यस्तो छ मुख स्वास्थ्यको प्राचीन इतिहास

काठमाडौं–हरेक वर्ष २० मार्चलाई विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ। सन् २००७ को १२ सेप्टेम्बरका दिन ‘वल्र्ड ओरल हेल्थ डे’ घोषणा वल्र्ड डेन्टल फेडेरेशनले गरेको थियो। तर त्यसको ६ वर्षपछि अर्थात् २०१३ मा मात्र अभियान सुरु भयो।
विश्वमा प्राचिनकालदेखि नै मुख स्वास्थ्यलाई प्राथमिकता दिने गरेको पाइन्छ। पहिले मानिसहरु दाँत सफा राख्न माछाको हड्डी, प्वाख र रुखको बोक्रा प्रयोग गर्ने गर्थे। चीनमा सुँगुरबाट बनाइएको टुथब्रस प्रयोग गर्न सुरु गरेको पाइन्छ। मुख सफा गर्न ब्राण्डी र पानीमा नुन मिसाएर कुल्ला गरिन्थ्यो। दाँत माझ्न र दाँतमा अड्किएका कुनै पनि कुराहरु निकाल्न स्पन्जको प्रयोग गरिन्थ्यो। समयक्रमसँगै मुख स्वास्थ्यको महत्व र उपचारको विधि विकसित हुँदै गयो।
इशापूर्व ७ हजारमा दन्त उपचार गरिएको प्रमाण पाइन्छ। १८ औं शताब्दिसम्म क्याभिटी र अन्य खालका दन्त सडनलाई दातमा किरा लागेको रुपमा लिइन्थ्यो।
प्राचीन इजिप्टमा दाँत दुख्ने रोग धनी मानिसहरुलाई लाग्ने रोगका रुपमा लिइन्थ्यो, किनभने उनीहरुले मात्र मिठाई किन्न सक्थे।
२७०० इशापूर्वमा चीनमा दात दुख्ने समस्या समाधानका लागि अकुपंचरलाई प्रयोगमा ल्याएको पाइन्छ। सन् १४०० को अन्त्यमा चीनमा टुथब्रसको आबिस्कार भएको पाइन्छ।
अमेरिकन डेन्टल एशोसियसनका अनुसार इशापूर्व ५ हजारको सुमेरियन लेख्य प्रमाणले दन्त सडनलाई दाँतमा किरा लागेको रुपमा उल्लेख गरेको पाइन्छ। ५०० देखि ३०० इशापूर्वमा एरिस्टोटल र हिप्पोक्रेटसले दाँतका बारेमा लेखेका थिए। उनीहरुले भाँचिएको बंगारा र दाँतलाई यथास्थितिमा राख्न एक खालको तारको प्रयोगबारे व्याख्या गरेका थिए।
सन् ७०० मा चीनमा मुख स्वास्थ्य कायम राख्न चाँदीको पेस्ट प्रयोग गर्ने गरेको प्रमाण पाइन्छ। सन् १५३० मा जर्मनीमा पहिलोपटक दन्त स्वास्थ्यबारे पुस्तक नै प्रकाशित भयो। यसमा मुख स्वास्थ्य, दाँत निकाल्ने, दाँत सफा गर्ने र सुन भर्नेजस्ता दाँतसम्बन्धी सबै विधि र उपचार उल्लेख गरिएको थियो।
आधुनिक दन्तचिकित्सका पिता भनिने फ्रेन्च सर्जन पियरे फोउकार्डले सन् १७२३ मा ‘द सर्जन डेन्टिस्ट, अ ट्रिटीज अन टिथ’ प्रकाशित गरेका थिए। यसलाई आधुनिक दन्तचिकित्साको आधारशीला मान्ने गरिन्छ। यसमा ओरल एनाटोमी, शल्यचिकित्सका विधिलगायत थिए।