फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश, दक्षिण एसियामा नेपाल सबैभन्दा अगाडि

हेल्थपोस्ट नेपाल

काठमाडौं – फिनल्यान्ड फेरि एकपटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित गरेको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौं पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो।

प्रतिव्यक्ति वास्तविक जिडिपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौं स्थानमा छन्। स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौं, आठौं र नवौं स्थानमा छन् भने र न्युजिल्यान्ड दशौं स्थानमा छ।

यस्तो छ नेपालको अवस्था

नेपाल सूचीको ८४ औं स्थानमा छ। नेपाल दक्षिण एसियामा नै पहिलो स्थानमा छ। भुटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन। सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औं नम्बरमा छन्। श्रीलंका १२६ औं स्थानमा छ भने भारत १३६ औं स्थानमा छ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तानपछि लेबनान र जिम्बाबे दु:खी देशको सूचीमा छन्। सूचीमा नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औं नम्बरमा चीन छ भने युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औं स्थानमा छ। त्यस्तै, रुसी हमलामा परेको युक्रेन १०८ औं स्थानमा छ।



Leave a Reply

Your email address will not be published.