के सम्बन्ध छ मधुमेह र मिर्गौला रोगमा?

यदि तपाईं लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्छ र रगतमा चिनीको स्तरलाई ठीकसँग व्यवस्थापन गर्नुहुन्न भने तपाईंको मिर्गौला क्षतिको जोखिम धेरै उच्च हुन्छ। मधुमेहले मिर्गौलालाई छिटो असर गर्छ र यससँग सम्बन्धित प्रारम्भिक लक्षणहरु पहिचान गर्न गाह्रो हुन्छ।
के हुन्छ?
जब चिनी लामो समयसम्म रगतमा रहन्छ, तिनीहरूले बिस्तारै मिर्गौलाका रक्त नलीहरूलाई क्षति पु¥याउँछन्, यसले शरीरलाई फोहोर र अतिरिक्त पानी फिल्टर गर्न गाह्रो बनाउँछ।
मधुमेहले मिर्गौलालाई विभिन्न तरिकाबाट क्षति पुर्याउँछन्। जस्तोः रक्त नलीहरू चुहिने, पिसाब थैलीमा पिसाब जम्मा हुने र ब्याक्टेरियाको अत्यधिक वृद्धिलगायत।
‘डायबेटिक किड्नी’ रोगको प्रारम्भिक चरणमा कुनै लक्षण देखिँदैन। यो गम्भीर विषय हो। नियमित चेकअप गराएमा मात्र यो समस्या पत्ता लगाउन सकिन्छ।
डायबेटिक किड्नी रोगको रोगको प्रारम्भिक लक्षण कसरी पत्ता लगाउने?
विज्ञहरूका अनुसार ‘युरिन–अल्बुमिन क्रएटिनिन रेसियो (यू–एसीआर)’ भनिने साधारण पिसाब परीक्षणले पिसाबमा एल्बुमिन नामक प्रोटिनको उपस्थिति पत्ता लगाउँछ। माइक्रोएल्बुमिनुरिया (पिसाबमा अल्बुमिन) सजिलै पत्ता लगाउन र उपचार गर्न सकिने एउटा लक्षण हो। अर्को परीक्षण भने ग्लोमेरुलर फिल्टरेशन दर ‘इजिएफआर’ परीक्षण हो, जसले फोहोरहरू फिल्टर गर्ने मिर्गौलाको क्षमता देखाउँछ।
डायबेटिक किड्नी रोगको पछिल्लो चरणको लक्षण
रोग बढ्दै जाँदा लक्षणहरू स्पष्ट रूपमा देखा पर्छन्। व्यक्तिमा खुट्टा र पाखुरा सुन्निने, पिसाबमा फिँज आउने (अल्बुमिनको कारणले गर्दा), पिसाबमा रगत आउने (बिरलै मात्रै), श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र लगातार कमजोरी हुने जस्ता लक्षण देखिन सक्छन्।
मधुमेहले मृगौला बिगार्न कति समय लाग्न सक्छ?
टाइप १ मधुमेह देखिएको २ देखि ५ वर्षसम्ममा मिर्गौलाको कार्यक्षमतालाई असर गर्न सुरु गर्न सक्छ र पूरै असर गर्न १० देखि ३० वर्षसम्म लाग्न सक्छ। तर टाइप २ देखिएको केही समयमै मिर्गौला प्रभावित हुनसक्छ। त्यसैले हरेक वर्ष मिर्गौलाको परीक्षण गर्नु जरुरी हुन्छ।
मधुमेहमा यसरी गर्नुहोस मिर्गौलाको ख्याल
यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने यी तरिकाबाट आफ्नो मिर्गौलाको हेरचाह गर्नुहोस्ः
–स्वस्थ खाने बानी बसाल्नुहोस् र दिनमा धेरै पटक थोरै खाना खानुहोस्। ––आहारमा तरकारी र कममात्रामा प्रोटिन समावेश गर्नुहोस्। चिनी, तेल र प्रशोधित खानाबाट टाढा रहनुहोस्। उच्च सोडियमयुक्त आहारबाट बच्नुहोस् किनभने यसले शरीरमा तरल पदार्थ जम्मा गर्छ।
–धूमपान वा चुरोटको बानी त्याग्नुहोस् किनकि यसले मिर्गौलालाई थप हानी पुर्याउन सक्छ। मिर्गौलामा थप क्षति हुनबाट जोगिन मदिरा सेवनबाट पनि टाढै रहनुपर्छ।
–रक्तचाप र कोलस्ट्रोललाई नियन्त्रणमा राख्नुहोस्, यसबाट मिर्गौला, मुटु र स्ट्रोकसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ।
डिस्क्लेमरः स्वास्थ्य समस्याको निदानका लागि सम्बन्धित चिकित्सकको सहयोग लिनुहोला।