बालबालिकालाई कसरी प्रभावित पारिरहेको छ ‘प्यानिक एन्जाइटी’ ले? कस्ता हुन्छन् यसका लक्षण?

काठमाडौं–
घटना १ः कोरोना महामारी सुरु भएपछि लकडाउन भयो। देशभर अधिकांश विद्यालयले अनलाइन पढाइ सञ्चालन गरे। यो अवस्थामा विद्यार्थीहरु विद्यालय आउजाउ गर्न, साथीहरुसँग भेटघाट–रमाइलो गर्न, खेल्न पाएनन्। कम्प्युटर र मोबाइलका भरमा कोठामै थुनिने अवस्था बन्यो।

सधैं विद्यालय जाने छोराछोरी घरमै रहँदा अभिभावकहरुले पनि उनीहरुका पढाइप्रति सधैं शंकालु नजरले हेर्न थाले। आफूमाथि सधैं आउने पढ्ने दबाब, अनलाइन पढाई नबुझिने समस्याजस्ता कारण राजधानीको एक स्कुलमा पढ्ने एक किशोरी दिक्दार भइन्। अनि हजुरबाले खाने डायबिटिज र उच्च रक्तचापको औषधि खाइदिइन्।

पछि परिवारले उद्धार गरेर परामर्शका लागि ल्याएपछि मनोविज्ञसँग उनले भनिन्, ‘सबैले पढ्–पढ् भन्ने, अनलाइन क्लास पनि नबुझ्ने भएपछि दिक्क लाग्यो, अनि मरिदिन्छु, आनन्दै हुन्छ भनेर यसो गरेकी हुँ।’

घटना २ः अर्का एक किशोरको कथा। लकडाउनका बेला बाहिर चहलपहल गर्न पाएनन्। साथीभाईसँगको सम्पर्क टुट्यो। सधै कोठामा एक्लै बस्नुपर्दा दिक्क लाग्यो। आत्महत्या गर्ने सोचाइ आयो। अनि उनले बाथरुममा गएर एउटा हर्पिक खाए। त्यसपछि उनको अस्वाभाविक स्वास्थ्य देखेर परिवारले तत्काल अस्पताल लगे र उनी बाँचे।

०००

कोरोना महामारीपछि अहिले अधिकांश स्कुले बालबालिकामा ‘प्यानिक एन्जाइटी’ को समस्या बढ्न थालेको छ। मनोविज्ञ डा गंगा पाठकका अनुसार कोभिडपछि बालबालिकामा ‘कुनै पनि समयमा हामी मर्छौं, मेरो परिवारलाई केही हुन्छ कि, हामी खत्तम हुन्छौं,’ भन्ने मनोवैज्ञानिक त्रासबाट पीडित रहने गरेका छन्। यस्तो अवस्थालाई समयमै उचित परामर्शबाट समाधान नगर्ने हो भने बालबालिकाहरु डिप्रेसनमा जाने र उनीहरुमा आत्महत्या गर्नेसम्मका सोचाइ आउने खतरा रहने उनको भनाइ छ।

यस्तो समस्या ‘टिन एज’ मा रहने कक्षा ८ देखि १२ सम्मका किशोरकिशोरीमा देखिने गरेको छ। अहिले डा पाठक बिहान सबेरैदेखि यस्ता बालबालिकालाई काउन्सिलिङ गरिरहेकी हुन्छिन्।

कस्ता हुन्छन् लक्षण?

डा गंगा पाठक

‘प्यानिक एन्जाइटी’ हुँदा श्वास फेर्न गार्‍हो हुने, चिटचिट पसिना आउने, अहिल्यै मुर्च्छा पर्छुजस्तो हुने, आफूलाई नियन्त्रण गर्न नसक्ने र जमिनमा ढल्नेसम्मको अवस्था हुन्छ। यस्तो समस्या भएपछि उनीहरुका हरेक दैनिक क्रियाकलाप नकारात्मक हुन थाल्छन्।

डा पाठकका अनुसार बालबालिकामा मेरो कोही छैन र मलाई बुझ्ने कोही छैन भन्ने भावनाको विकास हुन्छ। जीवन अनिश्चित महसुस गर्छन्। कुनै पनि काममा केन्द्रित हुन सक्दैनन्। सपना आउने, स्लीप प्यारालाइसिस हुने, निद्रामा झसंग भएर ब्युँझने हुन्छन्। आत्मविश्वास घट्छ। स्कुल गए पनि डराउने, असुरक्षित महसुस गर्ने हुन्छ।

२०७२ सालको भूकम्पका बेला बालबालिकामा ‘प्यानिक एन्जाइटी’ देखिएको भए पनि कोरोनापछि यो समस्या बढ्न थालेको पाइएको छ।

‘मनोवैज्ञानिक समस्या भएकाले बाहिर देखिँदैन। अभिभावकले पनि उनीहरुका समस्या बुझेका हुँदैनन्। अनि उल्टै स्कुल जान मननलागेको, पढ्न ध्यान नदिएको भनेर गाली गर्छन्, यसले बच्चाहरु झनै हतोत्साहित हुन्छन् र त्यसपछि उनीहरुमा आफूहरुलाई स्कुलमा शिक्षक र घरमा अभिभावक कसैले पनि बुझ्दैन भनेर महसुस गर्न थाल्छन्, यसले उनीहरुको डिप्रेसन झन् बढाउन सक्छ,’ डा पाठक भन्छिन्।

डिप्रेसनमा गएका बालबालिकालाई सुरुमा मनोचिकित्सककहाँ लगिन्छ। केहीले औषधि पनि खान थाल्छन् भने केहीलाई मनोविज्ञकहाँ रेफर गरिन्छ। ‘तर, काउन्सिलिङमा लामो प्रक्रिया हुन्छ, यसमा बच्चामा भएका नकारात्मक विचारलाई निकालेर सकारात्मक विचार राख्ने प्रयास गरिन्छ। त्यसका लागि समय लाग्छ। तर त्यो पर्खने स्टामिना अभिभावकमा हुँदैन, दुई–चार दिनमै फाइदा भएन भनेर गुनासो गर्छन्,’ उनी भन्छिन्।

के गर्ने त अभिभावकले?
बालबालिकाले विद्यालयमा पाठ्यपुस्तकबाहेक जीवनकला (लाइफस्कील) सिक्ने अवसर पाएका हुँदैनन्। अभिभावकले पनि सधैं जित्नुपर्छमात्र भन्छन्। ‘उनीहरुलाई मनोभावलाई व्यवस्थापन गर्ने कुरा सिकाइन्न। जीवनमा आएका अवरोधको कसरी सामना गर्ने भनेर सिकाइन्न,’ डा पाठक भन्छिन्, ‘ल्याकिङ नै यही छ, बच्चाहरुलाई त समाजमा जित र हार दुवै हुन्छ भनेर सिकाउनुपर्छ, कुनै पनि अवस्था र घटनाको यस्तो अवस्था आउनसक्छ भनेर त्यसको सामना गर्न सिकाउनुपर्छ।’

०००

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डिप्रेसन अपांगताको एउटा प्रमुख कारण हो भने आत्महत्या १५ देखि २९ वर्ष उमेरसमूहको मृत्युको दोस्रो ठूलो कारण हो। असमयमै हुने मृत्युमा मानसिक स्वास्थ्य जोडिने डब्लुएचओको भनाइ छ। विश्वभर डिप्रेसनबाट विश्वको कूल जनसंख्याको ३.८ प्रतिशत प्रभावित छन्। त्यसमध्ये ५ प्रतिशत वयस्क र ५.७ प्रतिशत ६० वर्षभन्दा माथिका मानिसहरु पीडित हुने गरेको अनुमान छ। यसबाट पुरुषभन्दा महिलाहरु बढी प्रभावित छन्। यसले आत्महत्यासम्म निम्त्याउन सक्छ। हरेक वर्ष विश्वभर ७ लाख मानिसहरु आत्महत्या गर्छन्।

यसको प्रभावकारी उपचार भएपनि न्यून तथा मध्यआय भएका मुलुकका ७५ प्रतिशत बिरामीले उपचार पाउँदैनन्।

एन्जाइटीको अर्थ ‘चिन्ता’ हो। मानिस तनावमा हुँदा शरीरले देखाउने प्राकृतिक प्रतिक्रिया नै एन्जाइटी हो। यसबाट पीडितहरु अक्सर कुनै कुराबाट डर मान्छन् र चिन्तित रहन्छन्।

अमेरिकामा बर्सेनि १९.१ प्रतिशत वयस्क मानिसहरु यसबाट प्रभावित भएका हुन्छन्। त्यसमध्ये करिब २० प्रतिशतलाई उपचारको आवश्यकता पर्ने बताइन्छ। यसले मानिसको व्यक्तिगत जीवनमा उल्लेख्य प्रभाव पार्छ।



Leave a Reply

Your email address will not be published.