होलीको रंगबाट हुने समस्याबाट बच्चालाई जोगाउन अपनाउनुस् यी टिप्स

होलीमा वयस्कभन्दा बालबालिकाहरु बढी रमाउँछन्। यो बेला प्रयोग गरिने रंगले पार्न सक्ने प्रभावका बारेमा अभाभाविकहरु बढी सचेत हुनुपर्छ। रंगमा विभिन्न रासायनिक पदार्थ र सिसाको प्रयोग हुनसक्छ। त्यसैले यस्ता रंग आँखामा पर्यो भने पोल्ने समस्या हुन्छ। केही बालबालिकालाई भने रंगको एलर्जी हुन्छ। यस्तो अवस्थामा उनीहरुको छाला, कपाल र आँखाको ख्याल गर्नुपर्छ।
थाहा पाऔं बच्चालाई फागुको रंगबाट कसरी सुरक्षित राख्न सकिन्छ–
१. पूरै कपडा लगाइदेऔं
बालबालिकालाई होलीमा रंग खेल्न मनाही गर्न सकिँदैन। त्यसैले उनीहरुलाई शरीरका सबै अंग छोप्ने गरी कपडा लगाइदिनुपर्छ। यसले रंगको रसायनले उनीहरुको नाजुक छालामा असर गर्दैन। यसका अलावा घामले डढ्ने समस्या पनि हुँदैन।
गर्मी लागिसकेको समय हुनाले कटनको कपडा लगाइदिनु उपयुक्त हुन्छ। यसबाट उनीहरुले हल्का महसुस पनि गर्छन्।
२. शरीर र कपालमा तेल लगाउनुपर्छ
होलीको रंगबाट छाला र कपाल बचाउनका लागि तेल सबैभन्दा राम्रो विकल्प हो। रंग खेल्नुअघि शरीर र कपालमा तेल लगाउनुपर्छ। शरीर र कपालमा तेल लगाउँदा रंग टाँस्सिन पाउँदैन र धुँदा सजिलै जान्छ। तेलमा नरिवल, ओलिभ या तोरीको तेल लगाउन सकिन्छ। तेल खासगरी औंला, खुट्टा, गाला, घाँटी र कपालमा लगाउनुपर्छ।
३. सकेसम्म हर्बल रंग प्रयोग गर्नुपर्छ
बच्चालाई सकेसम्म हर्बल रंग प्रयोग गर्न दिनुपर्छ। यो केही महंगो भए पनि छालामा असर गर्दैन।
४. कालो चश्मा लगाउनु भन्नुहोस्
वयस्कको तुलनामा बालबालिकाको आँखा बढी संवेदनशील हुन्छ। आँखामा रसायनयुक्त रंग पस्यो भने एलर्जी या दुखाइ हुनसक्छ। यसैले आँखा जोगाउन कालोचश्मा लगाउन सकिन्छ।
५. रंग पखाल्न मन तातोपानीको प्रयोग गर्न सकिन्छ
रंग खेलिसकेपछि त्यसलाई पखाल्न मनतातो पानीको प्रयोग गर्नुपर्छ। मन तातो पानीमा अलिकता कागती मिसाउन सकिन्छ। यसो गर्दा रंगको दाग सजिलै जान्छ। तर, कागती मिसाएको पानीले शरीरमा धेरै रगड्नु भने हुँदैन। रंग पखालिसकेपछि कपाल र छालामा नरिवलको तेल लगाउनाले छाला हल्का नरम बन्छ।
यस्तै, नुहाएपछि शरीरमा मोस्चराइजर र फेस क्रिम लगाउँदा रंगका कारण उत्पन्न हुने सुख्खापन कम हुन्छ। यसो नगर्ने हो भने शरीर सुख्खा हुन्छ। आवश्यक परे नियमित रुपमा मोस्चराइजर लगाउन सकिन्छ।
डिस्क्लेमरः रंगको प्रयोगबाट उत्पन्न कुनै स्वास्थ्य समस्यामा सम्बन्धित चिकित्सकको परामर्श सहयोग लिनुहोला।