चीनमा कोरोना संक्रमण तीव्र, धमाधम निर्माण हुँदै क्वारेन्टिन

हेल्थपोस्ट नेपाल

काठमाडौं–कोरोना संक्रमण पुनः तीव्र हुँदै गएपछि चीनमा अस्थायी क्वारेन्टिन केन्द्र निर्माण हुन थालेका छन्। उत्तरपूर्वी जिलिन प्रान्तको जिलिन सहरमा ६ हजार बेड क्षमताको क्वारेन्टिन निर्माण भइरहेका छन्। ४ लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिन लागिएको क्वारेन्टिनमा कन्ट्याक्ट ट्रेसिङबाट पोजिटिभ प्रमाणित भएकाहरुलाई राखिने बताइएको छ।

चीनमा अहिले २ करोड ४० लाख जनसंख्या भएको जिलिन प्रान्त, १ करोड ७५ लाख जनसंख्या भएको शेन्जेन र १ करोड जनसंख्याको डोंगुवान सहरमा लकडाउन गरिएको छ।

तीन चरणको परीक्षणपछि आइतबार अधिकारीहरुले शेन्जेनमा ७ दिने लकडाउन घोषणा गरेका छन्। अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक यातायात, व्यवसाय बन्द गरिएका छन्। एप्पल आपूर्ति कम्पनी फक्सकनले आफ्ना दुई प्लान्ट बन्द गर्दै अन्यत्र सार्ने बताएको छ।

सन् २०२० यता कोभिड शून्य नीति अपनाएको चीनमा गत सोमबार १ हजार ४ सय ३७ र मंगलबार ५ हजार २ सय ८० जनामा संक्रमण पुष्टि भएको थियो। त्यसमध्ये जिलिनमा मात्रै ८९५ जना बिरामी भेटिएका छन्। यस्तै, प्रमुख व्यापारिक सहर सांघाइमा संक्रमित भेटिएका छन्।

शेन्जेनसँगै जोडिएको हङकङमा पनि सन् २०२० यताकै संक्रमण दर तीव्र भएको छ। त्यहाँ गत सोमबार एकै दिन करिब २७ हजार बिरामी भेटिएका थिए भने २८६ जनाको मृत्यु भएको थियो। त्यहाँको मृत्युदर विकसित विश्वमध्येकै सबैभन्दा धेरै हो। मृत्यु हुनेमा सबैभन्दा बढी खोप नलगाएका वृद्धवृद्धा छन्।

हङकङमा पनि ठूला ठुला आइसोलेन केन्द्र निर्माण भएका छन्। गत साता ३९०० बेड क्षमतामा केन्द्र निर्माण गरिएका थिए। त्यहाँ कडा खालको सामाजिक दूरीको नियम लगाइएको छ भने आगामी अप्रिलको अन्त्यसम्म थुप्रै व्यवसाय बन्द गरिएका छन्। कडा लकडाउनका कारण सिर्जना भएको तनावका कारण गत महिना २७ घण्टाको बीचमा तीन वटा आत्महत्याका घटना भएका थिए।



Leave a Reply

Your email address will not be published.