सिंहदरबारभित्रको हेल्थ डेस्क पुनः सञ्चालनमा

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आइतबारदेखि सिंहदरबार परिसरभित्र हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री कार्यालयको अनुरोधमा अस्पतालले सिंहदरबारभित्र हेल्थ डेस्क सन्चालनमा ल्याएको हो।

डेस्कको मुख्यसचिव शंकरदास वैरागीले वैरागीले उद्घाटन गरेका हुन्। यसअघि २०७४ चैतमा हेल्थ डेस्क सन्चालनमा ल्याइएकोमा कोरोनाका कारण बन्द थियो। अहिले कोरोना कम भएसँगै पुनः सन्चालनमा ल्याइएको हो।

सिंहदरबारभित्र ७ हजारभन्दा बढी कर्मचारी कार्यरत छन्। हेल्थ डेस्कबाट वीर अस्पतालका दुई चिकित्सक तथा ३ स्वास्थ्यकर्मीले सेवा दिनेछन्। स्वास्थ्य जाँच बिहान १० देखि ३ बजेसम्म गरिनेछ।

डेस्कमा अक्सिजनसहितको बेड, स्वास्थ्य परीक्षण, प्रेसर, सुगर, ड्रेसिङ्ग लगायतका सेवा दिइनेछ। आपतकालीन अवस्थाका लागि एम्बुलेन्स पनि हुने जनाइएको छ। सिंहदरबारभित्र विभिन्न काम लिएर आउने सेवाग्राहीलाई समेत हेल्थ डेस्कमार्फत स्वास्थ्य सेवा प्रदान गरिने हेल्थ डेस्कका प्रमुख दीपक मुडभरीले जानकारी दिएका छन्।

हेल्थ डेस्क स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्र बस्नेतले मुख्य सचिव वैरागीको स्वास्थ्य जाँच गरी सुरु गरे। सो सेवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेशद्वारसँगै साविक राष्ट्रिय पुनःर्निर्माण प्राधिकरण रहेको भवनबाट सञ्चालन हुनेछ।

डेस्कमा बिरामीको स्वास्थ्य अवस्था र आवश्यकता हेरेर सरकारी अस्पतालमा रेफर गरिनेछ । कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचका लागि कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस, कार्यालय समयको बचत होस भन्ने उद्देश्यले डेस्क स्थापना गरिएको हो।

आवश्यकताका आधारमा समय–समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी, छाला, महिला रोगलगायत विशेषज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको मुडभरीले बताए। उनका अनुसार प्रधानमन्त्री कार्यालयको पुरै निर्माण कार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुइँ तल्लामा सुविधासम्पन्न हेल्थ डेस्क र एम्बुलेन्स सहित सन्चालन हुने छ।



Leave a Reply

Your email address will not be published.