दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्यको निर्णयप्रति कर्मचारीहरुको आपत्ति

भन्छन्–अब समाधान संघको हस्तक्षेपबाट मात्र सम्भव

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य मन्त्रालयले गरेको दरबन्दीभन्दा बढी कर्मचारीका लागि थप तलबभत्ताको व्यवस्था गर्ने निर्णयप्रति स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएका छन्। आइतबार मन्त्रालयले केही प्रदेश तथा स्थानीय तहले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारीलाई सहमति दिई थप तलबभत्ताको माग गर्ने गरेको उल्लेख गर्दै त्यसो गर्न नसकिने जनाएको थियो।

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्माले स्वास्थ्य मन्त्रालयले आवेगमा आएर निर्णय गर्नुभन्दा सोचेर निर्णय लिनु वेश भएको जनाएका छन्। उनले भनेका छन्, ‘यो समस्या समाधानको एकमात्र अचुक उपाय स्वास्थ्यकर्मी व्यवस्थापन, वृत्ति विकास र खटनपटन संघले गरेमात्र सम्भव छ,’ उनले भनेका छन्।

शर्माले विभिन्न बुँदाका असुन्तुष्टि उल्लेख गर्दै कोभिडमा ज्यानको बाजी लगाएर बल्लतल्ल बाँचेका स्वास्थ्यकर्मीहरुका फाजिलमा परेकै कारण तलबभत्ता नखुवाउने निर्णय गर्नु आपत्तिजनक भएको जनाएका छन्।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्ः

१.स्वास्थ्य सेवाका कर्मचारीको समायोजन मिलान गर्दा नै न्यायसंगत तरिकाले गरिएन।

२. श्रेणीगत प्रणालीमा रहेका कर्मचारीहरुको समायोजन गर्न बनाईएको सफ्टवेयरमा तहगत प्रणालीमा रहेका स्वास्थ्यकर्मीहरुलाई जबर्जस्ती हालियो र जात्रा लगाईयो।

३. सिनियारिटी हेरिएन, मागेको तहलाई प्राथमिकीकरण गरिएन।

४. प्रदेश र स्थानीय तहमा ऐन नियम नबनाई अँध्यारोमा धकेलियो।

५. समायोजन भई जाँदा निजामती कर्मचारी सरह ब्यवहार नगरि विभेदपूर्ण तरिकाले एक तह पाउनबाट बन्चित गरियो।

६. स्थानीय तहका कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारी बीच ग्रेडमा बिभेद गरियो।

७. समायोजन हुँदा इन्सेन्टिभको रुपमा दिईएको समायोजन ग्रेड पनि स्तरबृद्धि पछि खोसियो ।

८. समायोजन ग्रेड पेन्सनमा जोडिएन ।

९. स्वास्थ्य सेवाका धेरै स्वास्थ्यकर्मीहरु फाजिलमा परे, कसैको समायोजन नै गरिएन।

१०. समायोजन गर्दा खाईपाई आएको पद, पदनाम र तह समेत फरक पारेर समायोजन गरियो।

११. यसरी स्वास्थ्य सेवालाई लथालिङ्ग भताभुङ्ग पारेपछि हाललाई जो जहाँ छ त्यँही राख्ने र तलबभत्ता पनि यहाँबाट मागभई आए बमोजिम मन्त्रालयले ब्यबस्थापन गर्ने भन्ने परिपत्र गरियो।

आज आएर कोभिडमा ज्यानको बाजि लगाएर बल्ल तल्ल बाँचेका स्वास्थ्यकर्मीहरुलाई फाजिलमा परेकै कारण तलबभत्ता नखुलाउने निर्णय गर्नु आपत्ति जनक छ। अब कसैलसई दोष दिएर कोही पन्छन मिल्दैन, स्वास्थ्य मन्त्रालयले आवेगमा आएर निर्णय गर्नुभन्दा सोचेर निणय लिनु बेश होला, यो समस्या समाधानको एकमात्र अचुक उपाय स्वास्थ्यकर्मी ब्यबस्थापन, वृत्तिविकास खटनपटन संघलेनै गरे मात्र संभव छ।

यस्तै, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य विष्णु लामिछानेले आम स्वास्थ्यकर्मीहरुलाई हतोत्साहित गर्ने कार्य बन्द गर्न माग गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समय–समयमा गर्ने यस्ता गलत र असान्दर्भिक निर्णयकै कारण विवादास्पद हुने गरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘मन्त्रालयले यही निर्णय गर्नु नै थियो भने आजभन्दा दुई वर्ष पहिले नै गर्नुपर्ने थियो अन्यथा कर्मचारी समायोजन ऐनको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयन गर्दा यस्ता बेमौसमी निर्णयहरु गरिरहनै पर्दैन।’

उनले स्वास्थ्य सेवामा अगाडि बढाइएको कर्मचारी समायोजनको प्रक्रिया गलत रहेको भन्दै आफैँले गरेको गल्तिलाइ स्वीकार गर्नुको साटो घरिघरि प्रशासकअनुकूलको निर्णय गरि आमस्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने कार्य बन्द गर्न माग गरेका छन्।

स्वास्थ्य मन्त्रालयले भन्यो–दरबन्दीभन्दा बढी कर्मचारीलाई तलबभत्ता दिन सकिँदैन

 



2 thoughts on “दरबन्दीबाहेकलाई तलबभत्ता नदिने स्वास्थ्यको निर्णयप्रति कर्मचारीहरुको आपत्ति

  1. जो कामै त्रुटी पूर्ण छ त्यस को प्रतिफल कस्तो होला स्वास्थ्य समायोजन नै विवादस्पद छ झन् आफ्नो मान्छे लाई छिराउने लोभ मा ठाउँ झन् झन् खाली गर्नु पनि उचित कार्य हैन करार का कर्मचारी अनावस्यक भर्ना गर्न लाई सरकार सक्षम छ तर थाई को लागि किन आपति

Leave a Reply

Your email address will not be published.