युद्धका बीच कसरी सञ्चालन भइरहेको छ युक्रेनी स्वास्थ्यप्रणाली?

स्वास्थ्यसंस्थामाथि आक्रमणका ३१ घटना, १२ स्वास्थ्यकर्मीको मृत्यु, ३४ घाइते

हेल्थपोस्ट नेपाल

काठमाडौ–युक्रेनी स्वास्थ्य संस्थाहरु रुसी आक्रमणमा पर्ने क्रम तीव्र भएको छ। विश्व स्वास्थ्य संगठनको मार्च १५ सम्मको तथ्यांकअनुसार स्वास्थ्य संस्था, स्वास्थ्य कार्यकर्ता र एम्बुलेन्समा आक्रमणका घटना ३१ वटा भएका छन्, जसमा १२ मृत्यु र ३४ घाइते भएका छन्।

गत मार्च १ मा युक्रेनी स्वास्थ्यमन्त्री भिक्टोर लिहाश्कोले पेडियाट्रिक एनेस्थेसियोलोजिस्ट डा मरिना कालाविना आफ्नो घाइते भतिजालाई कारमा लिएर किभनजिकैको अस्पतालमा लैजाने क्रममा रुसी आक्रमणमा परी मारिएको जनाएका थिए।

अन्तर्राष्ट्रिय मानवीय कानुनका अनुसार स्वास्थ्य कार्यकर्तालाई सबै खाले अवस्थामा सुरक्षा दिइनुपर्छ। तर युक्रेनमा रुसले अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लंघन गरिरहेको छ।

पोल्याण्डको वार्शामा मार्च १० मा आयोजितत एक पत्रकार सम्मेलनमा पोल्याण्डका राष्ट्रपति एन्द्रेज डुडा र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले गरेको अन्तर्राष्ट्रिय युद्ध अपराधको अनुसन्धान गर्न आव्हान गरेका थिए। त्यतिबेला रुसले मारिपुलको प्रसुति अस्पताल ध्वस्त पारेको थियो।

युद्धको दोस्रो साताको अन्त्यतिर पूर्वी युरोपकै एक ठूलो ल्याब सिएसडी मेडिकल ल्याबोरेटोरीमा बम प्रहार गरेको थियो। सिएसडीले युक्रेनमा नमुना संकलन गर्न ६० वटा केन्द्र सन्चालन गरेकोमा २ वटामा क्षति पुगेको छ। उक्त ल्याबले सरकारी र निजी गरी ७ सय वटा अस्पतालसँग समन्वय गरी काम गर्दै आएको थियो।

सीएसडीकी मेडिकल डाइरेक्टर ओक्साना सुलैभाले युद्धका केही दिन आफ्नो १८ वर्षकी छोरी र १५ वर्षको छोरा तथा ल्याबका सहकर्मी भएर भूमिगत सेल्टरमा बिताएको बताइन्। उनका अनुसार अहिले थुप्रै महिला स्वयंसेवक स्वास्थ्यकर्मीहरुले युद्धको अग्रपंक्तिमा रहेकाहरुका लागि रक्तसञ्चार केन्द्र सञ्चालन गरिरहेका छन्। ‘यस्तो अभूतपूर्व एकता युक्रेनमा मैले कहिल्यै देखेको थिइन,’ उनले भनिन्।

मार्च १०का दिन उनका बच्चासहित प्याथोलोजिस्ट, जेनेटिसिस्ट र टेक्नोलोजिस्ट गरी ३० जना र उनीहरुका परिवारलाई लिभिभमा सारिएको थियो, जहाँ सिएसडीले ल्याब स्थापना गर्ने योजना गर्दैछ।

सेन्ट जुड ग्लोबलको ग्लोबल क्रिटिकल केयर प्रोग्राम र युरेसिया रिजनल प्रोग्रामका निर्देशक डा आस्या अगुल्निकका अनुसार युद्ध सुरु हुनुअघि २ हजार बालबालिकाहरु क्यान्सरको उपचार लिइरहेका थिए। जसमध्ये पेडियाट्रिक अंकोलोजिस्ट किज्यामा र अन्य सहयोगीले करिब ४ सय बालबालिकालाई विभिन्न युरोपेली मुलुकका अस्पतालमा सारेका छन्। ‘हाम्रो उद्देश्य युद्धको चुनौतीका बीच पनि ती बालबालिकाको क्यान्सरको उपचारलाई निरन्तरता दिनु हो,’ उनले भने।

हाल क्यान्सरको उपचार लिइरहेका बिरामीलाई सार्ने योजना बनाइँदैछ। ‘तर चुनौतीपूर्ण प्रश्न भनेको के हामीले हरेक बिरामीलाई युरोपेली युनियनमा पठाइन्छ,’ किज्यामाले भने, ‘यस्तो उद्देश्य राखिन्छ भने पनि धेरै वयोवृद्ध हजुरबा, हजुरआमाहरु युक्रेनमै रहन्छन्।’

यस्तै, बोन म्यारो प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका बालबालिकालाई किज्यामाको अस्पतालमा सारिएको छ, जहाँबाट ५० माइल टाढाको पोल्याण्ड सीमामा लगिनेछ। यस्ता बालबालिकालाई सार्नु खतरापूर्ण रहेको भए पनि सकारात्मक उपलब्धी हुनेमा आफूहरु आशावादी रहेको उनले बताए।

युद्धग्रस्त किभ, खार्किभ र अन्य ठूला सहरका फिजिसियनहरु बालबालिकाको उपचारका लागि स्वयंसेवा गरिरहेका छन्। यस्तै अस्पतालले अन्य सहरका नर्सहरुलाई पनि काममा लगाएको छ।

विश्व स्वास्थ्य संगठनले मार्च ११ मा रिपोर्ट प्रकाशित गरी युद्धसम्बन्धित उपचारका अतिरिक्त युद्धका कारण स्वास्थ्य सामग्री आपूर्ति र स्वास्थ्य सामग्रीमा आएको अवरोधका कारण मुटु रोग, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगको समस्या बढ्ने खतरा रहेको जनाएको थियो। यस्तै, यो बेला कोभिड, पोलियो, दादुरा, श्वासप्रश्वासको समस्याजस्ता संक्रमण फैलने सम्भावना रहेको पनि डब्लुएचओले औंल्याएको छ। रुसी आक्रमणका कारण खानेपानी तथा सरसफाईका कैयौं पूर्वाधार पनि ध्वस्त भएका छन्।

लिभिभ अस्पतालकी फिजियोलो विभागकीप्रमुख डा ओक्साना जायाच्किस्काले युद्धका कारण सेल्टरमा बिताउनुपर्दा र परिवारसँगै भाग्नुपर्दा भर्खर जन्मेका शिशुहरुको निमोनियका कारण मृत्यु हुने गरेको बताइन्। ‘नत्र भने त यो २१ औं शताब्दिमा निमोनियाका कारण बच्चाहरु मर्ने सम्भावना कम थियो,’ उनले भनिन्।

लिभिभमा अहिलेसम्म कुनै युद्ध भएको छैन। तर दैनिक २, ३ पटक बज्ने साइरनका कारण अस्पतालका बिरामीलाई हतारहतार सेल्टरमा लैजानुपर्ने बाध्यता छ स्वास्थ्यकर्मीहरुलाई।



Leave a Reply

Your email address will not be published.