चीनमा कोरोना संक्रमणको नयाँ लहर : १० सहरमा लकडाउन, एकै दिनमा दोब्बर बढी थपिँदै

हेल्थपोस्ट नेपाल

काठमाडौं – चीनमा कोरोना संक्रमणको नयाँ लहर सुरु भएको छ। नयाँ केसहरू एकै दिनमा दोब्बरभन्दा बढी भेटिन थालेका छन्। चीनमा मंगलबार ५ हजार २८० नयाँ कोरोना संक्रमित भेटिएका छन्, जुन कोरोना महामारीका दिनयताकै सबैभन्दा तीव्र संक्रमण मानिएको छ। यो संख्या चीनमा दुई वर्ष यताकै सबैभन्दा धेरै भएको नेसनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर विकसित भएको नयाँ भेरियन्टले चौथो लहर ल्याउन सक्ने चेतावनी पनि यसबीच दिइरहेको छ।

नयाँ कोरोना लहरका कारण चीनका १० सहरमा लकडाउन लगाइएको छ। ३ करोडभन्दा बढी मानिस फेरि घरमै थुनिएका छन्। जिलिन प्रान्त नयाँ लहरबाट सबैभन्दा बढी प्रभावित भएको छ।

सोमबार एनएचसीले दिएको जानकारी अनुसार २०२१ मा भन्दा यसवर्ष अहिलेसम्म धेरै केसहरू दर्ता भइसकेका छन्। सन् २०२१ मा चीनभित्र ८ हजार ३ सय ७८ केस दर्ता भएका थिए तर यो वर्ष हालसम्म केसहरु ९ हजार पुगिसकेका छन्।

सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले फेरि एकपटक चीनलाई आक्रान्त बनाएको छ। पछिल्लो एक सातामा बेइजिङ, सांघाईलगायत ग्वाङ्डोङ, जियाङ्सु, शानडोङ र झेजियाङ प्रान्तमा कोभिडका नयाँ केसहरू भेटिएका छन्। यसले चिनियाँ अर्थतन्त्रमा फेरि एकपटक गम्भीर असर पार्न सक्ने बताइएको छ। डब्ल्युएचओ वैज्ञानिक मारिया भान कार्खोभले ट्वीट गर्दै भनेकी छन्, ‘ओमिक्रोन र डेल्टा मिलेर नयाँ भेरियन्ट विकास भइरहेको छ जसले चौथो लहर ल्याउन सक्छ। हामी यसलाई ट्र्याक गरिरहेका छौं।’

कोभिड-१९ को द्रुत गतिको संक्रमणका बीच शीर्ष चिनियाँ संक्रामक रोग विशेषज्ञ झांग वेनहोङले यो समय चीनका लागि झुठो बोलेर बस्ने नभएको बताए। ‘हामीले शून्य कोभिड नीतिमा बहस गर्नुको सट्टा पूर्ण र दिगो महामारी रणनीतिहरू तत्काल लागू गर्नुपर्छ’, उनले भने।

वेनहोङले ग्लोबल टाइम्ससँगको कुराकानीमा भने, ‘सन् २०२० को कोरोना महामारीपछि चीनका लागि यो सबैभन्दा कठिन समय हो। अहिले तत्काल कदम चाल्ने समय हो, अन्यथा स्थिति अनियन्त्रित हुन सक्छ।’

चीनले कोभिडविरुद्ध ‘शून्य सहनशीलता’को नीति अपनाउँदै आएको छ। कठोर प्रतिबन्ध र स्वास्थ्य मापदण्डका बाबजुद पछिल्लो दुई सातामा यसअघिका रेकर्ड तोड्ने गरी संक्रमितको संख्या देखिएको छ।



Leave a Reply

Your email address will not be published.