तपाईं कति घण्टा र कसरी सुत्नुहुन्छ? यी हुन् निद्रासम्बन्धी रोचक २५ तथ्य

हेल्थपोस्ट नेपाल

काठमाडौं–आज मार्च १८, विश्व निद्रा दिवस (स्लीप डे)। हरेक मानिसलाई निद्रा प्यारो हुन्छ–चाहे त्यो मानव होस् या जनावर। तर प्राणी किन सुत्छन्? यसको यकिन जवाफ वैज्ञानिकहरुसँग पनि छैन। तर जीवनका लागि खाना, पानी, हावा जति आवश्यक छ, उति नै निद्रा पनि।

खाना, पानीले भन्दा निद्राको कमीले मानव जीवनलाई बढी असर गर्छ। अध्ययनहरुका अनुसार दैनिक ७ घण्टाभन्दा कम सुत्ने मानिसको मृत्यु हुने सम्भावना अन्यको तुलनामा १२ प्रतिशत बढी हुन्छ।

थाहा पाउनुस् निद्रासम्बन्धी रोचक तथ्यहरु।

१.मानवले मात्र स्वेच्छाले निद्रालाई टाल्न सक्छ अर्थात् सुत्नमा ढिलाइ गर्न सक्छ।

२. मानिसहरु आफ्नो जीवनकालको एक तिहाई समय अर्थात् २६ वर्ष सुतेर बिताउँछन्। यसलाई घण्टामा गणना गर्ने हो भने २ लाख २७ हजार ४ सय ६८ वर्ष हुन्छ। बिरालो सबैभन्दा बढी सुत्ने प्राणीमा पर्छ, जो जीवनकालको दुई तिहाइ समय सुतेर बिताउँछ।

३. मानिस विनाखाना २ महिनासम्म, विनापानी ३० दिनसम्म र विना निद्रा ११ दिनसम्म जीवित रहनसक्छ।

४. नवजात शिशु २४ घण्टामा १४ देखि १७ घण्टा सुत्छन्। शिशुको मस्तिष्कले पूरै ग्लुकोजको ५० प्रतिशत प्रयोग गर्ने भएकाले उनीहरुलाई बढी सुत्नुपर्छ।

५.निदाएको अवस्थामा मानिसले खोक्न या हाँछ्यु गर्न सक्दैन । यदि कसैले सुतेको अवस्थामा यसो गरेको बताउँछ भने उसको निद्रा खुलिसकेको हुन्छ। यस्तै, निदाएको समयमा सुँघ्ने क्षमता पनि हुँदैन।

६.बिहान ३ देखि ४ बजेको बीचमा मानिसको शरीर सबैभन्दा कमजोर हुन्छ। यहीकारण यही अवधिमा अधिकांश मानिसको मृत्यु हुन्छ।

७. प्यारासोम्निया यस्तो अवस्था हो, जसमा मानिसहरु निद्रामै हिँड्ने, निद्रामै गाडी चलाउने या हत्याजस्ता अपराध गर्ने क्रियाकलाप गर्छन्। नेशनल स्लीप फाउण्डेशनका अनुसार विश्वका १५ प्रतिशत मानिसमा निद्रामै हिँड्ने समस्या छ।

८.स्लीप एप्निया नामक रोगमा सुतेकै अवस्थामा श्वास रोकिन्छ। यस्तोमा मानिसको निद्रा खुल्छ र तत्काल उठेर बस्छ। यसरी श्वास रोकिने समय केही सेकेण्डदेखि लिएर केही मिनेटसम्म हुनसक्छ।

९.विश्वका ५ प्रतिशत मानिसमा निद्रामा बर्बराउने समस्या हुन्छ। यसलाई ‘सोम्नीलोकी’ भनिन्छ।

१०. निदाउन नसक्ने समस्यालाई इनसोम्निया भनिन्छ। डिप्रेसनबाट पीडित तीन चौथाई मानिस यस्तो समस्यामा परेका हुन्छन्।

११. बेलायतको स्लीप च्यारिटी नामक संस्थाको एक अनुमानअनुसार निद्रासम्बन्धी समस्याका कारण बेलायती अर्थतन्त्रमा ४०.०२ अर्ब पाउण्ड खर्च हुनेगर्छ।

१२.सन् २०१७ को अक्टोबरमा अमेरिकाको केन्टुकीका वायट शा नामका ७ वर्षीय बालक ११ दिनसम्म लगातार निदाए। चिकित्सकले यसो किन भयो भनेर पत्ता लगाउन सकेनन्। उनी ११ औं दिनमा ब्युँझिए, यो घटना विश्वकै लामो निद्राको रुपमा गिनिज बुकमा दर्ता भयो।

१३. सडक दुर्घटनामा हुने २० प्रतिशत मृत्यु निद्राकै कारण हुने गरेको छ।

१४. सन् २०१८ को अप्रिलमा विश्वकै सबैभन्दा कम निदाउने मानिसमा जापानीहरु रहेको थाहा भएको थियो। जापानी पुरुष ६.३ र महिला ६.४ घण्टा सुत्ने गर्छन्।

१५.फिनल्याण्डका मानिसहरु सबैभन्दा बढी सुत्नेमा पर्छन्। पुरुषहरु सरदर ७.२४ घण्टा र महिलाहरु ७.४५ घण्टा सुत्ने गर्छन्।

१६. निदाएको ९० मिनेटपछि मानिसहरु पहिलो ‘र्‍यापिड आई मुभभेन्ट (रेम)’ चरणमा प्रवेश गर्छन् र यही बेला बढी सपना देख्ने गरेको विश्वास गरिन्छ। रेम चरण १० मिनेटसम्म रहन्छ। अधिकांश मानिसहरु हरेक रात ४ देखि ६ रेम चरण अनुभव गर्छन्। ९० प्रतिशत मानिसहरु रेम चरणका बेला ब्युँझन्छन् र आफूले सपना देखेको बताउने गर्छन्।

१७.बेलायतको नेशनल बेड फेडेरेशनका अनुसार त्यहाँ हरेक वर्ष ७० लाख म्याट्रेस बिक्री हुनेगर्छ र बेलायतको बिछ्यौना बजार १.८ अर्ब पाउण्डको भएको बताइन्छ।

१८. सामान्यतः एक मानिसलाई निदाउन १० देखि १५ मिनेट लाग्छ। तर ५ मिनेटभित्रैमा निदाउने बानी छ, त्यसको अर्थ हुन्छ उक्त व्यक्तिमा निद्राको कमी छ।

१९. अमेरिकाको स्लीप काउन्सिलका अनुसार निदाएका बेला मानिसको शरीरको तापक्रम १ देखि २ डिग्री फरेनहाइट घट्छ भने मेटोबोलिजम १५ प्रतिशतले घट्छ।

२०. अध्ययनहरुका अनुसार दैनिक ५ घण्टाभन्दा कम सुत्ने मानिसमा टाइप टु डायबिटिज हुनृे खतरा रहनछ। किनभने, कम सुत्दा शरीरले ऊर्जाको रुपमा प्रयोग गर्ने ग्लुकोजको प्रशोधन गर्ने समय पाउँदैन।

२१. बेलायतको स्लीप च्यारिटीका अनुसार २५ देखि ३४ वर्षका ४० प्रतिशत मानिसहरु सबैभन्दा राम्ररी सुतेको पाइएको छ। ५५ देखि ६४ वर्षका १३ प्रतिशत मानिसहरुले भने राम्रो निद्रा नपरेको बताएका थिए।

२२. बेड सेयरिङका सन्दर्भमा ३६ प्रतिशत पुरुषले आफ्ना पार्टनरलाई कुन साइडमा सुत्ने भनेर निर्णय गर्ने अधिकार दिन्छन्। यसको तुलनामा २२ प्रतिशत महिलाले मात्र आफ्ना पार्टनरलाई त्यस्तो अधिकार दिन्छन्।

२३. निद्राविज्ञ लिसा लेविसले निदाउने समस्या छ भने ४–७–८ विधि अपनाउन सल्लाह दिएकी छन्। यसको अर्थ हो–४ सेकेण्ड श्वास फेर्ने–७ सेकेण्ड श्वास रोक्ने–८ सेकेण्डमा नाकबाट बिस्तारै श्वास फाल्ने। यसले तनाव हटाउन मद्धत गर्छ र १ मिनेटमै निदाउन सकिन्छ।

२४. महात्मा गान्धीलाई निद्रामाथि नियन्त्रण गर्ने व्यक्तिको रुपमा लिइन्छ। उनी आफूले चाहेको बेला निदाउने या ब्युँझने गर्थे। ५ मिनेटको गहिरो निद्रा उनका लागि पर्याप्त थियो।

२५.अमेरिकामा हरेक वर्ष १५ सय मानिसको मृत्यु गाडी चलाएका बेला निदाएका कारण हुन्छ।



Leave a Reply

Your email address will not be published.