पैदल र साइकलमैत्री सहरले बचाउँछ मधुमेह र मोटोपनाबाट

हेल्थपोस्ट नेपाल

काठमाडौं–सहरलाई पैदल तथा साइकलमैत्री बनाउँदा मधुमेह र मोटोपनाको दर घटाउन सकिने एक अध्ययनले देखाएको छ।

युनिभर्सिटी अफ टोरन्टोका जिलियन बूथ र उनको समूहले गरेको अध्ययनमा सुरक्षित रुपमा पैदल र साइकल चलाउन सकिने क्षेत्रमा मानिसहरुमा तुलनात्मक रुपमा मधुमेह र मोटोपनाको समस्या हुने सम्भावना कम रहेको पाइएको हो।

अध्ययनटोलीले पैदलमैत्री सहरमा मोटोपनाको समस्या ४३ प्रतिशत रहेको पाएको थियो। जबकि पैदलको व्यावहारिक अभ्यासको विकल्प कम भएका स्थानका मानिसमा मोटोपनाको दर ५३ प्रतिशत रहेको पाइएको थियो।

अर्को एक अध्ययनमा ११ लाख वयस्क मानिसको रगतको नमुना विश्लेषण गर्दा पैदलमैत्री क्षेत्रको फाइदा स्पष्ट देखिएको थियो।

पैदलमैत्री नभएका स्थानमा बस्ने मानिसहरुमा सुरुमा ब्लड सुगर लेभल सामान्य भएकोमा ८ वर्षपछि प्रि–डायबेटिजका लक्षण देखिने सम्भावना २० प्रतिशतले बढ्ने पनि अध्ययनले देखाएको थियो।

बेलायतको च्यारिटी संस्था ‘डाइबेटिज युके’का अनुसार नेशनल हेल्थ सर्भिसले मधुमेहको उपचारमा बर्सेनि १० अर्ब पाउण्ड खर्च गर्छ, जुन कूल बजेटको १० प्रतिशत हो। एनएचएसको अनुमानअनुसार बेलायतका एक तिहाई बयस्कहरु मोटोपनाबाट पीडित छन् र उनीहरुको बर्सेनि उपचार खर्च सन् २०५० सम्म ९.७ अर्ब पाउण्ड पुग्ने सम्भावना छ।

मोटोपना र मधुमेहको सामना गर्न सहरहरुलाई पैदलमैत्री बनाउन पनि विज्ञले सुझाव दिएका छन्।



Leave a Reply

Your email address will not be published.