, समाज र राज्यलाई आर्थिक बोझबाट बचाई गुणस्तरीय मानव जीवन बनाउनलाई समुदाय र राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले विश्व मुख स्वास्थ्य दिवस प्रत्येक वर्ष मार्च २० मा विश्वभरी मनाईदै आएको छ।

रोकथाम
रोग लागिसकेपछि रोगको उपचार गर्नु भन्दा रोग लाग्ननै नदिनु अति नै उत्तम तथा उचित हुन्छ। त्यसकारण दाँत एवं मुखको सरसफाई, खानेकुरामा नियन्त्रण र नियमित दन्त परीक्षण व्यवहारत अपनाउनै पर्छ। मुख पनि हाम्रो शरीरको हात जस्तै व्यस्त अंग हो। खाना खानु अघि र पछि हात मुख धुनु जति अनिवार्य छ, खाना खाईसकेपछि ब्रस गर्नु, मुख सफा गर्नु पनि उति नै अनिवार्य छ र गर्नु पर्दछ।

टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य पदार्थ साथै सुर्तीजन्य पदार्थ, पान, सुपारीको प्रयोग नगरौं। भिटामिन बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अँकुराउँदै गरेका अन्नबाली, मूला, गाँजर, बन्दागोबी, सकरखण्डजस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गरौं । रेशादार, ताजा फलफुल, दुध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गर्नुपर्दछ । ६–६ महिनामा दन्त परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र दन्त समस्याको प्रारम्भिक चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण संभव हुन्छ।

बालक जन्मेदेखि दन्त परीक्षण गराउन शुरु गर्नु पर्दछ र त्यसपछि नियमित रुपमा दन्त परीक्षण गराउने बानी बसाल्नु पर्दछ। समयमै सचेत भई एक दिनमा विहान खाना खाइसकेपछि ४ मिनेट र बेलुका सुत्नु अगाडि ४ मिनेट मुखको सरसफाईमा दिन सक्यौं भने करिब ९० प्रतिशत मुखका रोगहरुबाट मुक्त हुन सकिन्छ।

अन्त्यमा, मुख स्वास्थ्यको महत्व बुझी गर्ब गरौ र मुख स्वास्थ्यमा संलग्न सवै सरोकारहरुलाई एक जुट हुन पनि हामी अनुरोध गर्दछौ।

(डा. बुढाथोकी नेपाल सरकारका निवर्तमान आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य प्रमुख हुन्।)



Leave a Reply

Your email address will not be published.